काठमाडौं – अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी-२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित भएको छ । अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा भएको खेलमा पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।
उसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।
जितनजिक पुगिसकेको अवस्थामा नेपाल अन्तिम ओभरमा लड्खडायो । अन्तिममा २ विकेट गुमाएपछि नेपालले पराजय भोग्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र १ छक्का हाने । दीपेन्द्रसिंह ऐरी ४१ रनमा रनआउट रहे । दीपेन्द्रले २१ बलमा २ चौका र १ छक्का हाने ।
अन्तिम बलमा दीपेन्द्र रनआउट हुँदा नेपालले यो सिरिजमा चौथो हार सामना गर्यो । हारसँगै नेपालले टप इन्ड टी-२० सिरिज सक्काएको छ ।
नेपालका लागि आशिफ शेखले २७ रनको योगदान दिए । अन्यको स्कोर सम्झिनलायक रहेन । जित निकालेको साहिन्साका लागि कप्तान इरफान खान ४२ रन बनाउँदै नटआउट रहे । उता अब्दुल समदले २६ रन बनाए । मोहम्मद वसिमले २४ रन बनाए ।
ओपनर यासिर खानले १८ रन जोडे । साहिन्सालाई सस्तैमा रोक्ने क्रममा नेपालका सोमपाल कामीले ३ विकेट झारे ।
दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे । यससँगै ६ खेल खेलेको नेपालले चार खेलमा हार र दुई खेलमा जित हासिल गरेको छ ।
नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।








