समाचार सुन्नुहोस :
काठमाडौँ – महानगरपालिकाले भ्रामक विज्ञापन, नक्कली ब्रान्ड र गुणस्तरहीन सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार जारी सार्वजनिक सूचनामा महानगरले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार यस्ता क्रियाकलापमा संलग्नलाई ५ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको हो।
हाल जुत्ता, लत्ताकपडा जस्ता दैनिक प्रयोग हुने सामानमा झुटो प्रचार, ब्रान्डको दुरुपयोग र उपभोक्तालाई ठग्ने घटना बढेको गुनासो आएपछि महानगरले कडाइ गर्ने तयारी गरेको हो। सूचनाअनुसार, उत्पादनबारे गलत विवरण दिने, खाद्य तथा पेय पदार्थमा उत्पादन मिति, प्रयोग भएका सामग्री र म्याद सकिने मिति उल्लेख नगर्ने, घरेलु उत्पादनलाई विदेशी भनेर बेच्ने, म्याद सकिएका वा स्वास्थ्यमा हानी पुर्याउने सामान बिक्री गर्ने, अरूको ट्रेडमार्क वा ब्रान्डको नक्कल गर्ने जस्ता काम पूर्ण रूपमा प्रतिबन्धित छन्।
यस्ता क्रियाकलाप प्रमाणित भएमा जरिवाना तिराउने, सामान नष्ट गर्ने, व्यवसाय बन्द गर्ने र अनुमतिपत्र खारेज गरिनेछ। उपभोक्ता ठगिएको प्रमाणित भएमा बढीमा २ लाख रुपैयाँसम्म जरिवाना, झुटो विवरण दिनेमा १ लाख रुपैयाँसम्म जरिवाना, १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। नक्कली सामान बेच्नेमा भने ५ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद सजाय हुनेछ।








