Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेपालमा सामाजिक सञ्जालमा प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध जेन-जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनले अहिले अन्योलको जालो ओढेको छ । रेडिट, डिस्कर्ड जस्ता वैकल्पिक सामाजिक सञ्जालमार्फत फैलिएको यो विद्रोह एकप्रकारले नेतृत्वविहीन नै बनेको छ ।

आन्दोलन कसले र कहिले घोषणा गर्‍यो, यकिनका साथ भन्न गाह्रो छ । वैकल्पिक सामाजिक सञ्जालहरूमा गुमनाम रूपमा फैलिएको यो खबरले शुक्रबारसम्म रेडिटमा भाइरलको रूप लिइसकेको थियो । रेडिटका ‘नेपाल सोसल’ र ‘नेपाल’ जस्ता कम्युनिटीहरूमा सेप्टेम्बर ८ मा भ्रष्टाचारविरुद्ध जेन-जी पुस्ताले देशव्यापी प्रदर्शन गर्ने खबर व्यापक बन्यो । तर, यसको नेतृत्व गर्ने कुनै व्यक्ति वा समूह अगाडि नआउँदा आन्दोलनको घोषणा जेन-जीले नै गरेका थिए कि भन्ने प्रश्न उठेको छ । प्रारम्भिक पोस्ट गर्ने र शेयर गर्नेहरू अहिले मौन र अदृश्य छन्, जसले कुनै राजनीतिक स्वार्थ समूहले ‘जेन-जी कार्ड’ फालेको त होइन भन्ने शंका जन्माएको छ ।

डिजिटल आर्काइभिङ गर्दा आन्दोलन आह्वान गरिएका सुरुवाततिरका धेरै पोस्टहरू नयाँ अकाउन्टबाट शेयर भएको र केही अकाउन्ट डिलिट भइसकेको पाइएको छ । शुक्रबार नै रेडिटमा ‘INR_G’ नामक समूह देखा पर्‍यो, जसले आन्दोलनका ग्राफिक्सहरू बनाएर डिस्कर्ड लिङ्क पनि राख्यो । उक्त लिङ्कमार्फत ‘युवा हब’ नामक कम्युनिटीमा करिब १५०० सदस्य जोडिएका थिए, जुन अहिले ‘जेनजी जेड नेपाल’ नाममा करिब ६ हजार सदस्यको समूह बनेको छ भने ‘INR_G’ समूह भने बेपत्ता छ ।

यी प्लेटफर्महरूमा नेतृत्व र मागबारे प्रश्नहरू उठिरहे पनि, उत्तरमा ‘कसैले पनि नेतृत्व नगर्ने’ र ‘भ्रष्टाचार’ नै मुख्य माग भएको देखिन्थ्यो । विशेषगरी सामाजिक सञ्जाल प्रतिबन्ध र ‘नेपो बेबी’ ट्रेन्ड प्रमुख कारणका रूपमा अगाडि आए । विस्तारै केही सञ्चारमाध्यम र हजारौं फलोअर्स भएका पेजहरूमार्फत सेप्टेम्बर ८ मा जेन-जीले आन्दोलन गर्ने खबर फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता धेरै नेपाली प्रयोगकर्ता भएको सामाजिक सञ्जालमा फैलिन थाल्यो । सरकारप्रतिको बढ्दो निराशाका कारण यो खबर डँडेलो जसरी फैलियो र शनिबारसम्ममा राजनीतिकर्मी, अभियन्ता र सेलिब्रेटीहरूले समेत यसलाई व्यापक समर्थन गरे । धेरैले यसलाई ‘पहिलो पटक नेतृत्वबिना, स्वस्फूर्त आन्दोलन’ भनेर प्रचार गरिरहेका थिए ।

शनिबार साँझ सामाजिक सञ्जाल बन्दको विरोधमा पाँच जना बानेश्वरबाट पक्राउ परेको खबरले आन्दोलनकारीहरूलाई झनै उत्तेजित बनायो । उनीहरू ‘युथ कंग्रेस नेपाल’ का सदस्य थिए र सोही संस्थाले त्यस दिनको प्रदर्शन आयोजना गरेको थियो । सामाजिक सञ्जाल प्रतिबन्ध र त्यसको प्रतिवादमा पक्राउ परेको घटनाले आन्दोलन गर्ने भनिरहेकाहरूका लागि ‘आगोमा घिउ’ को काम गर्‍यो । यसैबीच, विवेक थपलिया जस्ता केही व्यक्तिले जेन-जीहरूलाई नकारात्मक टिप्पणी गरेपछि गुपचुप तरिकाले आन्दोलनको तयारी गरिरहेकाहरूमा आक्रोश झन् बढ्यो ।दुर्गा प्रसाईंको प्रवेश र अस्वीकृति
आइतबार दिउँसोसम्म पनि आन्दोलन कसले नेतृत्व गर्छ भन्ने अन्योल कायमै थियो। त्यसै दिन दुर्गा प्रसाईं जेन-जीको आन्दोलनमा मिसिने खबर आयो, तर वैकल्पिक प्लेटफर्महरूमा तत्काल त्यसको विरोध भयो । केही जेन-जी उनलाई भेट्न गएको खबर पनि बाहिरियो, तर क्षणभरमै उनी आन्दोलनमा सहभागी नहुने समाचार आयो । प्रसाईंलाई भेट्नेहरू आन्दोलनको अगुवा नभएको चर्चा व्यापक थियो ।

