टोकियो – जापानको इवाते प्रिफेक्चरमा यसै हप्ता प्रहरीले एक विदेशी कामदारलाई परिचयपत्र साथमा हुँदाहुँदै राहदानी नबोकेको आरोपमा गलत तरिकाले गिरफ्तार गरेको खुलासा भएको छ ।
प्रहरीका अनुसार, आवासीय अनुमतिपत्र (Residence Card) बोकेका विदेशीहरूलाई राहदानी साथमा राख्नुपर्ने कानुनी प्रावधान नभए पनि गिरफ्तार गर्ने अधिकारीलाई यस विषयमा जानकारी थिएन । कुनोहे क्षेत्रका ती कृषि कामदारलाई बुधबार स्वेच्छिक सोधपुछका लागि प्रहरी चौकी लगिएको थियो । राहदानी नभएको पुष्टि भएपछि अधिकारीले उनलाई दिउँसो ढिलो गरी गिरफ्तार गरेका थिए ।
तर, उनलाई हिरासत सुविधामा राखिएपछि अर्का एक अधिकारीले उनको सामानमा आवासीय अनुमतिपत्र फेला पारेका थिए । ती कामदारलाई करिब पाँच घण्टाभन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो र त्यसपछि राति ११:३० बजेतिर मुक्त गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ती व्यक्तिको राष्ट्रियता वा उमेरबारे भने कुनै जानकारी दिएको छैन । प्रहरीले पीडितसँग माफी मागिसकेको बताएको छ । इवाते प्रिफेक्चरल प्रहरीका एक अधिकारीले भने, ‘हामी यस घटनाको विश्लेषण गरेपछि आवश्यक कदम चाल्नेछौं ।’








