काठमाडौं – नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । सोमबार बिहान उनको छालाको रंग पहेँलो देखिएपछि चिकित्सकको सल्लाहमा रगत परीक्षणका लागि पठाइएको हो ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल कारागार पुगेका थिए । सो क्रममा लामिछानेको छालामा अस्वाभाविक पहेँलोपना देखिएपछि अर्यालले तत्काल स्वास्थ्य जाँचका लागि कारागार प्रशासनलाई आग्रह गरेका थिए ।
‘उपसभापतिज्यूले भेट्ने क्रममा उहाँको स्वास्थ्यमा केही गडबड भएको हो कि भन्ने आशंका गर्नुभयो,’ प्रवक्ता झाले भने, ‘उहाँकै आग्रहपछि अहिले रगतको नमुना संकलन गरी परीक्षणका लागि अस्पताल पठाइएको छ ।’
यद्यपि, रगत परीक्षणको रिपोर्ट भने आइनसकेको उनले जानकारी दिए । रिपोर्ट आएपछि मात्रै उनको स्वास्थ्य अवस्थाबारे यकिन जानकारी हुनेछ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई दुई दिनअघि मात्रै भैरहवा कारागारबाट काठमाडौंको नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो । नख्खुमा उनलाई करिब ४ सय कैदीबन्दी रहेको ब्लकमा राखिएको छ ।








