Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – कहिल्यै सोच्नुभएको छ, तपाईंले पिउने पेय पदार्थ राखेको कागजको कप पारदर्शी भैदिए कस्तो हुन्थ्यो ? पिउँदै गर्दा कतै कुनै किरा वा फोहोर पस्यो कि भनेर हेर्न सजिलो हुन्थ्यो । तर कागजका कप अपारदर्शी हुन्छन्, जसले गर्दा भित्र के छ भनेर देख्न सकिँदैन । अर्कोतर्फ, पारदर्शी प्लास्टिकका कपले हाम्रो सुन्दर पेयलाई त देखाउँछन्, तर तिनले निम्त्याएको प्रदूषणले हाम्रा सागर र महासागरहरूलाई निसास्सिरहेको छ ।

यी दुवै समस्याको समाधान खोज्दै जापानको एक प्रतिष्ठित अनुसन्धान संस्था, जापान एजेन्सी फर मरिन-अर्थ साइन्स एन्ड टेक्नोलोजी (JAMSTEC) का वैज्ञानिकहरूले एउटा चमत्कारिक समाधान निकालेका छन् । उनीहरूले यस्तो कागजको विकास गरेका छन्, जुन बाक्लो र बलियो मात्र छैन, सिसाजस्तै पारदर्शी पनि छ ।

के हो यो नयाँ आविष्कार?
यो वास्तवमा ‘सेलोफेन’ (Cellophane) बाट बनेको हो । सेलोफेन हेर्दा प्लास्टिकजस्तो देखिए पनि यो कागजजस्तै ‘सेलुलोज’ बाट बन्छ, जसकारण यो पूर्ण रूपमा बायोडिग्रेडेबल अर्थात् प्राकृतिक रूपमा कुहिने खालको हुन्छ । यसबाट बनेको कपलाई समुद्रमा चार महिनासम्म छाड्दा लगभग पूरै विघटन भएर जाने अनुसन्धानले देखाएको छ ।

सेलोफेन धेरै पहिलेदेखि नै बजारमा उपलब्ध भए पनि यसलाई पातलो तहमा मात्र उत्पादन गर्न सकिन्थ्यो, जसले गर्दा कपजस्तो बलियो वस्तु बनाउन असम्भव थियो । तर JAMSTEC का अनुसन्धानकर्ताहरूले यसलाई ०.३ देखि ०.७ मिलिमिटरसम्म बाक्लो बनाउन सफल भएका छन्, जुन पहिलेभन्दा १४ गुणा बढी हो। यो मोटाइले यसलाई कप बनाउन पर्याप्त बलियो र पानी नसोस्ने क्षमता प्रदान गर्छ ।

यो सफलतापछि आम जनताहरुले आफ्नो देशका अनुसन्धानकर्ताहरूप्रति आशा र गर्व व्यक्त गरेका छन्। केही प्रतिक्रिया यस्ता थिए:

  • संसारलाई यस्तै मानिसहरूले बचाइरहेका छन्, जसले हामीले सोच्न नसक्ने कुराहरू सोच्छन् ।

  • जब संस्थाहरूले उचित अनुसन्धानका लागि लगानी पाउँछन्, तब यस्तै नतिजा आउँछ ।

  • मलाई आशा छ कि यसले प्लास्टिकलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सकोस् ।

  • सुरुमा मलाई अचम्म लागेको थियो, समुद्री अनुसन्धानकर्ताहरूले यो काम किन गरे भनेर । तर उनीहरू समुद्रलाई जोगाउन चाहन्छन् । यो साँच्चै अद्भुत छ ।

  • यी मानिसहरूले संसारलाई राम्रो बनाउन काम गरिरहेका छन्।  जापानीहरू होइन, यस्ता व्यक्तिहरू महान् हुन् ।

एउटा ठूलो चुनौती
यति धेरै आशाहरूका बीच, एउटा ठूलो चुनौती पनि छ । JAMSTEC का अनुसार, यो सामग्री उत्पादन गर्न हालको प्लास्टिकभन्दा करिब १,००० गुणा महँगो छ । यो मूल्यले तत्कालै यसको व्यापक प्रयोगमा बाधा पुर्‍याउन सक्छ । तर, वैज्ञानिकहरू निराश छैनन् ।

उनीहरूका अनुसार प्लास्टिकले बजारमा धेरै पहिलेदेखि आफ्नो स्थान जमाइसकेको छ र यसको उत्पादन प्रविधि निकै सस्तो भइसकेको छ । यस नयाँ सेलोफेनको व्यावसायिक उत्पादनबारे थप अनुसन्धान भएमा- भविष्यमा यसको लागत घट्ने र यो प्याकेजिङ र अन्य क्षेत्रमा सामान्य बन्न सक्ने आशा भने जीवितै छ ।

तपाईको प्रतिक्रिया