टोकियो – करिब ८ किलोग्राम सुन (लगभग ९ करोड ८७ लाख जापानी येन, करिब ६ लाख ५० हजार अमेरिकी डलर बराबर) हङकङबाट जापान तस्करी गर्ने प्रयास गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ । उनीहरुले सुनको धूलोलाई भित्री वस्त्रमा लुकाएर ल्याउने प्रयास गरेको स्रोतले मंगलबार जानकारी दिएको छ ।
स्रोतका अनुसार, ३४ वर्षीय मासामोरी निशिमुराले गत वर्षको जुलाईमा तीन जना महिलालाई भित्री वस्त्रमा सुनको धूलो लुकाएर हवाईजहाजबाट ल्याउन निर्देशन दिएका थिए । निशिमुराले नै यस तस्करीको योजना बनाएको विश्वास गरिएको छ ।
पक्राउ परेका चारै जनाले आरोप स्वीकार गरेका छन् । तीमध्ये एक महिलाले आफूलाई निशिमुराले नै यस काममा लगाएको अनुसन्धानकर्ताहरूलाई बताएकी छिन् । ती तीन महिला एकअर्कालाई चिन्दथे र पैसा तथा यात्रा खर्चको प्रलोभनमा यस योजनामा सामेल भएको स्रोतले जानकारी दिएको छ ।
निशिमुराको निर्देशनमा महिलाहरूले हङकङमा अर्का एक पुरुषबाट सुन लुकाइएको भित्री वस्त्र बुझेको विश्वास गरिएको छ । हालैका दिनहरूमा सुनको मूल्य बढेसँगै जापानमा सुन तस्करीका घटनाहरू ह्वात्तै बढेका छन् । टोकियोको तानाका प्रिसियस मेटल टेक्नोलोजी कम्पनीले निर्धारण गरेको सुनको मानक मूल्य मंगलबार प्रति ग्राम २३,३७० येनको रेकर्ड स्तरमा पुगेको छ । अमेरिका-चीन व्यापार वार्ता अगाडिको अनिश्चितताका कारण सुनको मूल्यमा वृद्धि भएको हो ।
सोमबार पक्राउ परेका चारै जनाले टोकियोको हानेडा विमानस्थलका लागि उडेको विमानमा थैलीमा सुनका कणहरू लुकाएर ल्याई करिब ९८ लाख ७० हजार येन बराबरको कर छल्ने षड्यन्त्र गरेको आरोप लागेको छ । टोकियो भन्सारले महानगरीय प्रहरी विभागलाई मुद्दा हस्तान्तरण गरेपछि चारै जनामाथि प्रहरी अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।








