काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सडकमा पोखिँदै उत्कर्षमा पुगेपछि नेतृ एवं अभिनेत्री रेखा थापाले अब विशेष महाधिवेशन नै एकमात्र समाधान भएको संकेत गरेकी छन् । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणा पक्षबीच चुलिएको शक्ति संघर्षले पार्टी पंक्तिमा निराशा छाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशनको माग अघि सारेकी हुन् ।
नेतृ थापाले बुधबार आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी छन्, ‘राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र ?’ उनको यो भनाइले पार्टीको वर्तमान नेतृत्वले विवाद समाधान गर्न नसकेको र अब वैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्ने आशय व्यक्त गर्दछ । गत महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेकी थापाको यो मागलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
राप्रपामा पछिल्लो विवाद अध्यक्ष लिङ्देनले केही नेताहरूलाई पदमुक्त गरेपछि चर्किएको हो । महामन्त्री राणा पक्षले उक्त निर्णयलाई एकलौटी र विधानविपरीत भन्दै फिर्ता लिन माग गरे पनि अध्यक्ष लिङ्देन आफ्नो निर्णयमा अडिग छन्, जसले गर्दा दुई पक्षबीचको दूरी झनै बढेको छ ।
यो विवाद हालै काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा हात हालाहालको स्थितिमा पुगेको थियो । अध्यक्ष लिङ्देन स्वयं उपस्थित कार्यक्रममा दुई पक्षबीच झडप भएपछि उनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए । तर, उनको निर्देशनलाई बेवास्ता गर्दै अर्को पक्षले एकतर्फी रूपमा नयाँ समिति घोषणा गरेपछि पार्टीको आन्तरिक कलह छताछुल्ल भएको हो ।








