काठमाडौं – इजरायल-हमास द्वन्द्वका क्रममा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । इजरायलमा हमास लडाकुको बन्धकका रूपमा ज्यान गुमाएका जोशीको पार्थिव शरीर सोमबार राति अबेर जन्मभूमि ल्याइएपछि बिहान भीमदत्त नगरपालिकास्थित निवासबाट महाकाली नदीको भुजेला घाटसम्म शवयात्रा निकालिएको छ ।
बिहान ८ बजेबाट सुरु भएको शवयात्रामा स्थानीय बासिन्दा, परिवारका सदस्य, शुभेच्छुक र सरकारी अधिकारीहरूको उल्लेख्य उपस्थिति रह्यो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जनाएअनुसार, जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरी राष्ट्रिय सम्मान प्रकट गरिनेछ । धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
दशैंको रमझम सकिएर तिहारको तयारी भइरहेका बेला विपिनको शव घर आइपुग्दा जोशी परिवारमा गहिरो शोक छाएको छ । परिवारका सदस्य किशोर जोशीले भावुक हुँदै भने, ‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुने आशामा थिइन् । लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’
फरेन्सिक रिपोर्ट र नेपालमा पोष्टमार्टम नगरिने निर्णय
इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ ले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मृत्युको कारण स्पष्ट भइसकेकाले परिवारका सदस्यले नेपालमा पोष्टमार्टम गर्न नपर्ने बताएका थिए ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि विषयको अध्ययनका लागि विपिन इजरायल गएका थिए । इजरायल पुगेको एक महिनामै सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकुले गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गर्दा उनी बन्धक बनाइएका थिए । उक्त आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन दुई वर्षसम्म बेपत्ता थिए ।
हालै इजरायल र हमासबीच युद्धविराम भएपछि बन्धकहरूको रिहाइ गर्ने क्रममा विपिनको मृत्यु भएको पुष्टि भएको थियो । यो खबरसँगै उनको परिवार र शुभेच्छुकमा गहिरो पीडा थपिएको थियो ।








