
यो समय हो–संकटलाई अवसरमा बदल्ने, एकता र दृढताका साथ राष्ट्र पुनर्निर्माणको यात्रा सुरु गर्ने । हरेक नयाँ पुस्ताका सपना तुहिएका छन् । प्रत्येक नेपालीको जीवन व्यर्थमा खेर गइरहेको छ । यो नेपाल राज्यको सुरुवातदेखिको शृङ्खला बन्दै आएको छ । २००७ सालको क्रान्ति, २०४६ सालको परिवर्तन, २०६२/६३ को जनआन्दोलनका सबै उपलब्धिपश्चात् २०७२ मा हामीले जारी गरेको संविधान कार्यान्वयन गर्दै मुलुकको आर्थिक निर्माणमा जुटेर अगाडि बढ्छौं भन्ने आशा थियो ।
तर राजनीतिक दल र तिनका नेताले राज्यसत्ताको यति कुरुप तरिकाले दोहन गरे कि आम नेपालीको सामाजिक र आर्थिक हैसियत झनै कमजोर र शिथिल बन्दै गयो । यस्तो अन्यायपूर्ण समाज र सत्ताको दमन र शोषणको विरुद्ध जेन–जी पुस्ताले गरेको आन्दोलनलाई इतिहासले सलाम गर्नेछ । वर्तमान सराहना गर्छ भने भविष्यले पाठको रुपमा ग्रहण गर्नेछ ।
नेपाल आमाको काखमा आगोको मुस्लो जोतियो र नेपाल धर्तीको आकाशमा आन्दोलनपछि उडेको धुँवा अझै मडारिइरहेको छ । राजधानीका मुख्य सडकहरू, ऐतिहासिक भवनहरू, सरकारी कार्यालयहरू, निजी व्यवसाय र सार्वजनिक सम्पत्तिहरू जलेर खरानी भएका छन् । सर्वोच्च अदालत र संसद् भवनको खरानी, भग्नावशेष सिंहदरबारको भित्तामा लागेको कालो दाग र भाटभटेनी सुपरमार्केटको जलेको संरचना– यी सबैले हामीलाई सम्झाइरहेका छन् कि हाम्रो देशले फेरि एकपटक गहिरो घाउ ब्यहोरेको छ ।
यो केवल भौतिक क्षति होइन, हाम्रो सामूहिक मनोबलमा परेको चोट हो । आन्दोलनको ज्वालामा जलेका यी संरचनाहरू केवल इँटा, काठ र फलामका टुक्रा मात्र होइनन्, यी हाम्रो इतिहास, हाम्रो पहिचान र हाम्रो भविष्यका सपना हुन् । जब कुनै राष्ट्र यति ठूलो संकटमा पर्छ, तब केवल संरचनाहरू मात्र होइन, जनताको विश्वास, आशा र आत्मसम्मानमा पनि गहिरो असर पर्छ । अहिलेको नेपालमा देखिएको निराशा, आक्रोश र असहायपन केवल आन्दोलनको परिणाम होइन, यो विगतका दशकौंको असमानता, भ्रष्टाचार, अवसरको अभाव र नेतृत्वको कमजोरीको परिणाम हो ।
तर, म सोच्न बाध्य हुन्छु – के यो अन्त्य हो ? कि, यो नयाँ सुरुवातको संकेत हो ? इतिहासले हामीलाई पटक–पटक देखाएको छ, राष्ट्रहरू खरानीबाटै उठेका छन् । संकटको घडीमा, जब सबै कुरा समाप्त भएको जस्तो लाग्छ, त्यहींबाट नयाँ सुरुवातको बीउ उम्रन्छ । अहिलेको नेपालमा पनि, हामीले यही आशा र दृढताका साथ अगाडि बढ्नुपर्छ ।
नेपालका युवा पुस्ता, विशेष गरी जेन–जीले विगत केही वर्षदेखि देशको राजनीतिक र सामाजिक संरचनामा नयाँ चेतना ल्याउँदै थिए । तर राजनीतिक दलका नेताले तिनलाई निरन्तर नजरअन्दाज गरिरहे । सम्मानपूर्ण अन्तरपुस्ता संवाद दलका नेताले आवश्यक देखेनन् । यहीकारण जेन–जी पुस्ताले भ्रष्टाचार, स्रोतको दुरुपयोग र अवसरहरूको
