समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको स्पष्ट गरेकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ४५ वर्षदेखि एमालेसँग आबद्ध रहेको स्मरण गर्दै पार्टीको नीति–कार्यक्रमअनुसार अघि बढ्ने बताइन्।
भण्डारीले राष्ट्रपतिको पदलाई आवधिक जिम्मेवारीका रूपमा व्याख्या गर्दै कार्यकाल सकिएपछि सामान्य राजनीतिक वा सामाजिक जीवनमा फर्किन सकिने भनाइ राखिन्। उनले भनिन्, “म राष्ट्रपतिमा एमालेकै निर्णयले पुगेकी हुँ। कार्यकाल सकिएपछि पुनः सदस्यता नवीकरण गरेर फर्किएको हुँ।”
पार्टीभित्र आफ्नो भूमिकाबारे सोधिँदा उनले औपचारिक जानकारी नभएको बताइन्। आलोचना र व्यक्तिगत आरोपबारे प्रश्न गर्दा उनले आफू पनि आलोचनाबाट मुक्त नभएको जनाइन्। ‘गुट चलाएको’ आरोप अस्वीकार गर्दै उनले आफूलाई गुट बनाउन आउँदैन भनेर स्पष्ट गरिन्।
मदन भण्डारी फाउन्डेसनका विषयमा प्रश्न गर्दा उनले पार्टी नेताहरूलाई सोध्न सुझाव दिइन्। त्यस्तै, हालै कांग्रेस नेता शेखर कोइरालासँग भएको भेटलाई उनले सामान्य ठान्दै त्यसलाई राजनीतिक हाउगुजीको रूपमा नलिन आग्रह गरिन्। यसरी उनले आफू अझै एमालेकै कार्यकर्ता भएको र पार्टीकै हितमा काम गर्ने बताइन्।








