टोकियो – जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हायाशीले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को आसन्न नेतृत्व निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसैगरी, कृषि मन्त्री शिन्जिरो कोइजुमीले पनि चुनावी दौडमा सामेल हुने संकेत दिएका छन् ।
अक्टोबर ४ मा हुने एलडीपी अध्यक्षको चुनावले निवर्तमान प्रधानमन्त्री शिगेरु इशिबाको उत्तराधिकारी चयन गर्नेछ । ‘म आफ्नो सम्पूर्ण अनुभव र उपलब्धिहरूलाई नयाँ सरकारको नेतृत्व गर्न प्रयोग गर्नेछु, जसले स्थिरता र विकास दुवै प्रदान गर्नेछ,’ हायाशीले सामाजिक सञ्जालमा लेखेका छन् ।
विगतमा विदेश, रक्षा, शिक्षा र कृषि मन्त्री जस्ता महत्वपूर्ण पदहरू सम्हालिसकेका ६४ वर्षीय हायाशीलाई एलडीपीका प्रमुख नीति विशेषज्ञहरूमध्ये एक मानिन्छ । उनी इशिबाका पूर्ववर्ती फुमियो किशिदासँग निकट छन् ।
यसैबीच, प्रतिनिधि सभाका ४४ वर्षीय सांसद कोइजुमीले आफू निर्वाचनमा लड्ने योजनाबारे स्थानीय समर्थकहरूलाई जानकारी गराएको पत्रकार सम्मेलनमा बताएका छन् । ‘म आधिकारिक घोषणाका लागि निरन्तर तयारी गरिरहेको छु,’ पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा शिन्जिरोले भने ।
हालसम्म, पूर्व विदेश मन्त्री तोशिमित्सु मोटेगी र पूर्व आर्थिक सुरक्षा मन्त्री ताकायकी कोबायाशीले नेतृत्व निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्य राखेकी पूर्व आन्तरिक मामिला मन्त्री सानाई ताकाइचीले पनि यसै हप्ता आफ्नो उम्मेदवारी घोषणा गर्ने अपेक्षा गरिएको छ । हालैका सञ्चार माध्यमका सर्वेक्षणहरूमा पार्टीको नेतृत्व गर्न सबैभन्दा उपयुक्त व्यक्तिको रूपमा ताकाइची र कोइजुमी अग्रस्थानमा छन् ।
एलडीपीको अर्को नेतृत्व निर्वाचन वास्तवमा इशिबाको तीन वर्षको कार्यकाल समाप्त भएपछि २०२७ मा हुने तय थियो । तर, जुलाई २० को प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनले बहुमत गुमाएपछि इशिबाले राजीनामा दिने घोषणा गरेपछि निर्वाचन चाँडो हुन लागेको हो ।








