Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानको ह्योगो प्रान्तको ताचुनो शहरमा प्रहरीले एक २६ वर्षीया महिलालाई अभिभावकीय जिम्मेवारी पूरा नगरेको आरोपमा पक्राउ गरेको छ । ती महिलामाथि आफ्नो ६ वर्षीय छोरालाई चार दिनसम्म घरमा एक्लै छाडेर टोकियो घुम्न गएको अभियोग लगाइएको छ ।

प्रहरीका अनुसार, मायु कामिउची नामक ती महिलाले आफ्नो छोरालाई अगस्ट ९ को बिहानदेखि अगस्ट १२ को साँझ ६:५० बजेसम्म घरमा एक्लै छाडेकी थिइन् । यो घटना तब सार्वजनिक भयो, जब छिमेकीले अगस्ट १२ को दिउँसो बालकलाई अपार्टमेन्टको बाहिर रोइरहेको अवस्थामा भेटे । उनले तत्काल ह्योगो प्रान्तको हिमेजी बाल तथा परिवार केन्द्रलाई खबर गरे र केन्द्रले प्रहरीलाई सूचित गर्यो ।

उद्धार गरिएको बालकलाई तत्काल बाल परामर्श केन्द्रको संरक्षणमा राखिएको छ । प्रहरीले बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै चोटपटक नलागेको जनाएको छ । बालकले घरमा छाडिएको खानेकुरा खाएर बसेको बयान दिएका छन् । भोलिपल्ट, अगस्ट १३ को बिहान कामिउची घर फर्किएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीसमक्ष दिएको बयानमा उनले आफू एक साथीलाई भेट्न र टोकियो घुम्न गएको बताएकी छन् । उनले छोरालाई अपार्टमेन्ट बाहिर ननिस्कनू भनेर सम्झाएको पनि स्वीकार गरेकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया