टोकियो – तीव्र गतिमा बुढ्यौलीतर्फ अग्रसर जापानले गम्भीर जनसांख्यिकीय संकटको सामना गरिरहेको छ । सरकारी तथ्यांकअनुसार, देशमा गत वर्ष जन्मिएका शिशुहरूको सङ्ख्या पहिलो पटक ७ लाखभन्दा तल झरेको छ, जुन रेकर्ड राख्न थालिएयताकै सबैभन्दा निराशाजनक अवस्था हो ।
सन् २०२४ मा जापानमा जम्मा ६ लाख ८६ हजार ६१ शिशुको जन्म भयो, जुन सन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो आँकडा सन् १८९९ मा तथ्यांक सङ्कलन सुरु गरिएयताकै सबैभन्दा न्यून हो, जसले देशको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । विश्व बैंकका अनुसार, सानो राष्ट्र मोनाकोपछि जापान विश्वकै दोस्रो सबैभन्दा बढी ज्येष्ठ नागरिक भएको देश हो ।
यो भयावह अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री शिगेरु इशिबाले यसलाई ‘मौन आपतकाल’को संज्ञा दिएका छन् । उनले यो प्रवृत्तिलाई उल्टाउन लचिलो काम गर्ने घण्टा र अन्य परिवार-मैत्री उपायहरू अघि सार्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जापानको कुल प्रजनन दर (एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत सङ्ख्या) पनि १.१५ को कीर्तिमानी न्यून स्तरमा झरेको देखाएको छ ।
जन्मदर घटिरहँदा मृत्युदर भने बढ्दो छ । सन् २०२४ मा जापानमा १६ लाख मानिसको मृत्यु भयो, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढी हो । यो सङ्कटले जापानको सामाजिक र आर्थिक संरचनामा दूरगामी असर पारिरहेको छ । प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रहरूको पुनरुत्थानमा जोड दिएका छन्, जहाँ घट्दो जनसङ्ख्याका कारण वृद्ध गाउँहरू एक्लिँदै गएका छन् । आन्तरिक मामिला मन्त्रालयका अनुसार, जापानका २०,००० भन्दा बढी समुदायमा अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन् ।








