समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युजमेसिन्स ले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक बजारमा स्टक कारोबार सुरु गरेको छ।
बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) क्षेत्रमा काम गर्ने फ्युजमेसिन्सले दुई वर्षअगाडि गरेको ‘मर्जर’ (विलय) पछि अब ‘फ्युज’ नामबाट धितोपत्र कारोबार गर्न थालेको हो। संस्थापक डा. मास्केले कम्पनीको सानो समूहबाट सुरु भएको प्रयास आज विश्वस्तरमा पुग्नु गर्वको विषय भएको बताए। उनले भने, “नवीन सोच र निरन्तर प्रयासले हामीलाई यो उपलब्धिसम्म पुर्याएको छ, यो हाम्रो लागि थप प्रेरणाको स्रोत बनेको छ।”
उनका अनुसार कम्पनीमा हाल ३५० जना कर्मचारी कार्यरत छन्, जसमा २६० जना नेपालमा नै कार्यरत छन्। नास्डाकले पनि विज्ञप्ति जारी गर्दै सीएसएलएम एक्विजेसन कम्पनी र फ्युजमेसिन्स इन्क बीचको साझेदारी प्रक्रिया पूरा भई बिहीबारदेखि कारोबार सुरु भएको पुष्टि गरेको छ।
योसँगै नेपालीले स्थापना गरेको कम्पनी पहिलोपटक विश्वस्तरको पुँजी बजारमा प्रवेश गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. समीर मास्के र प्रमुख वित्तीय अधिकृत क्रिष्टिन च्याम्बर्स रहेका छन्। मर्जरपछि सञ्चालक समितिमा समीर मास्केसँगै भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्।








