Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

आत्मा जागृत भएपश्चात् नै मानिसभित्र नवजीवनको सञ्चार हुन लाग्छ । उसको जीवन मीमांसा बदलिन्छ र ऊ कर्ममा प्रवृत्त हुन्छ । जहाँ उसलाई माथि उठ्ने अवसर मिल्दछ, त्यहाँ उसको आत्मा शान्त हुन जान्छ ।
अधिकांश मानिस यस्ता हुन्छन्, जो आफ्नो शक्तिलाई नचिन्नाका कारणले भन्दछन्, यदि मसित मार्शल, रुजवेल्ट जस्ता महान् व्यक्तिहरूको जस्तै शक्ति हुन्थ्यो भने म सबैभन्दा अगाडि हुन्थे । यदि मलाई आफ्नो शक्तिको बारेमा थाहा हुन्थ्यो भने म हरप्रकारले त्यसलाई सिद्ध गर्ने प्रयास गर्नेथें ।
तर प्रश्न यो उठ्दछ कि कसैलाई आफ्नो शक्तिको विषयमा कसरी थाहा हुन्छ ? ऊ आफुभित्र त्यो शक्ति राख्दैन, जुन संसारको महान् आत्मामा पाइएका छन् । यदि तपाई आफ्नो शक्तिको परीक्षण गर्नहुन्छ भने तपाईको शक्तिको सीमाको अन्दाज कसरी हुनेछ ? वास्तवमा प्रत्येक व्यक्तिको कर्तव्य यो हो कि उसले अरूको शक्ति देखेर आफ्नो शक्तिको परीक्षण गर्नुपर्दछ । मित्र त्यो शक्ति रहेको पनि हुन सक्छ ।
जो व्यक्ति अरूको शक्ति हेर्नमा आफ्नो अमुल्य समय नष्ट गर्दछ ऊभित्र ईर्ष्या र द्वेष विषालु भावना पलाउँदछ, जसले उसको जीवनलाई नष्ट गरिदिन्छ । दोस्रोको शक्ति देखेर उसको आलोचना अथवा प्रशंसा गर्नुभन्दा आफ्नो अमूल्य समयलाई आफ्नो शक्ति खोज्न र आफूभित्र अलग पहिचान बनाउनमा लाग्नु नै श्रेयकर हुन्छ ।
संसारमा यस्ता अनेक स्त्री पुरुष छन्, जसले विभिन्न क्षेत्रमा त कमाएका हुन्छन् । जब उनीहरूले साधारण जीवन बिताइरहेका थिए, उसले विश्वास गर्दथ्यो कि हाम्रो छिमेकमा रहने पुरुष अथवा महिलाले यति नाम कमाउने छन् ? हेर्दा त सबै छिमेकी एक समान नै लाग्दछ । तिनीहरूमध्ये केही यस्ता हुन्छन्, जो आफ्नो जीवनलाई संघर्र्षले सार्थक बनाउँछन् । कतिपय यस्ता पनि हुन्छन्, जो सडकमा बरालिएर हिंड्ने ठूल्ठूला कुरा गर्ने र अरूको निन्दा एवम् आलोचना गर्ने कार्यमा आफ्नो जीवनको एकएक क्षण नष्ट गरिदिन्छन् ।
फिलिप्स बुक्सका अनुसार ‘जब मानिसलाई यो थाहा हुन्छ कि ऊ केवल आधा जिन्दगी बाँचिरहेको छ, तब ऊ आफ्नो आधा जिन्दगीप्रति सन्तुष्ट हुँदैन, तबसम्म सङ्घर्षशील रहिरहन्छ, जबसम्म उसलाई अर्को आधा जिन्दगी प्राप्त हुँदैन । यसप्रकार खोज्नाले एक दिन अवश्य नै त्यो जरुर आउँछ, जब उसलाई आफ्नो शक्तिको आभास हुन जान्छ र उसले निश्चय गर्दछ कि अब उसले कहिल्यै शक्तिहीन जीवन बिताउने छैन ।‘
प्रत्येक मानिसभित्र सिंह सुतेको हुन्छ, उसले केवल त्यसलाई जगाउन आवश्यक हुन्छ । जब मानिसलाई आफ्नो शक्ति थाहा हुन्छ, तब उसले भेडाको जस्तो जीवन बिताउन किन बाध्य हुनेछ ? आत्मजागरणका लागि मानिसले आफूलाई राम्ररी नियाल्नु जरुरी हुन्छ । जब ऊभित्रको आत्मा जागृत बन्दछ तब उसको पराक्रम र योग्यता स्वत बढ्न थाल्दछ र उसले आफुले चाहेअनुसार कुनै पनि कार्य गर्न सक्षम हुन्छ । तब ऊभित्रको आलस्यता र निराशा हटेर जान्छ ।
