समाचार सुन्नुहोस :
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि कारागारबाट भागेका छन्। सुन्धारास्थित केन्द्रीय कारागारको भद्रबन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट फरार भएको स्रोतले जनाएको छ।
कारागार प्रशासनका अनुसार अहिले भद्रबन्दीगृहमा झण्डै १ सय जना कैदी मात्र बाँकी छन्, जबकि अन्य बन्दीगृहहरूमा तीन–चार सयजति कैदी रहेका छन्। फरार रायमाझी अहिलेसम्म सम्पर्कमा छैनन्। यसबीचमा केही कैदीहरूले प्रशासनलाई फोन गरेर आफूहरू फर्किने आश्वासन दिएको कारागार स्रोतले जनाएको छ। “हामी फर्किन्छौं भनेर हिजो पनि फोन गरेका छन्,” स्रोतले बतायो।
यसअघि नख्खु कारागारबाट भागेका कैदीहरूले केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए। डिल्लीबजार कारागारका कैदीहरूले पनि भाग्ने प्रयास गरेका थिए तर सेनाले उनीहरूलाई नियन्त्रणमा लिएर केन्द्रीय कारागारमा स्थानान्तरण गरिरहेको छ।