असमान वितरणविरुद्ध आवाज उठाएका हुन् । हालैको आन्दोलनमा हजारौं युवा सडकमा उत्रिए, जसले व्यवस्थाको कमजोरी र राजनीतिक दलका नेताको अकर्मण्यता उजागर गर्यो ।
सामाजिक सञ्जालमा उनीहरूको सक्रियता र सडकमा उनीहरूको उपस्थिति र स्पष्ट आवाजले देखायो कि नयाँ पुस्ता अब मौन बस्न चाहँदैन । उनीहरू पारदर्शिता, जवाफदेहिता र समावेशी विकासको माग गर्दैछन् । उनीहरूको यो साहसिक कदमले सरकार र राजनीतिक नेतृत्वलाई झक्झकाएको मात्र छैन, कठालोमा समाएर पाखा लगाएको छ र, आम नागरिकमा आर्थिक विकास, समान अवसर र युवाको ताकत के हो भन्ने कुराको चेतना जगाएको छ ।
जेन–जीको आवाजलाई सम्मान गर्दै, हामीले भ्रष्टाचारमुक्त, समावेशी र समृद्ध नेपाल निर्माण गर्न सक्छौं । खरानीबाट उठेर हामी नयाँ इतिहास लेख्नेछौं । यो हाम्रो समय हो, हाम्रो अवसर हो ।
जेन–जीको आन्दोलनले परिवर्तन सम्भव छ भन्ने देखाएको छ । जब नयाँ पुस्ता जाग्छ, जब उनीहरू अन्यायविरुद्ध बोल्छन् र जब उनीहरू राष्ट्रको भविष्यका लागि जोखिम उठाउँछन् तब मुलुकमा परिवर्तन अपरिहार्य छ र सम्भव पनि छ भन्ने पुनः एकपटक स्थापित भएको छ । यद्यपि आन्दोलनका क्रममा केही हिंसात्मक घटना भए, तर मूल उद्देश्य भने स्पष्ट थियो– नेपाललाई भ्रष्टाचारमुक्त, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने ।
उनीहरूको विद्रोहले देशका नेताहरूलाई अब पश्चाताप गर्ने र पछाडिको बेञ्चमा बसेर सुन्नेबाहेक अरु केही अवसर दिनेवाला छैन । उनीहरूको साहसिक कदमले भ्रष्टाचारविरुद्धको लडाइँलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो । आज, हामीले पुनर्निर्माणको यात्रा सुरु गर्दा, यो पुस्ताको साहस, ऊर्जा र आदर्शलाई सम्मान गर्नुपर्छ । किनभने, खरानीबाट उठ्ने नयाँ नेपालमा उनीहरूको योगदान सधैं सम्झनलायक रहनेछ । तर भविष्यको नेतृत्व गर्नेले हेक्का राख्नुस्, मुलुकको पुनर्निर्माणमा चुक्नेले पुनः जवाफ दिनुपर्नेछ ।
हामीले इतिहासमा धेरै पटक देखेका छौं कि विनाश र संकटले मात्र अन्त्य गर्दैन, नयाँ सुरुवातको ढोका पनि खोल्छ । जापान, जर्मनी र हाम्रो आफ्नै नेपालले विनाशपछि पुनर्निर्माणको अद्भुत कथा लेखेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यमा, जापानका धेरै सहरहरू, विशेष गरी हिरोसिमा र नागासाकी, आणविक बमले पूर्ण रूपमा ध्वस्त भएका थिए । लाखौं मानिसको ज्यान गयो र सम्पूर्ण पूर्वाधार नष्ट भयो । सहर खरानीमा परिणत भयो । तर जापानी जनताले हार मानेनन् । उनीहरूले अनुशासन, कडा परिश्रम र राष्ट्रिय एकताको बलमा देशलाई पुनर्निर्माण गर्न थाले । सरकारले युद्धपछिको