वास्तवमा आफ्नो शक्तिको पहिचान गर्नु जीवनको सबैभन्दा कठीन पक्ष हो । मानिसभित्र असीमित शक्ति मौजुद छ, तर ऊ स्वयंलाई असहाय वा दुर्बल सम्झिन्छ । यदि मानिसले स्वयंलाई जान्न सक्यो भने उसले सारा समस्याको हल एक दिनमा नै गर्न सक्दछ ।
मानिसले प्राकृतिक गुणको विकासमा जुन अवसर सहायक सिद्ध हुन्छ, त्यसलाई खोज्नुपर्दछ । यदि कोही युवकलाई सङ्गीतप्रति लगाव छ भने उसले सङ्गीतको शिक्षा लिनु अनिवार्य हुन्छ । यसबाट ऊ एक दिन एक महान् सङ्गीतज्ञ बन्न सक्दछ । कुनै महान लेखकले भनेका छन्, ‘मानिसको मस्तिष्क त अहिले वाल्यवस्थामा नै छ । विकासशील छ र जब यो सत्य हो भने भविष्यमा हामी केवल संसारको अनन्त भण्डारलाई मात्र होइन बरु आफ्नो शक्तिको पहिचान पनि गर्न जरुरी छ ।‘
जब मानिसले आफूलाई चिन्न थाल्दछ, त्यो क्षण नै उसको आश्चर्यजनक क्षण सावित हुन्छ । जब उसलाई आफ्नो दिव्य शक्तिको बारेमा थाहा हुन्छ, तब उसले आफ्नो शरीरमा परमात्माको साक्षात्कारको अनुभव गर्न थाल्दछ । मानिसका लागि त्यस क्षणभन्दा ठूलो कुनै क्षण हुँदैन जबकि उसले आफ्नो शक्तिलाई पहिचान गरेर कार्य गर्न तयार हुन्छ । मानिसले आफूभित्र जति शक्तिको अनुमान लगाउँछ, त्यो भन्दा धेरै गुणा शक्ति ऊभित्र निहित रहेको छ । उसमा धेरै कुरा गर्न सक्ने क्षमता हुन्छ । तर उसले आफ्नो शक्तिलाई चिन्न आवश्यक हुन्छ । आफ्नो शक्तिप्रति सन्देह गर्नु सबैभन्दा ठूलो मूर्खता हुन्छ ।
संसारका असफल व्यक्तिहरूको असफलताको कारण यही हो कि उनीहरू आफ्नो शक्तिप्रति सदैव शङ्का गर्दछन् । सन्देहको कारण उनीहरू आफ्नो जीवनको महत्वपूर्ण कार्य गर्नमा असमर्थ हुन्छन् । मानिसले महान् बन्नका लागि आफूभित्रको शक्तिलाई जगाउन आवश्यक छ । यदि हामीले आफ्नो प्रयत्न जारी राखी आत्मविश्वास जगाइराख्दछौं भने हामी अवश्य नै सफल मानिस बन्न सक्षम हुन्छौ । प्रकृतिले हामीलाई महान् बन्ने सबै गुण दिएका छन् । जुन गुण लिङ्कन, ग्ल्याडस्टोन, फिलिप बुक्स आदिमा थियो । हामी परम शक्तिको स्रोतको स्वामी हौं । हामी प्रयत्न गर्दछौं भने यसको अंश मात्र होइन, बरु यसको अङ्ग नै बन्न सक्नेछौं । यसमा दुईमत छैन ।
विलियम जेम्सको भनाइअनुसार– ‘हामीमध्ये प्रत्येकमा यस्तो शक्ति छ, जसको हामी कल्पना पनि गर्न सक्दैनौं । वैज्ञानिकले त्यस प्रकारको एक्सरेको विकास गर्‍यो, जसले मानिसको भित्र शक्तिको प्रदर्शन गर्न सक्दछ भने हामीलाई आफ्नो शक्तिमा स्वतः विश्वास हुनेछ । मानिसले आफ्नो शक्तिको अनुमान कहिल्यै गरेन । यदि उसलाई अनुमान भयो भने उसले भन्नेछ कि उल्लेखनीय सफलताको खुबी त अरू कसैको हुन सक्दछ, जसले यसमा विशेषता प्राप्त गरेको छ, मभित्र कसरी हुन सक्छ, म त अत्यन्त साधारण मानिस हुँ ।‘
