काठमाडौं – सरकारको कामलाई थप प्रभावकारी, नतिजामुखी र समयबद्ध बनाउने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूसँग कार्यसम्पादन सम्झौता गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने विशेष कार्यक्रममा उपप्रधानमन्त्रीद्वय र सबै मन्त्रीहरूले चालु आर्थिक वर्षका लागि आ-आफ्नो मन्त्रालयको तर्फबाट प्रतिबद्धता जनाउनेछन् ।
यो सम्झौतालाई सरकारको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्ने दिशामा एक महत्त्वपूर्ण औजारका रूपमा हेरिएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै सुरु भएको यो अभ्यासले मन्त्रीहरूलाई आफ्नो वार्षिक कार्ययोजना र त्यसबाट हासिल हुने उपलब्धिप्रति प्रत्यक्ष रूपमा प्रधानमन्त्रीसमक्ष जवाफदेही बनाउँछ । गत वर्षभन्दा झण्डै एक महिना अगाडि नै हुन लागेको यो सम्झौताले पूर्वाधार निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित कामहरूलाई समयमै सम्पन्न गर्न थप दबाब सिर्जना गर्ने विश्वास लिइएको छ ।
प्रधानमन्त्रीसँग सम्झौता गरेलगत्तै मन्त्रीहरूले आ-आफ्ना मन्त्रालयका सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने प्रावधान छ । यसले सरकारका नीति तथा कार्यक्रमलाई प्रशासनिक तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न र जिम्मेवारीको तहगत श्रृंखला स्थापित गर्न मद्दत पुग्नेछ ।








