समाचार सुन्नुहोस :
काठमाडौँ – टोकियोमा सम्पन्न एनआरएनए जापानको २०२५–२०२७ कार्यकालका लागि निर्वाचित पदाधिकारीलाई कास्की पोखरा समाज जापानले आइतबार भव्य समारोहमार्फत सम्मान गरेको छ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुभास लामिछानेले सम्बोधन गर्दै जापानमा रहेका नेपाली समुदायको साझा हित र समृद्ध भविष्यका लागि सबै संघ–संस्थासँग सहकार्य र सहयात्रा आवश्यक रहेको बताए। उनले संस्थागत एकता र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
समारोहलाई सम्बोधन गर्ने वक्ताहरूले प्रवासमा नेपाली समुदायको पहिचान, गौरव र अधिकार सुनिश्चिततामा संस्थागत एकता महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे। साथै, कास्की पोखरा समाज जापानले सञ्चालन गर्दै आएका सामाजिक, साहित्यिक र सांस्कृतिक अभियानलाई अझ सशक्त पार्दै कास्की–पोखराको पहिचानलाई जापानसहित विश्वभर फैलाउनुपर्नेमा जोड दिइयो।
एनआरएनए आईसीसीका उपाध्यक्ष रोविन शेरचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले सभापतित्व गरेका थिए। कार्यक्रम महासचिव जीवन पोख्रेल ‘कन्चन’ ले सञ्चालन गरेका थिए भने उपाध्यक्ष सरोज कार्कीले स्वागत मन्तव्य दिएका थिए।