विनाशलाई अवसरमा बदल्न आधुनिक उद्योग र प्रविधिमा लगानी गर्यो । शिक्षा प्रणाली सुधार गरियो र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिइयो । अमेरिकी सहयोग र मार्शल योजनाअन्तर्गत प्राप्त आर्थिक सहायता पनि पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेको थियो । जापानले नयाँ सडक, रेल, उद्योग र आवास निर्माण गर्यो । विशेष गरी, सिनकान्सेन (बुलेट ट्रेन) जस्ता आधुनिक यातायात प्रणालीहरू विकास गरियो जसले आर्थिक विकासलाई तीव्रता दियो । यसरी, जापानले विनाशबाट उठेर विश्वकै अग्रणी आर्थिक शक्ति बन्न सफल भयो । यो पुनर्निर्माणको कथा साहस, एकता र दीर्घकालीन योजनाको उदाहरण हो ।
त्यस्तै, जर्मनीले पनि युद्धपछिको विनाशबाट आफूलाई पुनः स्थापित गर्यो । बर्लिन र अन्य सहरहरू जलेर नष्ट भए, तर जर्मन जनताले आफ्नो श्रम, सीप र दूरदृष्टिले देशलाई पुनः निर्माण गरे । आज जर्मनी युरोपको आर्थिक इञ्जिन बनेको छ । नेपालले पनि २०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणको यात्रा सुरु गर्यो । हजारौं घर, विद्यालय, अस्पताल, मन्दिर र सम्पदा स्थलहरू ध्वस्त भए । तर, नेपाली जनताले साहस गुमाएनन् । छिमेकी, आफन्त, विदेशी मित्र सबैको सहयोगमा पुनर्निर्माण सुरु भयो । यी सबै उदाहरणहरूले देखाउँछन्, जब राष्ट्रमा संकट आउँछ, तब जनताको एकता, दृढता र सकारात्मक सोचले नै पुनर्निर्माण सम्भव बनाउँछ ।
अर्थशास्त्री जोन मेनर्ड किन्सले आर्थिक संकटबाट उक्लिनका लागि सरकारको सक्रिय र दह्रो भूमिका आवश्यक हुने बताएका छन् । जब निजी क्षेत्र संकटमा हुन्छ र लगानी घट्छ, तब सरकारले खर्च बढाएर अर्थतन्त्रलाई पुनः सक्रिय बनाउनुपर्छ । किन्सको सिद्धान्तअनुसार, यस्तो सरकारी खर्चले मात्र अर्थतन्त्रमा माग बढ्छ र निजी क्षेत्र पुनः सक्रिय हुन्छ । यसले दीर्घकालीन विकासको आधार तयार पार्छ । नेपाल अहिले यस्तै अवस्थामा छ ।
आन्दोलन र हिंसाले अर्थतन्त्रमा ठूलो झट्का पुगेको छ । यद्यपि यकिन गरेर तथ्याङ्क आउन बाँकी नै छ । औपचारिक र अनौपचारिक क्षेत्र गरेर हजारौं रोजगारी गुमेका छन् र गुम्नेछन्, व्यवसाय ध्वस्त भएका छन्, लगानी रोकिएको छ र केही समय रोकिने छ । यस्तो अवस्थामा सरकारले पूर्वाधार पुनर्निर्माण, रोजगारी सिर्जना र सामाजिक सुरक्षामा खर्च बढाउनुपर्छ ।
