Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो । अद्धितिय प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ । विशेषतः प्राकृतिक सुन्दरता, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक साँस्कृतिक तथा पुरातात्विक सम्पदा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका सम्पदा हुन् । पछिल्ला वर्षहरूमा वाह्यसँगै आन्तरिक पर्यटनमा देखिएको उत्साहजनक वृद्धिले नयाँ आशा जगाएको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सुनाए । उनले परम्परागत प्रचार शैलीलाई परिमार्जन गर्दै डिजिटल प्रविधि र सामाजिक सञ्जालको अधिकतम उपयोगमार्फत लक्षित बजारसम्म पुग्ने रणनीति लिएको उनी बताउँछन् । पर्यटनको अवस्था, चुनौती र पर्यटन प्रवर्द्धनका ठोस योजनालगायतका विषयमा सीईओ जोशीसंग समुद्रपारि लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

पर्यटन बोर्डले कस्ता योजनाहरूलाई बढी प्राथमिकतामा राखेर काम गरिहेको छ ?
पर्यटन सेक्टर आफैमा वास्तवमा बहुआयामिक सेक्टर छ र थुप्रै अरू सेक्टरहरूसंग यसको सम्बन्ध रहेको हुन्छ । एक्लै पर्यटनले आफैले मात्र गरेर, आफैले धेरै प्रभाव पार्न सक्ने हुँदैन । अरू क्षेत्रहरूसँग पनि त्यत्तिकै अन्योन्याश्रित सम्बन्ध पर्यटनको हुन्छ । त्यो हिसाबले पनि हाम्रा इन्गेजमेन्टहरू धेरै हुन्छन् । मुख्य गतिविधिहरू हामीले गर्दाखेरि आजका दिनमा नेपालका यो आकर्षक पर्यटकीय गन्तव्यहरू अथवा गतिविधिहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार-प्रसार गर्ने, ताकि त्यसले बढीभन्दा बढी गुणस्तरीय पर्यटकहरू नेपाल आउनका लागि एउटा वातावरण सिर्जना गरोस् । अर्को के छ भने थुप्रै लगानीहरू भइरहेको हुन्छ नेपालमा । त्यो व्यवसाय गर्नेहरूको व्यावसायिक प्रर्वद्धन पनि हामीले गर्न सकौं, त्यसले गर्दा उहाँहरूको बिजनेस सस्टेन होस् । र साथसाथै, देशभित्र पर्यटक-मैत्री वातावरण बनाउने काममा पनि हामीले सहजीकरणको भूमिका खेलिरहेका हुन्छौं ।

भनेपछि पोलिसीदेखि कार्यान्वयनसम्म सबै कामहरूमा केही न केही भूमिका हुन्छ, होइन त ?
हो, हामी भर्खरै बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट, हिमालय ट्राभल मार्ट, सफारी मार्ट गरेका छौं । यस्ता मार्टहरू चाहिँ वास्तवमा पर्यटन प्रवर्धन र पर्यटन शोकेसका लागि एकदमै प्रभावकारी प्ल्याटफर्महरू हुन् । विगतमा पनि हेर्‍यौं भने, सञ्चारका विभिन्न सहरहरूमा, ठूल–ठूला सहरहरूमा यस्ता ठूल–ठूला मार्टहरू हुन्छन्, जहाँ चाहिँ हामी गएर पार्टिसिपेट गर्ने गर्छौं । नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका कम्पनीहरूलाई लिएर, होटेल, ट्राभल, एयरलाइन्स जस्ता कम्पनीहरूलाई लिएर हामीले सहभागिता जनाउने गर्छौं । नेपालमै इभेन्ट्सहरू गर्‍यौं भने विदेशीहरू नेपालै आउने, नेपाल हेर्न पाउनुहुने, हेर्दाखेरि चाहिँ आफै झन् कन्भिन्स हुनुहुने र उहाँहरू यहाँ आउँदाखेरि हाम्रो बिजनेस कम्युनिटीलाई पनि धेरै खर्चिलो नहुने भएर हामीले यस्तो अवधारणामा यो अगाडि बढाएका छौं । अहिले जस्तो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट भनेर जुन हामीले सुरु गर्‍यौं, यसको अहिले एकदमै रेलेभेन्ट कन्टेक्स्ट के छ भने, भैरहवामा हाम्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । त्यसलाई पर्यटनसँग हामीले त्यति धेरै, त्यति बृहत् हिसाबले जोड्न सक्या छैनौं । अब बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट भनेर हामीले जोड्न सक्यौं भने, बुद्ध फेरि आज आफैमा एउटा धर्मभन्दा पनि एउटा फिलोसोफी, दर्शनका हिसाबले अगाडि आएको छ । र नन–बुद्धिस्टले पनि बुद्धिज्मलाई चाहिँ त्यत्तिकै धेरै अपनाइराख्नुभएको छ । खासगरी लुम्बिनी गेटवे टु बुद्धिस्ट सर्किट । बुद्धिस्ट सर्किटको एउटा प्रवेशद्वार नेपालबाटै सुरु होस् भन्ने पनि एउटा हाम्रो उद्देश्य छ । यो सुरु गरेका छौं ।

