सपना देख्नु र पूरा हुनु खुसीको कुरा हो । सपनाको पछाडि जोडिनेहरू पनि धेरै खुसी हुन्छन् । गरेको कार्य पूरा हुनु, परीक्षा दिएपछि सफल हुनु, लगानी गरेपछि आम्दानी हुनु, यो त चलिरहने प्रक्रिया हो र यसै तरिकाले आशा गरिन्छ पनि ।
हामी नेपाली हौँ, हामीले गरेको कर्मले म मात्रै होइन, मेरो परिवार, मेरो समाज, मेरा आफन्त र मेरो स्वार्थ-समाज पनि खुसी हुने हाम्रो परम्परा वा संस्कार नै बनिसकेको छ । अरू त के कुरा गरौँ, हामी सानो काममा पनि लर्को बोकेर हिँड्ने चलन भएका मान्छे हौँ । हामीलाई कोन्बिनी स्टोर जान साथी चाहिन्छ, सुपरमार्केट जान साथी चाहिन्छ, आफ्नो व्यक्तिगत कामले वार्ड अफिस जानुपरे पनि साथीको लर्को बोकेर जान मन पराउँछौँ ।
यतिबेला जापानमा एनआरएनएको चुनाव भर्खरै सकिएको छ । प्रतिस्पर्धा हो, जित र हार त हुन्छ नै, यो सामान्य सिद्धान्त हो । यो चुनावी प्रतिस्पर्धामा जित्ने प्रतिनिधिलाई हार्दिक बधाई ! जितलाई सम्हाल्दै अघि बढ्नुहोला । विजयीको उन्मादले तपाईंका पाइलाहरू केटाकेटीको चिप्लेटीमा नपरून्, शुभकामना पनि ।
चुनावी सन्दर्भमा जोड्दा, जापानका विभिन्न सदनका चुनाव भर्खरै सकिएका छन् । जापान शान्त, सुन्दर र सभ्यताले बनेको देश हो । यहाँ संसारको भन्दा अब्बल संस्कृति राजनीतिमा पनि पाइन्छ । जापानमा हरेक पटक चुनावमा सडकमा जनप्रतिनिधिले गर्ने भाषणमा होस् या ट्रेन स्टेसनतिर जनप्रतिनिधिले आफूलाई मतदान गर्न गर्ने अनुरोध होस्, सबै भिडरहित, शान्त र सभ्य हुने नै गर्दछ ।
अब कुरा आयो हामी नेपालीहरूको- हामी स्वभावैले केही भड्किलो पारा देखाउँछौँ, हामीमा कतै सम्पत्तिको उन्माद पनि आउँछ । केही समयअघि मेरा एक व्यवसायी मित्रलाई उनको शरीरमा पहिरिएको बहुमूल्य रत्नको बारेमा केही कुरा भएको थियो । मैले भनेँ, ‘जापानीहरू गरिब भएर होइन, यस्ता कुराहरूप्रति आकर्षण नभएर उनीहरू सुन-लगायतका गरगहना लगाउँदैनन्, हामी लगाउँछौँ, कुरा त्यति हो ।’
उनी भन्थे, ‘जापानीहरूसँग लगाउन त पैसा हुनुपर्यो नि ! भातै खान पुग्दैन, कर्मचारी भएर कसरी हामीजस्तो सुन लगाउन सक्नु ?’ म भन्थेँ, ‘जसको देशमा आएर हामीले दुई छाक जोर्न सहज बनाएका छौँ, त्यही देशका नागरिकहरूलाई यसरी भन्नु त भएन नि । करोडौँको गाडी चढेर हिँड्न सक्नेले जाबो दुई-पाँच तोलाको सिक्री लगाउन नसक्ला र ?’
हामीले सोच बदल्नुपर्छ। प्रसङ्ग चुनावकै थियो, एनआरएनएको चुनावमा देखिएका केही हल्लाखल्ला, केही भिडतन्त्रले जापानी सभ्य समाजलाई केही त बिथोलेकै छ भन्न सकिन्छ । हिजोआज आफू काम गर्ने कम्पनीमा पनि जापानीहरूले बारम्बार यस्ता नेपालीहरूका बारेमा सोधिरहन्छन् । केही समयअघि ओसाका एक्स्पोको कुरा सोध्थे, अहिले ‘किन रङ्गीचङ्गी भएर सडकमा नाराबाजी गर्छन् नेपालीहरू ?’ भन्ने प्रश्नैप्रश्न उब्जाएको छ नेपालीहरूमाथि यस्ता क्रियाकलापहरूले ।
नेपालीहरूलाई विकृतिका कुराहरू बारम्बार सोध्नु राम्रो कुरा हुँदै होइन । नेपालीहरूको अभिभावकत्व गर्नेहरूबाट आउँदा दिनहरूमा यस्ता कर्महरू सुधारियोस् । विजयी सम्पूर्ण टिमलाई शुभकामना ! नेपाल र नेपालीलाई सत्कर्मबाट चिनाउने प्रण गरौँ । यो सभ्य मुलुकमा आएका हामीहरू पनि सभ्य बन्ने प्रयास गरौँ । सबैलाई साधुवाद !
- मोहन खतिवडा -चिवा, जापान








