समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाल अनिवार्य रूपमा दर्ता हुनुपर्ने बताएका छन्। ललितपुरमा आज आयोजित ‘डिजिटल फ्रेमवर्क २०२५’ कार्यक्रममा उनले दर्ता नभएका सामाजिक सञ्जालमाथि सरकारले निगरानी बढाइरहेको बताए।
उनका अनुसार नेपालमा हुने सबै कारोबार नेपालको कानुनअनुसार हुनुपर्छ। मेटा लगायतका कम्पनीलाई दर्ताका लागि सरकार लगातार आह्वान गरिरहेको भए पनि उनीहरूले अझै दर्ता गरेका छैनन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि सरकारको तर्फबाट पटक–पटक दर्ताका लागि आग्रह गरिरहेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले नेपालमा व्यवसाय गर्ने कुनै पनि सामाजिक सञ्जालले कर तिर्नैपर्ने र नेपालमै कार्यालय खोल्नुका साथै दर्ता हुनुपर्ने स्पष्ट गरे। कानुनअनुसारको दायित्व पूरा नगरे ठोस कदम चाल्ने चेतावनी पनि उनले दिए। त्यस्तै, उनले इन्टरनेट सेवा सबै क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले सञ्चार मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिए।