यसमा कति देशका सहभागी हुनुहुन्थ्यो ?
यसमा चाहिँ करिब–करिब १६ देश, विभिन्न गरेर १६ देशका ६२ जना विदेशी बायर भन्छौं हामी, जो चाहिँ ट्राभल एजेन्ट्स हुनुहुन्छ, टुर अपरेटर्स हुनुहुन्छ र केही स्पिकर्सहरू हामीले बोलाएका थियौं । हिमालयन ट्राभल मार्ट पनि हामीले किन सुरु गरेका हौं भने, यो यही हाम्रो रिजनमा, हिन्दुकुश रिजनमा पनि ५-७ वटा कन्ट्रीमा हिमालयन रिजन पर्छ । हिमालय आफैमा पनि अब आठ वटाभन्दा बढी सर्वोच्च शिखरहरू नेपालमा भएको, त्यसै पनि महत्वपूर्ण कुरा हो । जहाँ चाहिँ एड्भेञ्चर, माउन्टेन टुरिज्म, क्लाइमेट, कन्जरभेसन यस्ता चिजहरू चाहिँ हाइलाइट गरिन्छ । महत्वपूर्ण इस्युहरूमा हामी डिस्कोर्स पनि चलाउँछौं । माउन्टेनहरू कसरी चाहिँ सेभ गर्ने, कसरी चाहिँ यसलाई प्रचार गर्ने भन्ने कुराहरूमा । र अर्को पक्ष हामीले उजागर गर्न खोजेको के छ भने, नेपालका हिमालहरू आजसम्म यत्रो हाम्रो छ–सात दशकको अनुभव पनि हेर्ने हो भने, त्यो चाहिँ साहसिक गतिविधिसँग मात्रै जोडिएर अगाडि आएको छ । हाम्रो माउन्टेनहरूको स्पिरिचुअल भ्यालु पनि त्यत्तिकै छ । त्यस्ता पक्षहरू पनि उजागर हुनुपर्छ । माउन्टेन सँस्कृति पनि उजागर हुनुपर्छ भनेर हामीले लाइफ टाइम एक्सपेरियन्सको थिममा वाइल्डलाइफ, कल्चर, हेरिटेज, फेस्टिभल्स, फुड पनि माउन्टेनको साथसाथै अगाडि बढाउनका लागि यस्ता इभेन्टहरू क्युरेट गरेका हौं ।

