टोकियो – जापानको दक्षिण-पश्चिमी शहर इमारीमा गत जुलाईमा एक महिलाको घरमा लुटपाट गरी हत्या गरेको आरोपमा एक भियतनामी युवकविरुद्ध अभियोगपत्र दायर गरिएको छ । जापानको प्राविधिक प्रशिक्षार्थी कार्यक्रम (technical internship program) अन्तर्गत कार्यरत २४ वर्षीय डाम डुइ खाङमाथि उक्त अभियोग लगाइएको हो ।
प्रहरीका अनुसार, उनले जुलाई २६ को दिउँसो ४० वर्षीया जापानी भाषा शिक्षिका माइको मुकुमोतोको घरमा प्रवेश गरी चक्कु देखाएर धम्क्याएका थिए । त्यसपछि उनले मुकुमोतो र उनकी आमालाई धम्क्याएर ११,००० येन लुटेको आरोप छ । अनुसन्धान अनुसार, खाङले दुवै महिलालाई माथिल्लो तलामा लैजान खोजेका थिए, तर उनीहरूले प्रतिकार गर्दा उनले आक्रमण गरे । आफ्नी ७० वर्षीया आमालाई बचाउन खोज्दा मुकुमोतोको घाँटी र शरीरका अन्य भागमा चक्कुका गम्भीर चोटहरू लागेका थिए, जसका कारण उनको मृत्यु भयो। उनकी आमालाई पनि गम्भीर चोट लागेको र निको हुन करिब एक महिना लाग्ने बताइएको छ ।
पीडितकै घर नजिकै बस्ने खाङलाई घटनाको भोलिपल्टै पक्राउ गरिएको थियो । जापानको प्राविधिक प्रशिक्षार्थी कार्यक्रमको उद्देश्य विकासोन्मुख देशहरूमा सीप हस्तान्तरण गर्नु हो । तर, यो कार्यक्रम प्रायः सस्तो श्रम आयात गर्ने माध्यम भएको भन्दै आलोचित हुने गरेको छ । प्रशिक्षार्थीहरूको एक सुपरिवेक्षक निकायका अनुसार, अभियुक्त खाङ डिसेम्बर २०२३ मा जापान आएका थिए ।