केही सञ्चारमाध्यमले केही व्यक्तिहरूलाई जेन-जी आन्दोलनको नेतृत्वकर्ता भनेर उल्लेख गर्न थालेपछि त्यसको पनि विरोध भइरहेको थियो । कसैले नेतृत्वदायी भूमिका खेल्ने कोसिस गर्दा अरूले अस्वीकार गर्ने अवस्था सिर्जना भयो । यही अन्योलताबीच औपचारिक रूपमा ‘जेन-जी नेपाल’ नामक समूह देखा पर्‍यो । इन्स्टाग्राम र फेसबुकमा पेज खोलिएको यो समूहलाई केहीले आधिकारिक मानिरहेका थिए भने केहीले अस्वीकार । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस समूहको घोषणालाई उद्धृत गर्दै विज्ञप्ति निकालेका थिए ।

डिस्कर्डमा ‘जेन-जी नेपाल’, ‘द रिभोलुसन’, ‘जेन-जी स्पिक्स’, ‘जेन-जी मुभमेन्ट नेपाल’ लगायतका अन्य समूह छन् भने भाइबरमा ‘नयाँ नेपाल नेटवर्क’, ‘न्यु युथ जेनेरेसन भाइबर’ जस्ता समूह सक्रिय छन् । टेलिग्राम, मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा त अनगिन्ती साना समूहहरू बनेका छन् । यी सबैले जेन-जी आन्दोलनको नेतृत्व गरिरहेको दाबी गर्छन्, तर कसैले पनि एकले अर्काको अस्तित्व स्वीकार गरेका छैनन् ।

आइतबार साँझसम्म खोलिएका यी सबै समूहलाई एकीकृत गर्न ‘हामी नेपाल’ नामक समूह अगाडि आएको छ । यसको डिस्कर्डमा ‘युथ अगेन्स्ट करप्सन’ भन्ने समूह छ । हामी नेपालले आफूलाई आन्दोलनको आयोजक नभई व्यवस्थापकका रूपमा प्रस्तुत गर्दै आएको छ । गत सोमबार माइतीघरमा भएको आन्दोलनलाई यसै समूहले व्यवस्थित गर्ने काम गरेको थियो । १९ जनाको मृत्यु भएपछि यो समूहले मंगलबार शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको थियो । हाल ९८ हजारभन्दा बढी सदस्य भएको यो समूहको भर्चुअल मिटिङ भाइरल भइरहेको छ, जहाँ जेन-जीको तर्फबाट कसले सेनाप्रमुख र राष्ट्रपतिसँग कुरा गर्छ भन्नेबारे बहस भइरहेको छ ।

काठमाडौं बाहिरका शहरहरूमा आन्दोलनका लागि फरक-फरक डिस्कर्ड समूह र पेज बनाइएका थिए । जेन-जी आन्दोलनलाई सहयोग गर्न विभिन्न ‘गोफन्डमी’ अभियान पनि चलाइएका थिए, जसमा ठूलो मात्रामा आर्थिक सहयोग जुटिसकेको छ । घाइतेहरूको उपचार सरकारले गर्ने भनिरहँदा उठेका ती फन्ड के गर्ने भन्नेबारे कुनै जानकारी दिइएको छैन ।

दुई दिनको आन्दोलनका बीचमा जेन-जी आन्दोलनको नाममा नयाँ अकाउन्ट खोल्ने तथा पुराना अकाउन्ट/पेज/ग्रुपहरूको नाम परिवर्तन गर्ने ट्रेन्ड फेसबुकमा बढी देखिएको छ । उदाहरणका लागि, ‘नेपाल कम्युनिष्ट पार्टी एमाले’ नामक ग्रुपको नाम अहिले ‘gen-z युवा समूह नेपाल (जेन्जी)’ राखिएको छ, जसमा २ लाख ३२ हजारभन्दा बढी सदस्य छन् । १ लाख ८४ हजार फलोअर्स भएको ‘मिम पाना’ को नाम अहिले ‘जेनजी नेपाल’ राखिएको छ । यस्ता परिवर्तनले आम नागरिकहरूलाई मिथ्या, भ्रामक र आधारहीन सूचना फैलाउन भूमिका खेलिरहेका छन् ।

अस्पष्ट नेतृत्व, जेन-जी समूहहरूबीचको समन्वयको अभाव र एकले अर्काको कुरा नमान्ने प्रवृत्ति नै हालको जेन-जी आन्दोलनका प्रमुख समस्या बनेका छन् । राष्ट्रपति र सेनाले वार्ताका लागि बोलाउँदा पनि सबै जेन-जी समूहहरू अन्योलमा परेका छन् । आन्दोलनको सुरुवाती चरणमै घोषणा गर्नेहरूले पारदर्शी रूपमा नेतृत्व नलिनु र जेन-जीको ठूलो जमातलाई एकै तरिकाले सम्बोधन गर्नु वर्तमान अन्योलताका कारण बनेका छन् । नेतृत्वविहीन अवस्थामा ठूलो समूह आन्दोलनमा होमिंदा जेन-जी आन्दोलन क्रमशः अमूर्त र शंकास्पद बन्दै गएको छ । यसको भविष्य कस्तो हुन्छ, त्यो हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया