Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – हाल जापानभर माइकोप्लाज्मा निमोनिया तीव्र रूपमा फैलिरहेको छ, जसले जनमानसमा गम्भीर चिन्ता उत्पन्न गराएको छ । देशभरका स्वास्थ्य संस्थाहरूले संक्रमितको संख्या उल्लेखनीय रूपमा बढेको जनाएका छन्, जसले गर्दा जनस्वास्थ्य विज्ञहरुले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । यो सङ्क्रमणले बालबालिका र वयस्क दुवैलाई असर गरिरहेको छ त्यसैले यसको लक्षण, संक्रमणको माध्यम र रोकथामका उपायबारे बुझ्नु अत्यन्त आवश्यक छ ।

माइकोप्लाज्मा निमोनिया के हो ?

माइकोप्लाज्मा निमोनिया: Ycoplasma Pneumoniae नामक सूक्ष्म जीवाणुबाट हुने एक प्रकारको फोक्सोको संक्रमण हो । यो जीवाणु प्राणीजगतका सबैभन्दा साना जीवाणुहरू मध्ये एक हो । सामान्यतः निमोनिया Streptococcus Pneumoniae (जसलाई ‘न्युमोकोकल निमोनिया’ भनिन्छ) बाट हुने भए पनि, माइकोप्लाज्मा निमोनियालाई प्रायः‘वाकिङ निमोनिया’ पनि भनिन्छ, किनभने संक्रमित ब्यक्ति गम्भीर बिरामी महसुस नगरी काम वा विद्यालय जानसक्ने अवस्था रहन्छ । यही कारणले गर्दा धेरै संक्रमितले आफू बिरामी भएको थाहा नपाई अरूलाई सजिलै संक्रमित गर्न सक्छन् ।

यो कसरी सर्छ ?

माइकोप्लाज्मा निमोनिया प्रायः खोकी वा हाच्छिउँ गर्दा निस्कने स–साना थोपाहरु 

(Droplets) मार्फत सर्छ । साथै ढोका खोलेको ह्याण्डल, स्वीच, लिटको बटन, रिमोट कन्ट्रोल वा भाँडाकुँडा जस्ता सतहमा छुँदा पनि संक्रमण फैलिन सक्छ ।

यो दोहोरो सङ्क्रमण विधिका कारण हावाबाट र सतहमार्फत विद्यालय, अफिस, बस्ने स्थान तथा सार्वजनिक यातायात जस्ता भीडभाड युक्त र बन्द स्थानहरूमा तीव्र रूपमा फैलिन सक्छ ।

कस्तो खालको लक्षण देखिन्छ ?

सङ्क्रमण सुरुवातमा थकान र हल्का ज्वरोजस्ता सामान्य लक्षणहरू देखिन्छन् जसलाई धेरैले रुघाखोकी सम्झन सक्छन् । केही दिनपछि सुख्खा खोकी सुरु हुन्छ, जुन दुईदेखि तीन हप्तासम्म रहन सक्छ । अन्य लक्षणहरूमा टाउको दुख्ने, घाँटी दुख्ने, जाडोको महसुस हुने र कहिलेकाहीं हल्का छातीको असजिलोपन पनि हुन सक्छ । धेरै संक्रमित व्यक्तिहरू यी लक्षण हुँदाहुँदै पनि सामान्य रूपमा काममा जान गर्दछन् जसले गर्दा संक्रमण थप फैलने गर्दछ । 

यो अन्य निमोनियाभन्दा किन फरक छ ?

अन्य धेरै प्रकारका निमोनियाको तुलनामा, माइकोप्लाज्मा निमोनियाले बिरामीलाई अत्यन्त थला पार्दैन । अन्य निमोनियामा जस्तो उच्च ज्वरो, छातीको तीव्र दुखाइ वा अत्यधिक कमजोरी सामान्यत यो रोगमा देखिँदैन । यही कारणले मानिसहरूले यसलाई सामान्य समस्या सम्झेर उपचार ढिलो गर्न सक्छन् जसले संक्रमण फैलिने सम्भावना अझ बढाउँछ ।

खोप नभएकाले सतर्कता नै मुख्य उपाय

लू वा कोभिड–१९ जस्तो माइकोप्लाज्मा निमोनियाको अहिलेसम्म कुनै खोप उपलब्ध छैन । त्यसैले व्यक्तिगत सतर्कता अत्यावश्यक छ । यदि तपाईं वरिपरि कसैले लगातार खोकी रहेको देख्नुभयो भनेः

दूरी कायम गर्ने ।

सही तरिकाले मास्क लगाउने

साझा सतह छोएपछि अनुहार नछुने ।

साबुन पानी वा स्यानिटाइजरले हात धुने ।

कोठा वा कार्यालयको हावा प्रवाह राम्रो बनाउने

यदि तपाईं आफैलाई खोकी लागिरहेको छ भने मास्क लगाउने, भिडभाडबाट टाढा रहने र आवश्यक परे घरमै विश्राम गर्ने ।

उपचार र चिकित्सकीय सल्लाह

यो रोगलाई प्रभावकारी रूपमा एन्टिबायोटिक औषधिहरूबाट निको पार्न सकिन्छ, तर विशेष प्रकारका एन्टिबायोटिक आवश्यक हुन्छन् जस्तै ः म्याक्रोलाइड्स (Azithromycin वा Clarithromycin), टेट्रासाइकलिन्स, वा लुओरोक्विनोलोनस, जुन बिरामीको उमेर र स्वास्थ्य अनुसार निर्भर रहन्छ ।

अघिल्लो बिरामीको बाँकी औषधि वा अरूबाट लिएको औषधि प्रयोग नगर्नुहोस् । यस्ता औषधिहरु प्रभावकारी नभएर उल्टो समस्या बढ्न सक्छ । त्यसैले चिकित्सकसँग परामर्शमा सही उपचार पद्दति अबलम्बन गर्नुपर्दछ । सही समयमा गरिएको उपचारले नै तपाईलाई छिटो निको पार्छ, थप अरूमा संक्रमण फैलिनबाट पनि रोक्दछ ।

निष्कर्ष

जापानभर माइकोप्लाज्मा निमोनिया फैलिँदै गर्दा जनचेतना र सतर्कता आवश्यक छ । लक्षण हल्का लागे पनि यसको दीर्घ खोकी र संक्रमण फैलाउने क्षमतालाई कम आँक्नु हुँदैन । खोप नभएको अवस्थामा, मास्कको प्रयोग, हातको सरसफाइ, हावाको राम्रो प्रवाह र छिटो उपचार नै मुख्य बचाउका उपाय हुन् । हामी सबैले सावधानी अपनाएर यो जनस्वास्थ्य समस्याबाट आफू र अरूलाई पनि सुरक्षित राखौं । 

(प्रा. डा. खाचुदा खान्साइ युनिभर्सिटी अफ सोसल वेल्फेयर इण्डष्ट्रियलका हेल्थ कल्सल्ट्यान्ट हुन्)

तपाईको प्रतिक्रिया