टोकियो – जापानका स्नातकोत्तर तहका विद्यार्थीहरूले बालबालिकामा सामान्यतया देखिने ‘अर्थोस्टेटिक डिस्रेगुलेसन’ नामक समस्याको लक्षण सजिलै मापन गर्ने एक उपकरण विकास गरेका छन् । यो समस्याका कारण बालबालिकालाई बिहान उठ्न गाह्रो हुने र उभिँदा चक्कर लाग्ने जस्ता शारीरिक कठिनाइहरू हुन्छन् ।
नागोया विश्वविद्यालयको स्नातकोत्तर विद्यालयको टोलीले यो उपकरणमार्फत पीडितहरूलाई आफ्नो अवस्थाबारे स्पष्ट रूपमा जानकारी दिन मद्दत पुग्ने आशा व्यक्त गरेको छ । विशेषगरी, स्वास्थ्य अवस्थाका कारण कक्षा छोड्नुपर्दा यो उपकरण उपयोगी हुनेछ ।
जापानी सोसाइटी अफ साइकोसोमेटिक पेडियाट्रिक्सका अनुसार, यो समस्या किशोरावस्थामा बढी देखिन्छ। सामान्य लक्षणसहित यो समस्या जुनियर हाई स्कूलका करिब १० प्रतिशत विद्यार्थीहरूमा पाइन्छ । ‘ओडी चेकर’ (OD Checker) नाम दिइएको यो उपकरण लट्ठीजस्तो देखिन्छ । यसले बिरामीहरूलाई घरमै आफ्नो लक्षणको गम्भीरता मापन गर्न सघाउँछ र शरीरको तापक्रम नाप्ने थर्मोमिटरजस्तै स्पष्ट रूपमा परिणाम देखाउँछ ।
सुतिरहेको अवस्थाबाट उठेर उभिँदा औंलामा जडान गरिएको सेन्सरमार्फत यसले मुटुको चालमा आउने परिवर्तनलाई मापन ग र्छ। यही आधारमा रोगको गम्भीरता निदान मापदण्डअनुसार मूल्याङ्कन गर्न सकिन्छ ।
सन् २०२१ मा गठन भएको यो टोलीमा चिकित्सा र इलेक्ट्रोनिक्स पृष्ठभूमि भएका विद्यार्थीहरू सामेल छन् । टोलीका अनुसार, यो उपकरण विशेषगरी उठ्न गाह्रो हुनेहरूलाई सहयोग गर्न र चक्कर आएको पत्ता लगाउन डिजाइन गरिएको हो ।
टोलीका २६ वर्षीय नेता, केनसुके सुमिदा, आफैं पनि यो समस्याका पीडित हुन् । प्राथमिक विद्यालयमा पढ्दा उनी कहिलेकाहीँ बेहोससमेत हुने गर्थे । उनले आफ्नो यही अनुभवलाई सदुपयोग गर्न चाहेको बताए । उनले भने, ‘यस समस्याबारे मानिसहरूले बुझिदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । हामी हाम्रा गतिविधिहरूमार्फत सबैभन्दा पहिले यो रोगबारे जनचेतना फैलाउन चाहन्छौं ।’