सरकारले सार्वजनिक निर्माण, शिक्षा, स्वास्थ्य, र सामाजिक सुरक्षामा लगानी बढाउँदा, अर्थतन्त्रमा माग बढ्छ, रोजगारी सिर्जना हुन्छ र निजी क्षेत्र पनि विस्तार हुन्छ । यसरी, सरकारको सक्रिय हस्तक्षेपले मात्र संकटबाट बाहिर निस्कन सकिन्छ । नेपालले पनि यही बाटो समात्नुपर्छ । पारदर्शिता, जवाफदेहिता र समावेशी विकासमा जोड दिँदै, सरकारी खर्चलाई उत्पादनशील क्षेत्रमा केन्द्रीत गर्नुपर्छ । तर मुख्य प्रश्न त अहिलेको शून्यताबाट अन्तरिम सरकार निर्माण, त्यसपछि चुनाव र पुनः त्यसपश्चात्को सरकार निर्माणलाई विवेकपूर्ण तरिकाले छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने हुन्छ । यो सबका लागि अहिलेको जेन–जी पुस्ताले जिम्मेवारी वहन गरेर सबैलाई संयोजन गर्दै अगाडि बढ्नुपर्छ ।
हालको विनाशले मुलुकको अर्थतन्त्रमा गम्भीर चुनौती आइपरेको छ । तर, यो नै अवसर पनि हो । हामीले विगतका गल्तीहरूबाट सिकेर नयाँ नेपाल बनाउन सक्छौं । सबै पक्षले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ । भ्रष्टाचारमुक्त नीति अपनाउनुपर्छ । निजी क्षेत्रलाई लगानी र रोजगारी सिर्जनामा प्रोत्साहित गर्नुपर्छ । नागरिक समाज र युवाहरूले पनि सक्रिय भूमिका खेल्नुपर्छ । जेन–जीको ऊर्जा र आदर्शलाई सम्मान गर्दै उनीहरूको नेतृत्वमा अगाडि बढ्नुपर्छ । पुनर्निर्माणको यात्रा सजिलो हुँदैन । यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायको सहकार्य आवश्यक छ ।
सरकारले पारदर्शिता, जवाफदेहिता र सुशासनमा जोड दिनुपर्छ । निजी क्षेत्रले लगानी र रोजगारी सिर्जना गर्नुपर्छ । नागरिक समाजले एकता, सहिष्णुता र सकारात्मक सोच फैलाउनुपर्छ । युवाहरूले सिर्जनशीलता, उद्यमशीलता र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।
म सोच्दछु— हामीले भोगेको पीडा केवल क्षति होइन, सम्भावनाको ढोका पनि हो । खरानीबाटै फिनिक्स चरा जस्तै, नेपाल फेरि उठ्न सक्छ । हामीले आज पनि एकता, दृढता र सकारात्मक सोचका साथ राष्ट्र पुनर्निर्माण गर्न सक्छौं । यो समय हो – आना घाउ चाटेर, नयाँ सपना देख्ने । यो समय हो– खरानीबाटै नयाँ नेपाल बनाउने । जेन–जीको आन्दोलनले साहस, ऊर्जा र आदर्शले हामीलाई नयाँ दिशा दिन्छ । हामीले यो चुनौतीलाई अवसरमा बदल्नुपर्छ । सरकार, निजी क्षेत्र, नागरिक समाज र युवाहरू मिलेर नयाँ नेपाल निर्माण गर्नुपर्छ ।
देश यस्तो मोडमा आइपुगेको छ, जहाँ अब पुनर्निर्माणको थालनी गर्न एक सेकेन्ड पनि कुर्न मिल्दैन । हामीले तत्कालै काम थाल्नुपर्छ, किनभने ढिलाइको प्रत्येक क्षणले हाम्रो समाज र अर्थतन्त्रलाई अझै गहिरो संकटमा धकेल्छ । बालबालिकाहरूले सकेसम्म चाँडो विद्यालय फर्कन पाउनुपर्छ, किनभने शिक्षा नै भविष्यको आधार हो । दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरूलाई पुनः रोजगारीमा फर्कन सक्ने वातावरण सिर्जना गर्नुपर्छ, ताकि उनीहरूको परिवारको जीविकोपार्जन सुनिश्चित होस् । सबैभन्दा महत्वपूर्ण कुरा, हामीले हाम्रो आर्थिक भविष्यको मार्गचित्र तत्काल बनाउन थाल्नुपर्छ – कसरी उत्पादनशीलता बढाउने, रोजगारी सिर्जना गर्ने, र दीर्घकालीन समृद्धिको आधार तयार गर्ने भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।
