Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

 कक्षा १२ को नतिजा भर्खरै सार्वजनिक भयो । कैयौँ घर र अभिभावकमा खुसीको बहार आयो भने कैयौँ परिवारमा निराशा छायो । बजारमा लड्डुका प्याकेटहरू धेरै बिके । गाउँ, बस्ती र सहरभरिका धेरै खसीहरू सहिद भए । कैयौँ कुखुराका खोरहरू रित्तिए । एउटाको खुसीमा अर्कोले सहिद हुनुपर्‍यो । अर्को अर्थमा यो प्राकृतिक इकोसिस्टम पनि होला । खसी र कुखुरालाई मासुको रूपमा प्रयोग नगर्ने हो भने यिनीहरूको अस्तित्व पनि त लोप हुन सक्ने देखिन्छ । न त यिनीहरूलाई सङ्ग्रहालयमा सजाइन्छ, न त घरमा नै पालिराखिन्छ ।

उत्तीर्ण हुनेहरूका घरमा खुसीका सपना चुलिए, सपनाका आकारहरू अझै फैलिए । ‘सन्तानले आफ्नो इज्जत धान्दिन्छ, अझै राम्रो सफलताका सिँढीहरू चढ्दै जान्छ, अब त पैसा कमाउँछ,’ यस्तै आशा पलायो । आफ्ना सन्तानलाई अझै राम्रो शिक्षा दिने, सफल र ठूलो मान्छे बनाउने अभिभावकको सपनाको आयतन यतिबेला देशैभरि तन्किएको छ । यो प्रतिस्पर्धा हो, सफल र असफल त हुन्छ नै । यसपालि असफल हुनेहरूले पनि पूरक परीक्षामा राम्रो गर्न सक्छन्, एउटै प्रतिस्पर्धाबाट जीवन सकिने पनि त होइन । प्रयास गर्दै जानुपर्छ ।

‘छोरो डाक्टर बनोस्, इन्जिनियर बनोस्, पाइलट बनोस्, वैज्ञानिक बनोस्, वकिल बनोस् र बाचुन्जेल सम्मानित पदमा रहिरहोस्,’ थोरै अभिभावकको मात्रै यस्तो चाहना होला । ‘सन्तान आफ्नै आँखाअगाडि, आफ्नै देशमा बसिरहोस्,’ यस्तो चैँ सबैको रहर हुन्छ सायद । कैयौँ अभिभावकको सपना फरक पनि होला- सन्तानलाई प्लस टुसम्म पढाउने र पैसा कमाउन विदेशतिर पठाइहाल्ने । यतिबेला युवाहरूको सपना फेरिएको छ । घर छोड्ने होडबाजीमा बजारका कन्सल्टेन्सीहरू भरिएका छन् । सन्तानका रहरहरू देशसँग होइन, यतिबेला विदेशसँग जोडिएका छन् । देश छाड्ने कुरा चलिरहँदा अभिभावकको मन रित्तिएको छ ।

अब हुलका हुल माहुरीले देश छाड्ने निश्चित छ । प्रधानमन्त्रीले फेसबुकमा ठूलो विज्ञापन गर्नुभएको छ, उहाँ लेख्नुहुन्छ, ‘तपाईंहरू सफल हुनुभयो, अब देशमै पढ्ने र देशमै केही गर्ने यात्रा सुरु गरौँ ।’ तर युवाहरू मान्दैनन्, या प्रधानमन्त्रीको कुरालाई विश्वास नै गर्दैनन् । भोलि बिहानैबाट १२ कक्षा उत्तीर्ण गर्नेहरू मेनपावर र कन्सल्टेन्सीहरूमा भिडका भिड देखिन्छन्, मानौँ कि उनीहरूलाई देश छोड्न चिट्ठा परेको हो ।

अब एकपटक देशमा सन्नाटा छाउनेछ । कलिला सन्तान आमाबुबाको काखबाट खोसिनेछन् । आमाको आँखा आँसुले भरिनेछ; उनले आफ्ना कलिला सन्तानलाई अर्को देशमा बेच्दैछिन्, जीवन धान्न पैसा कमाउनका लागि । जो अब सायदै देश फर्किन्छ । पीआरका नाममा देश छोड्दैछ, या देशको नागरिकता त्यागेर विदेशी नागरिक बन्दैछ । आमाको काख रित्तिनेछ, बाबुको आँट-भरोसा टाढिनेछ, तर प्रधानमन्त्री स्टाटस लेखिरहन्छन्, युवाहरूलाई मतलब छैन ।

भविष्यमा सन्तान विदेशी नागरिक भइसकेपछि आफ्नो माटोमा फर्कन वा आफ्ना जन्मदातालाई भेट्न आउन केही महिनाको मात्रै अनुमति लिएर आउनुपर्नेछ ।

प्रधानमन्त्रीज्यू ! भोको पेटले राय व्यक्त गर्न सक्दैन, खै त कुरा बुझ्नुभएको ? प्रधानमन्त्रीज्यू ! भात पाक्न घरमा चामल हुनुपर्‍यो, चामल हुन रोप्न पाउनुपर्‍यो, रोप्नलाई खेत हुनुपर्‍यो, अनि राज्यले मल, बीउ र सिँचाइको उचित व्यवस्था गरिदिनुपर्‍यो । देशमै अघाउनका लागि धान फल्न पाउनुपर्‍यो, अगेनाले बल्न पाउनुपर्‍यो, कसौँडी बस्न पाउनुपर्‍यो । यो सब हुनका लागि देशको राजनीति सही हुनुपर्‍यो ।

हरेक वर्षको नतिजापछि देशमा युवाहरूको अभाव हुँदैछ । युवाहरूले आफ्नो जवानी, सीप र क्षमता परदेशमा लगानी गरिरहेका छन् । त्यसको प्रतिफल र उपलब्धि परदेशले मनग्य पाउँछ । हामी नेपालीले त हाम्रो बौद्धिकता र शारीरिक परिश्रम बेचेबापतको थोरै रकम न हो पाउने । आखिर विदेश जानेहरूको एउटा घर-घडेरी जोडिएला, परिवारले चाहेका कुराहरू पूरा गर्न सक्ने बन्लान्, तर समग्र देशका लागि त ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ न हो ।

हरेक वर्ष उत्पादन हुने यी सक्षम युवा शक्तिलाई देशमा परिचालन गर्न नसक्ने हो भने अबका भावी पुस्ताले परिवार चिन्दैन, संस्कार चिन्दैन र आखिरमा देश पनि चिन्दैन ।

देश बिरानो बन्दैछ आजका पुस्ताका लागि, अनि उनीहरू ‘देश नै मन पर्दैन’ भन्छन् । यसरी दैनिक ‘ब्रेनड्रेन’ हुनु भनेको भोलि देश दुर्घटनामा पर्नु हो, देश रित्तिनु हो । अनि हिजो इतिहासमा गोमाले स्वस्थानी कथा भन्दा सुनिदिने मान्छे नभएर इँटा, चर्खा र धागोलाई कथा सुनाएजस्तै देशको विकराल रूप देखिनेछ ।

मोहन खतिवडा

टोकियो, जापान

तपाईको प्रतिक्रिया