त्यो सफारी मार्टको मोडालिटीबारे पनि स्पष्ट पारिदिनुस् न ?
अहिले पछिल्लो दिनमा, खासगरी कोभिडपछि संसारभरि हामीले हेर्‍यौं भने, यो नेचर–बेस्ड टुरिज्म, प्रकृति-मैत्री पर्यटन चाहिँ एकदम धेरै चासोको विषय भएको छ । अलिकति म एउटा सानो डाटा सेयर गर्न चाहें । २५-३० वर्ष अगाडि हामीले हेर्‍यौं भने संसारभरिमा करिब-करिब ३०-३५ प्रतिशत सहरी जनसंख्या, बाँकी ग्रामीण जनसंख्या हो । अहिले त्यो ५० प्रतिशत हाराहारीमा छ र अबको २५-३० वर्षमा ७० प्रतिशत सहरी हुन्छ, ३०-३२ प्रतिशत मात्रै ग्रामीण हुन्छ । जति–जति यो सहरी जनसंख्या बढ्दै छ, त्यति–त्यति यो प्रकृति-मैत्री पर्यटनको चाहना, चासो चाहिँ बढ्दै गएको हामी पाउँछौं । नेपालको हेर्ने हो भने १२ वटा नेसनल पार्क, ६ वटा कन्जरभेसन एरियाजहरू, करिब-करिब १६ हजारभन्दा बढी हाम्रो कम्युनिटी फरेस्टहरू, यी सबैले गर्दाखेरि त्यस्तो खालको पर्यटनको ठूलो सम्भावना छ र भविष्यमा अझ धेरै त्यसको सम्भावना छ भने आजैदेखि किन सुरुवात नगर्ने भनेर पहिलोपल्ट हामीले सफारी मार्ट, जंगल सफारी मार्ट भनेर सुरु गर्दैछौं । यसको सुरुवात चितवनबाट हुन्छ र विभिन्न ठाउँमा जान्छ । अर्को पल्ट हामी बर्दियामा पनि त्यसरी चाहिँ त्यसलाई लैजान्छौं ।

आन्तरिक पर्यटन बढ्नुले टुरिज्मको भविष्यलाई केही हदसम्म सुरक्षित गर्ने या उज्यालो बनाउने कोसिस गरेको छ ?
निश्चित रूपमा छ । वास्तवमा फेरि पनि यो विगत ५० वर्षको हामीले यो संसारकै पर्यटनको ग्रोथ रेट हेर्‍यौं भने, केही एकदमै कम उद्योगहरू मध्येको एउटा उद्योग हो पर्यटन क्षेत्र, जुन चाहिँ निरन्तर वृद्धि भइरहेको उद्योग हो यो । बढ्या–बढ्यै छ, अब पहिला धनी देशका मात्र घुम्ने हुन्थ्यो भने अहिले जुनसुकै देशका मान्छेहरू पनि घुम्न निस्कने हुनुभएको छ । यो एक खालको डेली नेसेसिटी जस्तो भएको छ, घुम्न जाने सँस्कृति । पछिल्लो दिनमा केही नेपाली पर्यटकहरू जाँदै गर्दा कतिपय ठाउँमा रेस्पोन्सिबल बिहेभियर होइन कि जस्तो देखिन्छ । जस्तो, प्लास्टिक, क्यानहरू, चकलेटहरू, चाउचाउको उनीहरू, यस्तो चिजहरू चाहिँ ट्रेकिङ ट्रेलहरूमा त्यो बढ्दै गएको पाउँछौं । त्यो अलिकति उत्तरदायी पर्यटकको व्यवहार भएन । सबैको छैन, केही एकदमै राम्रो अन्तर्राष्ट्रिय लेभलकै पनि हुनुहुन्छ । तर केही सेग्मेन्टमा त्यो पनि देखिएको छ । त्यहाँतिर हामीले अलिकति सचेत हुनुपर्ने पनि देख्छौं ।

पर्यटन प्रवर्धनका लागि बोर्डले डिजिटल प्लेटफर्मको प्रयोग कसरी गरिरहेको छ ?
हामीले अहिले भारत र चीन जस्ता ठूला बजारमा लक्षित डिजिटल प्रमोसनका लागि छुट्टै बजेट विनियोजन गरेका छौं । ट्रिपएडभाइजर, मेकमाईट्रिप, सिट्रिपजस्ता अन्तर्राष्ट्रिय बुकिङ प्लेटफर्म र ट्राभल एग्रिगेटरहरूसँग सहकार्य बढाउँदैछौं । साथै, हामीले ‘गर्मी से बेहाल, चलो नेपाल’ जस्ता सफल अभियानहरूलाई पुनः सुरु गरेका छौं, जुन राइडर एप्स (जस्तैः उबर ओला) मार्फत प्रचार गरिन्छ । यसले गर्दा कम खर्चमा प्रभावकारी रूपमा नेपालको सन्देश पुर्‍याउन सकिन्छ । हामीले हाम्रा दूतावास र विदेशस्थित नेपाली डायस्पोरा, नेपाली रेस्टुरेन्टहरू जस्ता च्यानलहरूलाई पनि प्रवर्धनका लागि उपयोग गरिरहेका छौं ।

