काठमाडौं – निजी क्षेत्रबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा एक उदाहरणीय कीर्तिमान कायम गर्दै भाटभाटेनी सुपरमार्केटले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)लाई करिब साढे नौ करोड रुपैयाँ लागतको अत्याधुनिक भवन उपहार दिएको छ । अस्पतालको ४३औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भाटभाटेनीका अध्यक्ष मीनबहादुर गुरुङले ‘ईएचएस’ भवन अस्पताल प्रशासनलाई हस्तान्तरण गरे ।
अध्यक्ष गुरुङले आफ्ना दिवंगत मातापिता वृषबहादुर र धनमाया गुरुङको स्मृतिमा व्यक्तिगत लगानीमा ९ करोड ५० लाख रुपैयाँको लागतमा यो भवन निर्माण गरिदिएका हुन् । यो भवन निर्माणसँगै भाटभटेनीले शिक्षण अस्पताललाई दिएको यो दोस्रो ठूलो भौतिक पूर्वाधार सहयोग हो । यसअघि वि.सं. २०६८ सालमा पनि भाटभटेनीले १० करोड रुपैयाँको लागतमा अस्पतालको आकस्मिक कक्ष भवन निर्माण गरिदिएको थियो ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले अस्पतालको आवश्यकता र बिरामीको सेवा विस्तार गर्ने उद्देश्यले आफूले पुनः सहयोग गरेको बताए । उनले भने, ‘२०६८ सालमा आकस्मिक कक्षको आवश्यकता थियो, हामीले बनायौँ । अहिले अस्पताललाई थप सेवाका लागि भवन चाहिएको थाहा पाएपछि हामीले यो नयाँ भवन निर्माण गरेर हस्तान्तरण गरेका हौँ ।’
उनले भाटभटेनी राष्ट्र र जनताको सेवामा सधैँ अग्रपङ्क्तिमा रहने प्रतिबद्धता व्यक्त गरे । ‘हामी राष्ट्रबाट केही पाउने आशा नराखी, स्वच्छ मनले देश र जनताको सेवा गर्न सधैँ तयार छौँ,’ गुरुङले भने ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले धन आर्जन गर्नेहरू धेरै भए पनि समाजका लागि दान गर्ने मन कमैको हुने बताउँदै गुरुङ दम्पतीको परोपकारी भावनाको प्रशंसा गरे । ‘यो औधी खुसीको कुरा हो। दानवीर भनेर चिनिएका मीनबहादुरजी र सावित्रा गुरुङजीले सम्पूर्ण नेपाली जनताको स्वास्थ्योपचारमा पहुँच पुगोस् भन्ने पवित्र उद्देश्यले अर्को महत्त्वपूर्ण दान गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईका अनुसार नवनिर्मित भवनबाट अस्पताल समय (नियमित ओपीडी) भन्दा पछाडिको विस्तारित स्वास्थ्य सेवा (ईएचएस) र परीक्षण सेवाहरू सञ्चालन गरिनेछ ।








