Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाल यतिबेला गम्भीर राजनीतिक संकटको भुमरीमा फसेको मात्र छैन, एक अनिश्चित मोडमा पनि उभिएको छ । शासन सम्हाल्ने एक जना व्यक्तिको अहंकारका कारण कुनै देश कसरी बर्बाद हुन्छ भन्ने अब अहिलेको पुस्ताले इतिहास पढ्नु परेन । आँखै अगाडी दुई दिनमा नेपालका सबै शासकीय संरचना ढलेर शून्यमा पुगे । जहाँ शीर्ष नेताहरूमाथि आम जनताको आक्रोश चुलिँदै गएको छ । फलस्वरुप उनीहरूका घर र राष्ट्रिय संस्थाहरूमाथि समेत शृङ्खलाबद्ध आक्रमण भइरहेका छन् भने नेताहरू भूमिगत हुन बाध्य छन् । जनताको धैर्य टुट्दै जाँदा नेपालको भविष्य थप अन्योलग्रस्त बनेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको तर्क छ । देशको वर्तमान परिस्थिति र अबको निकासका विषयमा विश्लेषक केसीसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः–

अहिले देश जुन भयावह अवस्थाबाट गुज्रिरहेको छ, यसलाई तपाई कसरी हेर्नु भएको छ ? यो घटनाक्रमलाई तपाईंले अप्रत्याशित मान्नुभएको छ वा यो स्वाभाविक परिणति थियो ?
इमान्दारीपूर्वक भन्नुपर्दा, अवस्था यतिसम्म बिग्रिएला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । जुन किसिमले राज्यका संरचनाहरू, इतिहासका धरोहरहरू र शक्तिका प्रतीकहरूमाथि छानीछानी प्रहार भइरहेको छ । राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वाेच्च अदालत, भाटभटेनी र पशुपतिनाथ मन्दिरसम्म पनि निशाना बनेको सुनिएको थियो, यो अत्यन्तै चिन्ताजनक छ । अझ डरलाग्दो कुरा त घरघरमा आक्रमण गर्ने नयाँ उपक्रम सुरु भएको छ । यसले सामाजिक अराजकतालाई मलजल गर्छ र भोलि कसैलाई रिस उठ्नेबित्तिकै अर्काको घरमा आगो लगाउने प्रवृत्ति मौलाउन सक्छ । यो देशलाई सिध्याउने एउटा ‘ग्रान्ड डिजाइन’ जस्तो देखिन्छ । अब कसलाई के फाइदा भयो यसबाट ? सबै संरचना सिध्यायो ।

खासगरी सिंहदरबारको अवस्थालाई हेर्दा, यसले हाम्रो इतिहास र भविष्यलाई कस्तो असर पार्छ ?
सिंहदरबार, जुन लिच्छवी, मल्ल र अन्य कालका धरोहरहरू विनष्ट भइसक्दा पनि कायम रहेको इतिहासको एक जीवन्त प्रतीक थियो, त्यो पनि आज निशाना बनेको छ । अगाडिको एउटा मोडेल मात्र बाँकी भए पनि, करोडौंको लगानीमा बनिरहेको नयाँ संरचना ब्रिटिश स्ट्यान्डर्डको थियो । तर, त्यो पनि ध्वस्त पारियो । नेता र दलहरुप्रति जेनजी समूहको आक्रोश थियो, किनकि उनीहरूलाई हरेक कुराबाट वञ्चित गरियो । सामाजिक सञ्जालमाथि पनि प्रतिबन्ध लगाउन खोज्दा यो विस्फोट भएको हो । यसको सम्पूर्ण दोष केपी ओलीको अकर्मण्यता र बेइमानीलाई जान्छ । उहाँ र उहाँको समूहको अपराधको शिकार सिंगो देश हुन पुग्यो ।

 

आर्मी हेडक्वार्टर नजिकै आक्रमण हुँदा पनि सेना चुपचाप बसेको भनेर प्रश्न उठेका छन्, यसलाई तपाई कसरी लिनुहुन्छ ?
यो प्रश्न उठाउनु बेकार हो । सबैभन्दा ठूलो समस्या त निर्धक्क भएर बोल्न नसक्नु हो । जहाँ मान्छे हेरेर, परिस्थितिको मूल्याङ्कन गरेर बोल्नुपर्छ, त्यहाँ नागरिकले मनमा लागेका गम्भीर प्रश्नहरू उठाउने अवस्था छैन । अहिले संकटको घडीमा त्यस्ता प्रश्नमा अल्झिनु उचित हुँदैन ।

तपाईले केपी ओलीको चीन भ्रमणपछि उनको जागिर जान्छ भनेर ठोकुवा गर्नुभएको थियो । अहिले त्यस्तै भयो, यसरी आफ्नै देशवासीले आफ्नै संरचना ध्वस्त पार्ने र सरकारले आफ्नै छोराछोरीलाई गोली हान्ने परिस्थिति आउला भन्ने लागेको थियो ?
मैले ओलीको जागिर जाने कुरा त ठोकुवा गरेको थिएँ, तर आफ्नै देशवासीले आफ्नै संरचनाहरू यसरी नष्ट गर्छन् र सरकारले आफ्ना नागरिकलाई गोली हान्छ भन्ने कुरा मेरो दिमागमा थिएन । प्रहरीले त आदेश पालना गर्‍यो, तर त्यहाँ विवेकको प्रयोग हुन सकेन । चेन अफ कमान्डमा रहेका सीडीओहरूले कसरी नेताको घरमा गएर आदेश दिए, यो सबै बेइमानीको परिणाम हो । यसले देशलाई अर्को संक्रमणकालमा धकेलेको छ, जहाँ खर्बौंको क्षति भइसकेको छ ।