मानिस संसारमा आफ्नो गरिमामय स्वरुपलाई भुलेर यस्तो व्यवहार गर्न थाल्दछ, मानौ उसको स्वरुप यस संसारमा नगन्य छ । तर यस्तो एक दिन त अवश्य आउनैपर्दछ, जब उसलाई आफ्नो महत्व थाहा होस् । र, उसले आफ्नो प्रयासले जीवनको उच्च शिखरमा पुग्ने प्रयत्न गर्न आरम्भ गरोस् । ऊभित्र रहेको महान् शक्तिलाई पहिचान गर्ने र त्यसलाई कसरी उपयोग गर्ने भन्ने एक विकट समस्या हो । जीवनमा सफलता या असफलता यो कुरामा निर्भर गर्दछ कि हामीसित त्यसका लागि के के साधन थियो र यो पनि महत्वपूर्ण छ कि हामीले आफ्नो सम्भावनालाई कार्यरुप दिने कस्तो प्रयत्न गर्‍यौं ?
आजको जीवनदर्शन पनि यही नै हो कि कुनै बाहिरी शक्तिमा भरोसा गर्नुपूर्व तपाई आफ्नो भित्री शक्तिमा भरोसा गर्नुहोस् । यदि आफ्नो इच्छा, आकांक्षा र कामनालाई पूर्ति गर्न चाहनुहुन्छ, संसारमा यदि महान् मानिसको पक्तिमा आफ्नो नाम दर्ता गराउन चाहनुहुन्छ भने केवल एकै कुरामा ध्यान दिनुहोस् – त्यो हो आफूलाई नै साक्षात्कार गर्नु ।
यस संसारमा भगवानले कसैलाई व्यर्थ पैदा गरेका छैनन् । प्रत्येक कुरा, प्रत्येक वस्तु, प्रत्येक जीवजन्तुको केही न केही महत्व हुन्छ नै । अरू प्राणीभन्दा मानव सर्वश्रेष्ठ छ । ऊ बुद्धिमान छ, विवेकशील छ । मानिसमा जुन प्राकृतिक गुण छ, उसले त्यसलाई विकसित गर्ने प्रयासमा लागिरहनुपर्दछ । जो प्रयास गर्दैन, ऊ अगाडि बढ्न सक्दैन ।
मानिसले आफुभित्रको शक्तिलाई बेलैमा चिन्न सक्ने हो भने धेरै कुराहरु गर्न सक्दछ । प्रत्येक व्यक्तिमा धेरै उन्नति गर्न सक्नेै क्षमता हुन्छ । यसैका लागि मानिस अगाडि बढिरहेको छ । उसको उन्नतिको सबैभन्दा ठूलो रहष्य उसको आत्मनियन्त्रण शक्ति नै हो । आफ्नो यसै शक्तिको तागतले उसले लगातार अदभूत कार्य गरिरहेको छ । धेरै मानिसहरु आफ्नो जीवनमा महान् उन्नति गरिरहेका छन् । मानिसको साथमा एउटा यस्तो शक्ति रहेको छ, त्यो हो आत्मनिर्णय र आत्मनियन्त्रण क्षमता । यहि शक्तिका कारण मानिसले समस्त प्रकृतिलाई वशमा राख्न सफल भएको छ र लगातार अन्य सबै शक्तिमाथि अधिकार जमाउन सकेको छ । त्यस व्यक्तिलाई सबै कुरा प्राप्त हुन्छ जसले आफुमा भएको शक्तिलाई चिन्न सक्दछ । मानिस मात्र विश्वमा आत्म नियन्त्रण गर्न सक्ने क्षमता भएका प्राणी हो जुन गुण अन्य प्राणीमा छैन । मानिसभित्र रहेको शक्ति कै कारण उसले आफ्नो मनलाई वशमा राख्न सक्दछ भने त्यसमाथि नियन्त्रण गर्न थाल्दछ । (दीपेन्द्र शाहद्वारा पुस्तकबाट अनुवादित )

तपाईको प्रतिक्रिया