समाचार सुन्नुहोस :
काठमाडौँ – पोर्चुगलमा वैदेशिक रोजगारीका क्रममा तनहुँका एक नेपाली युवा बेपत्ता भएका छन्। तनहुँको भानु नगरपालिका–९ पिपलपानीका ३४ वर्षीय जितेन्द्र पाण्डे दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए। उनी गत सोमबारदेखि राजधानी लिस्बन नजिकको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। पाण्डेका साथी विदुर तामाङका अनुसार आइतबार राति पाण्डे घरमा ‘साथीको फोन आएको छ’ भन्दै बाहिर निस्किएका थिए र त्यसपछि सम्पर्कमा आएका छैनन्।
साथीहरूसँगै काम गर्ने पाण्डेले सोमबार काममा नगएपछि खोजी थालिएको थियो। “उहाँले नेपालका आफन्तलाई पनि केही दिन सम्पर्कमा नहुने जानकारी गराएको सुनियो,” तामाङले भने। पाण्डेको खोजीका लागि मङ्गलबार रोजगारदाता मार्फत स्थानीय प्रहरीलाई खबर गरिएको बताइएको छ। उनको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानीसहित सबै सामान कोठामै भेटिएको छ। नेपालमा उनका वृद्ध बुबाआमा र दिदीबहिनी छन्।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार बेपत्ता भएको जानकारी पाएलगत्तै दूतावासले स्थानीय प्रशासनलाई खबर गरी खोजी सुरु गरेको छ। क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल पुगेका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए।








