टोकियो – प्रवासमा रहेर पनि आफ्नो मातृभूमि र समाजप्रतिको उत्तरदायित्वलाई जीवन्त राख्दै नेपाली जनप्रगतिशील मञ्च जापान, गुन्मारतोचिगी क्षेत्रीय कमिटीले गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘प्रगतिशील प्रवासी नेपालीहरू एक हौं !’ भन्ने नारालाई आत्मसात् गर्दै कार्यक्रम गरिएको हो ।
गुन्मा प्रिफेचरको ओता शहरस्थित ‘ओता केन्केचु रुम’ (Ota Blood Donation Room) मा दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको कार्यक्रममा दर्जनौं जापानवासी नेपालीहरुले उत्साहपूर्वक रक्तदान गरेको मञ्चका केन्द्रीय सचिव तथा गुन्मा इन्चार्ज राकेश बिमलिले जानकारी दिए ।
केन्द्रीय बिमलिले प्रवासमा रहेर पनि आफ्नो देशको महत्वपूर्ण दिनको स्मरणमा यस्तो सामाजिक कार्य गर्न पाउनु गौरवको विषय भएको बताए । ‘यस कार्यक्रमले जापानमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता मात्र नभई सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धतालाई समेत उजागर गरेको छ,’ उनले भने ।
आयोजक क्षेत्रीय कमिटीका अध्यक्ष बिमल किरातिले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, तथा जापानी रेडक्रसका कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् । ‘हामीले पाएको यो साथ र सहयोगले हामीलाई थप हौसला मिलेको छ,’ उनले भने, ‘आगामी दिनहरूमा पनि यस्ता सामाजिक र मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिनेछौं ।’








