टोकियो – अकिता प्रिफेक्चरको युजावा शहरमा एउटा भालुले घरमा पसेर एक जना मानिसलाई घाइते बनाएको छ । त्यो भालु अझै पनि घरभित्रै लुकेर बसेको छ ।
सोमबार बिहान करिब ८० मिनेटको अवधिमा युजावा शहरको मध्यभागमा भालुको आक्रमणबाट चार जना पुरुष घाइते भएका थिए । चौथो व्यक्तिलाई आक्रमण गर्ने भालु उनको घरभित्रै बसेको छ । प्रहरीले भालुलाई पासोमा पार्नका लागि चामलको भुसजस्ता यसका मनपर्ने खानेकुरा राखेर एउटा बाकस पासो थापेको छ । तर मंगलबार बिहानसम्म पनि उनीहरूलाई सफलता मिलेको छैन ।
हतियार र ढालसहितका अधिकारीहरू घरबाहिर पहरा दिइरहेका छन् भने नजिकैको यातायात पनि प्रतिबन्धित गरिएको छ । यो क्षेत्र जेआर युजावा स्टेशनबाट करिब २०० मिटर टाढाको आवासीय क्षेत्र हो ।
अकिता प्रिफेक्चरका अधिकारीहरूका अनुसार सोमबारसम्म यस वर्ष भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । उनीहरूले एसियाली कालो भालुको लागि प्रिफेक्चरभरि चेतावनी जारी गरेका छन् ।








