समाचार सुन्नुहोस :
काठमाडौँ – जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भएकामध्ये ३ जना प्रहरी, १ जना भारतीय नागरिक र बाँकी सबै नेपाली युवा छन्। पहिलो दिन १९ जनाको मृत्यु भएको थियो भने घाइतेहरूको उपचारका क्रममा थप मृत्यु भएपछि मृतकको संख्या ५१ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २९९ घाइतेको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको छ। सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ जना उपचाररत छन्। काठमाडौँस्थित विभिन्न अस्पतालमा पनि ठूलो संख्यामा घाइते भर्ना भएका छन्। निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३ जना, ट्रमा सेन्टरमा ३२ जना, केएमसीमा ३५ जना, त्रिवि शिक्षण अस्पतालमा २५ जना र नेपाल पुलिस अस्पतालमा २८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै, अहिलेसम्म १ हजार ४६५ जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्।








