काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो समय पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको र दैनिक एक हजारभन्दा बढी नयाँ सदस्यहरू थपिने गरेको दाबी गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) र नेपाली सेनाका पूर्वकर्णेलसहितका विशिष्ट व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्दै रास्वपाले आफ्नो जनाधार तीव्र गतिमा विस्तार भइरहेको संकेत गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त डीआईजी दुर्गा भट्टराई र एसएसपी विश्वेश्वर थापा रास्वपामा प्रवेश गरेका छन् । सुरक्षा निकायमा लामो र विशिष्ट अनुभव सँगालेका उच्च अधिकारीहरूको प्रवेशलाई रास्वपाले अर्थपूर्ण मानेको छ ।
त्यसैगरी, नेपाली सेनामा कर्णेल पदबाट सेवानिवृत्त डा. प्रद्युम्न पौडेल, अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबका पूर्वगभर्नर शोभा जोशी तथा मिन्तिरा लामा र ललितबहादुर श्रेष्ठ पनि औपचारिक रूपमा पार्टीमा संलग्न भएका छन् । नवप्रवेशीहरूलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले खादा र सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको पार्टीप्रतिको आकर्षणले संगठन थप बलियो बनेको बताए । ‘हामीकहाँ अहिले दैनिक रूपमा औसत एक हजारभन्दा बढीले सदस्यता लिइरहनुभएको छ । सशस्त्र प्रहरीका पूर्वडीआईजी दुर्गा भट्टराई, पूर्वएसएसपी विश्वेश्वर थापा र सेनाका पूर्वकर्णेल डा. पौडेल जस्ता अनुभवी व्यक्तित्वहरूको आगमनले पार्टीको मिसनमा ठूलो ऊर्जा थपिएको छ,’ झाले भने ।
विभिन्न पेसा, व्यवसाय र अनुभव भएका व्यक्तिहरूको रास्वपा प्रवेशको क्रमले पार्टीले आफूलाई परम्परागत राजनीतिक दलभन्दा फरक र विज्ञहरूको समूहका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको देखिन्छ ।