नेपालको पर्यटन क्षेत्रमा एआईको प्रयोग र सम्भावना कस्तो देख्नुहुन्छ ?
हामीले २०१८ मा नै ट्रिपएडभाइजरसँग मिलेर एआईको प्रयोग सुरु गरेका थियौं । त्यतिबेला यदि कसैले ‘हिमालय’ वा ‘ट्रेकिङ’ भनेर खोज्दा पेरु वा न्युजिल्याण्डको सट्टा नेपालको जानकारी अगाडि आउने व्यवस्था मिलाइएको थियो । अहिले एआईको प्रभाव झनै बढेको छ । अब हामीले यो प्रविधिलाई दुई तरिकाले प्रयोग गर्ने योजना बनाएका छौंः पहिलो, नेपालका गन्तव्य र गतिविधिहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न र दोस्रो, हाम्रो निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्न । यसले उनीहरूलाई प्रतिस्पर्धी बन्न मद्दत गर्नेछ ।

नेपालको पर्यटनलाई अझै फराकिलो बनाउन ‘लाइफ टाइम एक्सपेरियन्स’को अवधारणा अघि सारिएको छ, यसको अर्थ के हो ?
विगत ६०-७० वर्षदेखि अन्तर्राष्ट्रिय पर्यटनमा हाम्रो अनुभव भए पनि नेपालको छवि पर्वतीय र साहसिक गन्तव्यमा मात्र सीमित भयो । अब हामी यो छविलाई फैलाउन चाहन्छौं । ‘लाइफ टाइम एक्सपेरियन्स’ को थिम अन्तर्गत हामीले नेपालमा जीवनभरका लागि अविस्मरणीय अनुभवहरू छन् भनेर प्रचार गर्दैछौं । यसमा कल्चर, हेरिटेज, फेस्टिभल, वन्यजन्तु, खाना र योग–ध्यान जस्ता आध्यात्मिक पर्यटनलाई विशेष जोड दिएका छौं । यसका लागि हामीले विभिन्न जात्राहरूलाई समेत पर्यटकीय उत्पादनको रूपमा विकास गर्दैछौं । जस्तै, सेतो मच्छिन्द्रनाथको जात्रामा विदेशी कूटनीतिज्ञ र टुर अपरेटरहरूलाई सहभागी गराएर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास सुरु गरेका छौं ।

अन्त्यमा, कुनै पनि सेवाग्राही होस् या पर्यटक पर्यटन बोर्डसँग सम्बन्धित कुन ठाउँमा सम्पर्क गर्न सक्नुहुन्छ ? के–के सहयोग पाउनुहुन्छ ?
हामीलाई सम्पर्क गर्ने टुल चाहिँ अब हाम्रो भृकुटीमण्डपमा अफिस छ, फिजिकल पनि धेरै आउनुहुन्छ । तर फिजिकल्ली आइराख्न जरुरी छैन । हामीले अहिले यो बजेटका लागि, जो आउने वर्षको बजेट छ, त्यसका लागि हामीले प्रपोजल आह्वान गर्दा पनि डिजिटल्ली नै गरेका छौं । उहाँहरूले त्यो आफ्नो प्रपोजलहरू सबमिट गर्न सक्नुहुन्छ, केही आइडियाजहरू छन् भने सेयर पनि गर्न सक्नुहुन्छ । ती प्ल्याटफर्महरू छन् । हाम्रो कतिपय यो सोसल साइट्सहरू, सोसल मिडिया प्रमोसनका साइट्सहरू पनि छन् । त्यहाँ पनि कतिपय गेस्टहरूले अथवा त्यो युजरहरूले त्यहाँ कन्सर्न राख्नुहुन्छ । त्यसका पनि हामीले रिप्लाई गर्ने गर्छौं । र अब फोन र इमेल त छँदैछ ।

तपाईको प्रतिक्रिया