काठमाडौं – संविधान दिवस नजिकिँदै गर्दा नेकपा एमालेले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र लोकतान्त्रिक प्रक्रियालाई पुनः लयमा फर्काउने दृढ संकल्प व्यक्त गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचिव योगेश भट्टराईले असोज ३ गतेलाई संविधानको स्मरण, मृतकप्रति सहानुभूतिको दिनका साथै शान्तिपूर्ण निर्वाचनको संकल्प गर्ने दिनका रूपमा मनाइने जानकारी दिए ।
मुलुक अहिले गम्भीर राजनीतिक संकटको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै नेता भट्टराईले यस्तो परिस्थितिमा राजनीतिक दलहरूबीच सहानुभूति र सहकार्यको अपरिहार्यतामा जोड दिएका छन् । हालै जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभर भएका भौतिक क्षतिको विवरण संकलन कार्य भइरहेको जानकारी गराउँदै उनले यस क्रममा विभिन्न दलका कार्यालयहरूमा समेत क्षति पुगेको बताए ।
यसै सन्दर्भमा, भट्टराईले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आएको कांग्रेस नेताहरूको टोलीले एमालेको क्षतिग्रस्त केन्द्रीय कार्यालयको अवलोकन गरेको जानकारी दिए। यसअघि एमालेका नेताहरूले पनि कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थिए ।
भट्टराईले भने, ‘जुन ढंगले संरचनाहरू क्षति भएका छन्, देशभरको क्षतिको विवरण हामी लिँदैछौं । यस क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ, संरचना, कागजात र गाडीहरू पनि जलेका छन् । अरू दलका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ। यो बेलामा पार्टीहरूबीच सहानुभूति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने भन्ने बारेमा सोच्ने बेला पनि हो ।’
उनले देशभर जहाँसुकै पनि संरचनाहरू जलेका छन्, त्यसप्रति दुःख र सहानुभूति व्यक्त गरे। यसरी राजनीतिक दलहरूबीचको सद्भाव र सहकार्यले वर्तमान संकटलाई समाधान गर्न मद्दत पुग्ने एमालेको विश्वास छ । असोज ३ गतेको संविधान दिवसलाई केवल स्मरण दिवसका रूपमा मात्र नभई, देशमा शान्ति, स्थिरता र लोकतान्त्रिक प्रक्रियाको बहालीका लागि नयाँ संकल्प गर्ने अवसरका रूपमा मनाउने तयारीमा एमाले जुटेको छ ।








