
मानव सभ्यताको विकासक्रम अहिले एआइ अर्थात आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम वौद्धिकता) को बहस गर्ने ठाउँमा आईपुगेको छ । पृथ्वीबाहेक अन्य ग्रहमा समेत मानवबस्तीको चर्चा चल्न थालेको धेरै भईसकेको छ । हामी भने अझै जातिय, छुवाछुत र भेदभावको मुद्दामा अल्झिरहेका छौं । विकास र समृद्धिको झिनो आशाको त्यान्द्रो देखाएर टाँठाबाठाहरु अझै राजनीतिको रोटी सेकिरहेका छन्, हामी भने हरितन्नम् भएर उनैलाई पत्याईरहेका छौं । हुन त हाम्रो समाजको चित्रअनुसार चेतना र चेतनाको स्तर अनुसार चिन्तन र मन्थन हुनु स्वभाविकै हो । हामी कम्प्युटर साक्षरताको एउटा कोर्स नै उत्तीर्ण नगरी सिधै डिजिटल युगमा घिस्रेरै भएता पनि इन्जोय गरिरहेका छौं । डिजिटल साक्षरताको प्रतिशत हेर्दा सन्तोष गर्ने ठाउँमा नभए पनि नेपालीहरुको हातहातमा अहिले स्मार्ट फोन छ । स्मार्ट फोन चलाउनका लागि दिमाख पनि स्मार्ट नै हुनुपर्ने हो । हाम्रो जस्तो पछौटे नेपाली समाजका लागि समयभन्दा अगावै उपलब्ध सूचना र प्रविधिका अनेकन सुविधा एवं डिजिटल प्लेटफर्म कति लाभदायक र कति हानीकारक भईरहेका छन् यो अर्को छलफलको विषय हुनसक्छ । जानेर वा नजानेर डिजिटल प्लेटफर्मको प्रयोग गर्दै आईरहेको आजको डिजिटल पुस्ताले समाज परिवर्तनको अग्रगमनतर्फ डोर्याउनुपर्ने हो तर त्यो छनक देखिदैन । सित्तैमा, सजिलै, बिना परिश्रम र बिना अध्ययन उपलब्ध सुबिधाको अत्यधिक बेप्रवाह प्रयोगले नेपाली समाज थोरबहुत उत्ताउलो भएको छ भने थोरबहुत चोथाले र कुरौटै भएको छ ।
तथ्य र प्रमाण बिना एकले अर्कोलाई दोषी करार गर्न होस् या धारावाहिक महावाणी संप्रेषण गरेर आफुलाई महान् विद्वान सावित गर्न होस् डिजिटल प्लेटफर्म अहिले एउटा गतिलो हतियार बनेको छ । तथापि यसका सकारात्मक पक्षका नालीबेली पनि यथेष्ट छन् । संसारभरि छरिएर रहेका नेपालीहरुबीच सम्पर्क सूत्र र नेटवर्किङमार्फत अध्ययन, अनुसन्धानदेखि व्यवसायिक गतिविधि सञ्चालन गर्न सहज बनाईदिएको छ । सूचना आदानप्रदानमा त यसले क्रान्ति नै ल्याईदिएको छ । पाठकले समाचार खोज्दै हिड्ने जमानाबाट समाचारले पाठकको हात–हातमा जनाउघण्टी दिने जमानामा हामीलाई उभ्याईदिएको छ ।
यति भन्दैगर्दा हामी आफुले आफुलाई समयअनुसार कत्तिको अपडेट गर्न सक्यौं वा चाह्यौं यो महत्वपूर्ण प्रश्न हो । डिजिटल सुविधाले ‘आलु खाएर पेंडाको धाक लगाउने जमात’ त तयार गर्दै छैनौ भन्नेतिर पनि सोच्नुपर्ने बेला आएको छ । सजिलै उपलब्ध भएको सुविधा उपभोग गर्ने ठाउँमा जब मानिस पुग्छ अनि उसले अहिलेसम्म गर्दैआएको कर्म चटक्कै छोडिदिन्छ अनि अल्छि बन्छ । परिणामस्वरुपः हातले लेख्दै आएको अब कम्प्युटरमा लेख्ने भयौं अनि कलम बोक्न झ्याउ मान्न थाल्यौं । केही दशकअघिसम्म हुलाकमार्फत चिठीपत्रमा रमाउँदै आएका हामी अहिले इमेल चलाउन पनि झण्झटिलो लाग्न थालेको छ । छिटो, छरितो र तुरुन्ता तुरुन्तै चाहिने र हुनुपर्ने दुनियाँमा अभ्यस्त हुँदै गर्दा अब हामीलाई धैर्य गर्ने बानी पूरै हराईसकेको छ । पुस्तकका ठेली हेर्दै अब हामीलाई कहाली लाग्ने भईसक्यौं । पत्रपत्रिकामा प्रकाशित सन्दर्भ सामग्री तथा लेख–रचनाहरु नपढेरै अनुमान पढिदिन्छौं, अनि बखान गर्दै हिड्ने भएका छौं । मात्र ३० सेकेण्डको भिडियोमा देशदुनियाँका भएभरका खबरको अपेक्षा गर्ने हामी ओभर स्मार्ट भईसकेका छौं । मान्छेहरुको उमेरले हैन पछिल्ला प्रविधिसंगको उसको अभ्यस्तता र अपडेटले समाजमा उसको हैसियत मापन हुन थालेको छ ।
मानव सभ्यताको विकासक्रममा कटुवाल प्रथा, हुलाकीको चिठी, तीन शताब्दी अगाडिबाट सुरु भएको छापा पत्रकारिता यात्रा हुँदै रेडियो, टेलिभिजन, अनलाइन र अहिले सामाजिक सञ्जालको ब्यापक दबदबासम्म आईपुग्दा सूचना आदान प्रदानका लागि तात्कालिन समयको लोकप्रिय माद्यममा समाज अलि लामो समय अडिने गरेको देखिन्छ । पछिल्लो समयमा मानव जीवनका लागि मल्टी पर्पाेजका रुपमा सहयोगीसिद्ध बन्दै आएको एआइको उपादेयता पनि बढ्दो छ । त्यसलाई मानवहितमा ठीक ढंगले प्रयोग गरी डिजिटल युगको भरपुर उपयोग गर्न पनि हाम्रो नेपाली समाजमा डिजिटल साक्षरता बढाउन जरुरी देखिन्छ ।








