काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशभर जेनजी युवाहरूको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।
मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै आफूले राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेको पत्रमा उल्लेख छ । प्रधानमन्त्री ओलीले संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए । तर, हालैका दिनमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले देशभर व्यापक समर्थन पाएसँगै राजनीतिक अस्थिरता बढेको थियो ।
ओलीले आफ्नो राजीनामा पत्रमा भनेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’
जेनजी आन्दोलनकारीहरूले विभिन्न माग राख्दै सडकमा उत्रिएका थिए । उनीहरूको मुख्य माग सुशासन, भ्रष्टाचार अन्त्य र युवामैत्री नीतिको कार्यान्वयन रहेको थियो । आन्दोलनले शान्तिपूर्ण रूपमा सुरु भए पनि बिस्तारै देशभरिका प्रमुख शहरहरूमा फैलँदै गएको थियो र यसले सरकारलाई ठूलो दबाब सिर्जना गरेको थियो ।








