Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

नेपाली चाडपर्वका बेला ज्यान विदेशमा भएता पनि हरेक जो कोहीलाई स्वदेशको झझल्को र बाल्यकालको स्मरणले सताउने गर्दछ । यतिबेला घरदेशतिरका सहर बजार र गाउँबस्ती देउसी भैलोले गुल्जार छन् । विदेशमा फैलिदैं गएको नेपाली डायस्पोरामा पनि नेपालमा मनाईने सबैखाले चाड पर्वहरु संभवभएसम्म मनाउने प्रचलन बढ्दोक्रममा छ । उज्यालोको पर्व अर्थात दाजुभाइ र दिदीबहिनीबीचको आत्मियतालाई नविकरण गरिने पर्व दीपावलीमा खासगरी कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, भाइटीका जस्ता दिनहरुको आ-आफ्नो छुट्टै महत्व रहेको छ भने यी सबैको केन्द्रमा देउसीभैलो खेलिने सँस्कृतिले तिहारको रौनकता थपेको हुन्छ । प्रवासमा आफ्नो सँस्कृति र मौलिक परम्पराअनुसार चाडपर्व मनाउँदा नेपालीहरुबीच सामाजिक र साँस्कृतिक सद्भाव मजबुत बनाउँछ भने प्रवासमा हुर्कदो पुस्तालाई नेपाली सँस्कृतिबारे जानकार गराउन मदत पुग्दछ । अर्कोतिर आफु बसेको जापानी समुदायमा पनि धेरथोर नेपाली सँस्कृतिको प्रचारप्रसार र प्रबर्द्धन भईरहेको हुन्छ । जसले गर्दा पारस्परिक मेलमिलाप, भाइचारा, एकता र असल सम्बन्धको विकासमा टेवा पुगिरहेको हुन्छ ।

लाग्छ जापानमा एउटा छुट्टै मिनी नेपाल छ । नेपालमा पाईने लगभग सबैजसो दैनिक उपभोग्य सामानका साथै शृङ्गारजन्य र चाडपर्वजन्य सामग्री बजारमा उपलब्ध छन् । हरेक पर्व तथा उत्सवहरुमा आवश्यक पर्ने महिला तथा पुरुषका वेषभूषा, भाँडाकुँडा, पूजासामग्री, सुनचाँदीका गरगहना, ब्युटी पार्लर, हेयर शैलून उपलब्ध छन् । यसका साथै पूजापाठका लागि मन्दिर, पठनपाठनका लागि विद्यालय, घरदेशदेखि परदेश सम्मका खबर पढ्न नेपाली पत्रपत्रिका, नाचगान सहितको खानपिनाका लागि यत्रतत्र सर्बत्र नेपाली स्वादका रेष्टुरेन्ट तथा नाइट क्लवहरु उपलब्ध छन् । चाडपर्वका बेला यस्ता ब्यवसायिक क्षेत्रहरुमा आर्थिक गतिविधि अरुबेला भन्दा कैंयन गुणा चलायमान हुन पुग्छन् । विदेशमा बसेता पनि स्वदेशी उत्पादन उपभोग गर्दा प्रत्यक्ष-अप्रत्यक्षरुपमा देशलाई फाइदा पुगिरहेको हुन्छ । चाडपर्वका बेला स्वभाविकरुपमा नेपालीहरु हौसिने प्रवृत्तिका हुने भएकाले खर्चालु बन्न पुग्छन् र
अर्थतन्त्र चलायमान बनाउन सघाउ पुर्‍याईरहेका हुन्छन् ।

यसो भनिरहँदा हामीले बिर्सनै नहुने कुरो भनेको हामी विदेशमा छौं । हामी उभिएको माटो र जमिन हाम्रो होइन । यहाँको आफ्नै नीति, नियम र कानून छ । सामाजिक मूल्य, मान्यता र मर्यादाका लक्ष्मण रेखाहरु छन् । ती सबै विषयलाई शिरोधार्य गर्दै आफु बसेको समुदायमा कसैलाई पनि किञ्चित असर नपुग्ने गरी हाम्रा चाडपर्व व्यवस्थित र अनुशासित तवरले मनाउन जापानबासी नेपालीहरुले विशेष ध्यान दिन आवश्यक छ । समाजका जिम्मेवार अगुवाहरुले आ-आफ्नो सर्कल र नेटवर्कमा भएका सबैलाई चाडपर्व मनाउने नाममा अप्रिय र अवाञ्छित गतिविधि एवं घटना हुन नदिन पूर्व सचेत गराउनुपर्ने देखिन्छ । भनिन्छ, उपचार भन्दा सुरक्षा असल हो । कुनै घटना हुनुभन्दा पहिलै उच्च सतर्कता र सजगता अपनाउन सकियो भने संभावित घटनाबाट जोगिन सकिन्छ ।

जापानमा नेपाली समुदाय ठूलो हुँदै गईरहेको सन्दर्भमा हामी व्यवस्थित र अनुशासित हुन पनि उत्तिकै जरुरी छ । जापानमा विदेशीहरुप्रति नकारात्मक भावना बढिरहेको अवस्थामा राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चा पाएको नेपालीहरुका पछिल्ला केही गतिविधिले गर्दा जापानीहरुमाझ हाम्रो छवि पहिलेकोभन्दा खराव सूचीमा दर्ज भएको छ । त्यसलाई यो भन्दा अझ व्रि्रन नदिई जापानमा सभ्य नागरिककारुपमा आफूलाई चिनाउनु र सोहीअनुसारको आचरण देखाउनु हरेक नेपालीको कर्त्तव्य हो । एकाध नेपालीले गरेको बदमाशीका कारण सबै नेपालीले त्यसको भारी बोक्नुपर्ने र जबाफदेही भईरहनुपर्ने स्थिति आउन नदिन हामी सबै समय मै जिम्मेवार बनौ । अझ विशेषगरी सूचना र सञ्चार क्षेत्र सबैभन्दा बढि संवेदनशील एवं जिम्मेवार हुन आवश्यक छ । गलत र भ्रामक सूचना प्रवाह गर्दा हुने ठूलठूला घटनाको साक्षी हामी धेरैपटक भईसकेका छौं । आफुलाई कन्फिडेन्स नभएका र ज्ञानभन्दा बाहिरका बिषयमा ज्ञाता बन्दै बोल्न र लेख्न आवश्यक छैन । यदि लेखिन्छ र बोलिन्छ भने त्यसको जिम्मा पनि लिन सक्नुपर्छ भन्ने हेक्का हुनुपर्दछ ।

हामीबीचको आपसी सद्भाव-सम्बन्ध, मेलमिलाप, एकता र सहिष्णुता थप सुदृढ बनोस्, सभ्य र जिम्मेवार नागरिक बन्न र सोही अनुसारको आचरण गर्न सबैलाई स्द्बुद्धि मिलोस् दीपावली २०८२ को हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया