समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजधानीका संवेदनशील क्षेत्रहरूमा दुई महिनासम्म भेला, प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोध कार्यक्रम गर्न निषेध गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको आदेशअनुसार पाँच जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख छ।
आदेशमा भनिएको छ– विरोधका क्रममा तोडफोड, आगजनी वा भिडन्तजस्ता घटना हुन सक्ने भएकाले शान्ति–सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम यो आदेश आजदेखि लागू हुने छ। राष्ट्रपति कार्यालय शीतल निवास, उपराष्ट्रपति कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्र बैंक चोक, सर्वोच्च अदालत वरपरका क्षेत्रलगायत ठाउँमा कुनै पनि प्रकारका सभा, प्रदर्शन, धर्ना वा जुलुस गर्न नपाइने उल्लेख छ।
त्यसैगरी सामाखुशी, केशरमहल, मल्ल होटल, भद्रकाली मन्दिर, पद्मोदय मोड, पुरातत्व विभाग चोक, अनामनगर, हनुमानस्थान मन्दिर र जिल्ला अदालत वरपरका क्षेत्रमा पनि निषेध कायम गरिएको प्रशासनले जनाएको छ। काठमाडौं प्रशासनले नागरिकलाई शान्ति र सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।