हालको संकटले हाम्रो राजस्व र खर्चका प्राथमिकताहरू पूर्ण रूपमा फेरिएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षामा तत्काल लगानी बढाउनुपर्छ । आर्थिक दृष्टिकोण पनि नाटकीय रूपमा परिवर्तन भएको छ – हिजोका योजना र अनुमानहरू अब सान्दर्भिक छैनन् । यदि हामीले अहिले नै प्रणालीलाई सम्हाल्न सकेनौं भने, हाम्रो आर्थिक र सामाजिक संरचना पूर्ण रूपमा धरापमा पर्न सक्छ । यो समय हो – संकटलाई अवसरमा बदल्ने, एकता र दृढताका साथ राष्ट्र पुनर्निर्माणको यात्रा सुरु गर्ने ।
अबको परिस्थितिमा, हामीले हाम्रो अर्थतन्त्रको पूर्ण पुनरावलोकन र आमूल सुधारको आवश्यकता छ भन्ने कुरा गम्भीरतापूर्वक सोच्नुपर्छ । विगतका संरचनागत कमजोरीहरूलाई सच्याउँदै, रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रोत्साहित गर्ने र युवाहरूलाई देशमै अवसर दिने सुधार एजेन्डाहरूलाई अगाडि बढाउनुपर्छ । यस्तो सुधार प्याकेज नयाँ सरकारबाट आउने नै छ – विशेष गरी, जेन–जीको ऊर्जा, नवीन सोच र पारदर्शिताको भावना बोकेको नयाँ नेतृत्वबाट । उनीहरूको साहस र परिवर्तनको चाहनाले मात्र दीर्घकालीन आर्थिक रूपान्तरण सम्भव छ ।
तर, दीर्घकालीन सुधारका एजेण्न्डाहरू कार्यान्वयन गर्न समय लाग्छ । अहिलेको संकटमा, तत्काल राहत प्याकेजको आवश्यकता छ, जसले सबैभन्दा कमजोर वर्ग – दैनिक ज्यालादारी श्रमिक, गरिब परिवार र विपन्न समुदायलगायतलाई भोकमरीबाट जोगाउन सघाउँछ । खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी रोजगारी र नगद सहायता जस्ता राहत कार्यक्रम तुरुन्तै लागू गर्नुपर्छ, ताकि नागरिकहरूको आधारभूत आवश्यकता पूरा होस् र समाजमा स्थिरता कायम रहोस् । दीर्घकालीन सुधार र तत्काल राहत – यी दुवैलाई सँगै अघि बढाउन सक्दा मात्र, हामीले संकटलाई अवसरमा बदल्न सक्छौं र समावेशी, समृद्ध नेपालको सपना साकार पार्न सक्छौं ।
नेपाल अहिले एक ऐतिहासिक मोडमा छ । निरन्तरको विनाश र अस्थिरताले हामीलाई कमजोर बनाएको छ, तर हाम्रो एकता, साहस र दृढताले हामीलाई फेरि उठ्न प्रेरित गर्छ । जोन मेनर्ड किन्सको अर्थशास्त्रले देखाएको छ–संकटमा सरकारको सक्रिय भूमिका आवश्यक छ । त्यसकारण ढिला नगरी जेन–जीले चाहेजस्तो, खोजेजस्तो बाटोबाट सरकार निमार्ण गरौं ।
जेन–जीको आवाजलाई सम्मान गर्दै, हामीले भ्रष्टाचारमुक्त, समावेशी र समृद्ध नेपाल निर्माण गर्न सक्छौं । खरानीबाट उठेर हामी नयाँ इतिहास लेख्नेछौं । यो हाम्रो समय हो, हाम्रो अवसर हो ।