अहिले महत्वपूर्ण सरकारी कागजात र नागरिकको तथ्याङ्क समेत नष्ट भएका छन्, अब देश कसरी चलाउने भन्ने प्रश्न उठेको छ, यो अवस्थामा बौद्धिक वर्ग र नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ ?
अब देश कहाँ बसेर चलाउने ? सबै महत्वपूर्ण कागजात र नागरिकको तथ्याङ्क समाप्त भएका छन् । अझ डरलाग्दो कुरा त के बोल्दा कसलाई चोट पुग्छ र को रिसाउँछ भन्ने डरले बौद्धिक वर्ग पनि आफ्नो राय जनसमक्ष राख्न सकिरहेको छैन । लोकतन्त्रलाई जुन किसिमले भद्दा मजाक बनाइयो, त्यसको सम्पूर्ण जवाफदेहिता नेतृत्वको बेइमानी र हाम्रो असक्षमतालाई जान्छ । मिडिया, बौद्धिक र नागरिक समाजले यो अवस्था आउनै दिनुहुँदैनथ्यो, तर उनीहरूलाई बोल्ने अवसर नै दिइएन ।

नेतृत्वमा परिवारवाद र छाडापन हावी भएकाले यो अवस्था आएको भनिन्छ, यसमा तपाईको के राय छ ?
हो, यो एकदमै ठोस कुरा हो । मैले बारम्बार प्रश्न उठाएको थिएँ, नेतृत्वलाई यति छाडा किन हुन दिएको ? जुन युवा नेताहरूले त्याग र बलिदान दिए, उनीहरूलाई पाखा लगाएर परिवारवाद र नातावादलाई प्रश्रय दिइयो । अहिले आक्रोश यति बढेको छ कि बागमती नदीमा लखेटेर भौतिक कारबाही भइरहेका छन् । सूर्य थापा र विष्णु पौडेलजस्ता नेताहरू निशाना बनेका छन् । विष्णु पौडेलमाथि लागेका आरोपहरूले जनताको आक्रोशलाई अझ बढाएको छ ।

अहिले जेलमा रहेका अपराधीहरू समेत छुटेको र त्यसको नेतृत्व रवि लामिछानेले गरेको भन्ने कुरा आएको छ । यसले कस्तो असर पार्न सक्छ ?
यो राम्रो भएन । देशभर कैदीहरु, जेलमा रहेका अपराधीहरु छुटेका छन् । कैदीहरू छुटाउने काम रवि लामिछानेले गरेको भन्ने कुराले सुरक्षा चुनौती बढेको छ । उनी आफै फरार कैदीको रुपमा पनि छन् अहिले । उनमा नैतिकता बाँकी छ भने फेरि कारागार जार्नुपर्छ । भारतले सीमा सिल गर्नु स्वाभाविक हो । देशभरका कैदीहरू निस्कनु भनेको सुरक्षाको दृष्टिकोणले गम्भीर खतरा हो । यसले आन्दोलनकारीलाई थप संयमित हुन दबाब दिन्छ ।

आन्दोलनकारी, सेना र समग्र राज्य प्रणालीलाई निकासका लागि तपाईको के सुझाव छ ?
आन्दोलनकारीहरूले तत्काल आफ्नो मार्गचित्र, नेतृत्व, संरचना र विचार सार्वजनिक गर्नुपर्छ । अहिले प्रतिक्रियात्मक मात्र देखिएको छ । बालबालिकाको ज्यान जाने गरी भएको हिंसाको आक्रोशले नेताहरू निशाना बनेका छन्, जुन सह्रानीय होइन । यसले सहरमा आतंक फैलाउँछ र लुटपाट सुरु भएको खबरहरू आइरहेका छन् । धार्मिक द्वन्द्वको सम्भावना पनि बढेको छ । आन्दोलनकारी पक्षले सार्वजनिक रूपमा ‘हामीले सम्पूर्ण आन्दोलन स्थगन गरेका छौं, सरकार निर्माणको मार्गचित्र तयार गर्दैछौं, र कुनै घटना भएमा त्यसको जिम्मेवारी आफैं लिनेछौं’ भनेर घोषणा गर्नुपर्छ । सेनाले शान्ति सुव्यवस्था कायम गर्नुपर्छ र अन्तरिम सरकार निर्माणका साथै अन्तरिमकालीन मार्गचित्रको रेखाङ्कनमा गृहकार्य गर्नुपर्छ । यो बाहेकको कुनै पनि बाटो अप्रिय र आत्मघाती हुनेछ ।

अन्त्यमा, यस आन्दोलनको गन्तव्य के हो र यसको पछाडि बालेन शाहको कस्तो भूमिका देख्नुहुन्छ ?
यस आन्दोलनको गन्तव्य अझै स्पष्ट छैन । मैले बारम्बार बालेन शाहको गन्तव्य के हो भनेर प्रश्न उठाउँदै आएको छु । उनले घुमाउरो पाराले आन्दोलनको जिम्मेवारी लिइरहेका छन्, तर त्यो पर्याप्त छैन । जसरी जनयुद्धको बेला प्रचण्ड को हुन् भन्ने अन्योल थियो, त्यसरी नै अहिले पनि यो आन्दोलनको वास्तविक नेतृत्व को हो भन्ने कुरा स्पष्ट हुनुपर्छ । हामीलाई सक्षम लिडर चाहिएको छ, जसलाई हेरेर हामीले भरोसा गर्ने कि नगर्ने भन्ने धारणा बनाउन सकौं । अन्यथा, यो अन्धकारमा ढुंगा हान्ने कुरा
हुनेछ ।

तपाईको प्रतिक्रिया