Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – नेपाली महिलाहरूको विशेष सांस्कृतिक तथा धार्मिक पर्व हरितालिका तीजलाई लक्षित गर्दै यस वर्ष जापानमा पहिलो पटक दुई दिवसीय तीज महोत्सवको आयोजना गरिने भएको छ । ‘मिनी नेपाल’ भनेर चिनिने टोकियोको शिन-ओकुबो क्षेत्रमा, यही अगस्त २३ र २४ (शनिबार र आइतबार) मा हुने ‘तीज फेस्टिभल टोकियो २०२५’ ले नेपाली समुदायमाझ ठूलो उत्साह जगाएको छ । फेस्टिभल SMYG e-Group Japan को आयोजनामा हुन लागेको हो ।

कार्यक्रम टोकियोको मुटु मानिने सिन्जुकुस्थित, नेपालीहरूको बाक्लो उपस्थिति रहेको तोयामा पार्कमा आयोजना हुनेछ । यस वर्षको तीज अगस्त २६ मा परेको छ भने दर खाने दिन २५ तारिखमा रहेकोले त्यसको पूर्वसन्ध्यामा सप्ताहन्तमा कार्यक्रम आयोजना गरिएको हो ।

महोत्सवको उद्देश्य: सांस्कृतिक आदानप्रदान र सम्बन्ध विस्तार
फेस्टिभल आयोजक कमिटीका संयोजक वरिष्ठ पत्रकार तिलक मल्लका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाल र जापानबीच रहीआएको असल सम्बन्ध र आयामहरूलाई जनस्तरसम्म विस्तार गर्दै सांस्कृतिक तथा सामाजिक सद्भाव आदानप्रदान गर्नु हो । ‘यो महोत्सव केवल मनोरञ्जनका लागि मात्र होइन, यो हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने र बहुसांस्कृतिक समाज निर्माणमा नेपाली समुदायको सक्रियता देखाउने एक माध्यम पनि हो,’ मल्लले भने

आयोजक संस्थाका प्रतिनिधि शालिग्राम भण्डारीले भने, ‘हाम्रो उद्देश्य नेपाली कला, साहित्य र संस्कृतिलाई जापानी र अन्य विदेशी नागरिकहरूसमक्ष पुर्‍याउनु हो । यो महोत्सवले नेपाली संस्कृतिको धनी परम्परा र आधुनिकता दुवैलाई एकैसाथ प्रस्तुत गर्नेछ ।’ त्यसैगरी, आयोजक कमिटीका सदस्य ददिबल खड्काले शिन-ओकुबो क्षेत्रमा नेपालीहरूको बाक्लो उपस्थिति, सक्रियता र गतिविधिलाई उजागर गर्दै बहुसांस्कृतिक समाज निर्माणमा हिस्सेदार बन्नु फेस्टिभलको अर्को महत्वपूर्ण उद्देश्य रहेको बताए ।

महोत्सवलाई अविस्मरणीय बनाउन नेपालका चर्चित कलाकारहरूको एक टोली जापान आउने भएको छ । सुपरस्टार प्रकाश सपूत, लोकप्रिय लोकगायक खुमन अधिकारी, तीज क्वीन भनेर चिनिने गायिका प्रीति आले, कुमार कार्की र ऋतु कँडेल लगायतका राष्ट्रिय कलाकारहरूले आफ्नो तीज विशेष धमाकेदार सांगीतिक प्रस्तुति दिनेछन् । उनीहरूको साथमा जापानमै रहेका स्थानीय नेपाली कलाकारहरूको पनि दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ । तीज विशेष कार्यक्रम भएकाले नारीहरूको प्रस्तुति र प्रतिभालाई प्राथमिकतामा राखिने पनि बताइएको छ ।

दुवै दिन बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म चल्ने फेस्टिभलमा नेपाली संस्कृति झल्किने प्रस्तुतिहरूका साथै जापानी, कोरियन, भियतनामी, बंगलादेशी, र चिनियाँ कलाकारहरूले पनि आफ्नो देशको संस्कृति झल्काउने प्रस्तुतिहरू दिनेछन् ।

महोत्सवमा नेपाली, जापानी लगायतका विभिन्न खानाका परिकारहरूको स्टल, रेमिट्यान्स, मोबाइल, ट्राभल, स्कूल, कलेज जस्ता सेवा तथा उत्पादनका स्टलहरू पनि रहनेछन् । साथै, नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ । फेस्टिभलमा तीजजन्य मौलिक सांगीतिक प्रस्तुति र तीजजन्य अर्गानिक परिकारहरूलाई विशेष मानकको रूपमा लिइने आयोजकको भनाइ छ ।

कार्यक्रमलाई सिन्जुकु सिटी अन्तर्गतको बहुसांस्कृतिक केन्द्र, इन्टरनेसनल बिजनेस नेटवर्क, मोना जापान र अन्य विभिन्न नेपाली संघसंस्थाहरूले सहयोग गरेका छन् । आयोजक SMYG e-Group ले इभेन्ट म्यानेजमेन्ट, डिजिटल मार्केटिङ तथा अन्य सेवाहरूमा आफ्नो विशेषज्ञता प्रयोग गरी कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया