टोकियो – जापानको ओसाका शहरको मुटु मानिने व्यस्त बजार तथा पर्यटकीय स्थल डोटोनबोरिमा सोमबार बिहान एउटा भवनमा आगलागी हुँदा दुई अग्नीनियन्त्रकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीय अग्नीनियन्त्रण विभागका अनुसार, बिहान करिब ९:५० बजे भवनको पहिलो तल्लाबाट आगो सुरु भएको थियो ।
यो भवनमा विभिन्न रेस्टुरेन्टहरु सञ्चालित थिए । आगलागीको खबर पाउनासाथ ५१ वटा दमकल घटनास्थलमा पुगेका थिए । करिब तीन घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सुरु भएको भवनको बेसमेन्टदेखि तेस्रो तल्लासम्म र त्यससँगै जोडिएको अर्को भवनको पाँचौं र छैटौं तल्लामा गरी कुल ११० वर्ग मिटर क्षेत्रमा क्षति पुगेको छ । अधिकारीहरुका अनुसार, आगलागीमा परी २२ र ५५ वर्षका दुई अग्नीनियन्त्रकको छैटौं तलामा शव फेला परेको थियो ।
घाइते हुनेहरुमा अन्य तीन अग्नीनियन्त्रक र छेउको रेस्टुरेन्टमा रहेकी एक २० वर्षीया महिला रहेका छन् । उनीहरु सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । प्रत्यक्षदर्शीहरूले प्रसिद्ध ग्लिको नियन बिलबोर्ड नजिकैको भवनबाट कालो धुवाँको मुस्लो निस्किरहेको देखेको बताएका छन् । आगलागीको दृश्य हेर्न र अग्नीनियन्त्रकहरूको प्रयास अवलोकन गर्न पर्यटक र बटुवाहरूको ठूलो भीड जम्मा भएको थियो ।
नजिकैको एक रामेन पसलमा काम गर्ने एक व्यक्तिले प्रहरीले सचेत गराएपछि आफू तत्काल बाहिर निस्किएको बताए । घटनाले व्यस्त बजार क्षेत्रमा केही बेर त्रासको वातावरण सिर्जना गरेको थियो ।








