
काठमाडौं – वर्षौंदेखि अत्यधिक चापमा रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा पोखरा र भैरहवालाई लिइएको थियो । तर यी दुवै विमानस्थल अपेक्षित रुपमा सञ्चालन हुनै सकेका छैनन् । अर्कातिर नेपालले १२ वर्षदेखि युरोपियन युनियनको आकाशमा उडान प्रतिबन्ध झेलिरहेको छ । नेपाली आकाश अझै सुरक्षित साबित हुन सकेको छैन र नियामक संस्था नेपाल नागरिक उड्ड्यन प्राधिकरणले पनि हवाई सुरक्षामा उल्लेखनीय प्रगति देखाउन सकेको छैन । बरु प्राधिकरण र यसको नेतृत्व बारम्बार विवादमा आउने गरेको छ । नेपालको उड्ड्यन क्षेत्रको सुरक्षा र विस्तारमा के प्रगति भइरहेको छ ? यिनै विषयमा केन्द्रित रहेर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः–
तपाई महानिर्देशकमा नियुक्त भएको तीन वर्ष पूरा भएको छ, तर यो तीन वर्षमा कामभन्दा विवादका कुरा धेरै सुनिए नि ?
यो संस्थामा राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व छ । संस्थाले नियमनकारी भूमिका पनि गर्छ र नेपालभित्र भएका विमानस्थलको निर्माण, मर्मत र सञ्चालन गर्छ । स्वदेशी, विदेशी धेरै स्टेकहोल्डरहरु हुनुहुन्छ यसमा । यो क्षेत्र चल्ने भनेको चाहिँ ऐन, नियमावली, त्यो बमोजिमका निर्देशिकाहरु, सर्कुलरहरु र कार्यकारी निर्णयहरुले हो । यसले एउटा निर्णयले पनि धेरै मान्छेहरु प्रभावित हुन्छन् । त्यसकारणले चाहिँ निर्णय गर्दाखेरि त्यो निर्णय कस्तो हो ? भन्ने कुरामा बहस हुनु स्वाभाविकै हो । मैले गरेको निर्णय चाहिँ कानूनसम्मत छ । तीन वर्ष भयो, म पछि हट्नुपरेको छैन ।

भनेपछि मन्त्रीहरुले चाहिँ कानूनभन्दा बाहिर गएर निर्णय गर्ने प्रयास गर्नुभयो ?
सँधैं त्यस्तो हुँदैन । कहिलेकाहीँ त्यो विषयवस्तुलाई लिने तौरतरिका चाहिँ फरक हुनसक्छ । यो प्राविधिक कुराहरु धेरै भएको संस्था हो । ९० प्रतिशतभन्दा बढि डिसिजन टेक्निकल डिसिजनहरु छन् । यो कुराहरु बुझ्न–बुझाउन समय लाग्छ ।
तपाईको नेतृत्वमा बनेका पोखरा र गौतमबुद्ध विमानस्थल चलाउन सक्नुभएन, त्यसकारण तपाई फेलियर हो भन्दा मिल्छ नि ?
त्यो चार्ज नै गलत हो । हाम्रो कुनै पनि विमानस्थलमा ट्राफिक फोरकास्ट जुन हामीले ट्राफिक फोरकास्ट गर्छौं अथवा ट्राफिक आइरहेको छ, यो चाहिँ प्रत्यक्ष रुपमा त्यो देशको कुल गार्हस्थ उत्पादनसँग निर्भर गर्छ । ट्राफिक इज डाइरेक्ट्ली प्रोपोर्सनल टु जीडीपी अफ द स्टेट । यो फर्मुला नै हो । अब त्यो जीडीपीका सबै अंगहरु कत्तिको चलायमान हुन्छन् ? त्यो चलायमान भए अनुसार विमानस्थलहरु चल्ने र नचल्ने हुन्छन् । भैरहवा चाहिँ साउथ एसिया टुरिजम डेभलपमेन्ट इन्फ्रास्ट्रक्चर प्रोजेक्ट हो । विश्वमा ५३ करोड बौद्ध धर्मावलम्बी छन् । तपाईको कम्बोडियाको सीएम रिपमा बुद्धको भाँचिएको नाक हेर्नलाई ४० लाख, ५० लाख बुद्ध धर्मावलम्बीहरु जान्छन् । त्यहाँ बुद्ध कहिल्यै पुग्नुभएन । अब त्यसको डिजाइन फिलोसफी के थियो भने बौद्ध धर्मावलम्बीहरु डाइरेक्ट कनेक्टिभिटी भएर आउँछन् भन्ने एउटा एउटा र्यासनल थियो । तर यहाँ तपाईले प्रश्न के सोध्नुहुन्छ भने त्यसोभए किन आएन भन्नुहुन्छ ? किन आएन भने हाम्रो प्रोमोशन पुगेन ।
पोखरामा त झन् बिजोग छ ?
अहिले पोखराको विमानस्थलमा हिमालयन एयरलाइन्स र सिचुवान एयरलाइन्सले हप्तामा दुईवटा र एउटा फ्लाइटहरु हामीले गराइरहेका छौं । जुन राम्रो कुरा हो । किनभने स्टार्ट भयो नि त । आजै तुरुन्तै हुने विषय होइन । पूर्वाधारप्रति यति ठूलो पूर्वाग्रह पनि राख्नुहुन्न । हामीले बढी मिहिनेत चाहिँ गर्नुपर्ने कहाँनेर देखिन्छ भने हाम्रो र इन्डियाका सहरहरुबीच पोखरा र भैरहवा उडान गर्न सकियो भने राम्रो ट्राफिक हुन्छ । अहिले ल्याण्डिङ कष्ट पनि तिर्नुपर्दैन, पार्किङ पनि तिर्नुपर्दैन । ग्राउन्ड ह्यान्डलिङको ७५ प्रतिशत छुट दिईएको छ । प्यासेन्जर सर्भिस चार्ज जुन ३ हजार तिर्छौं हामीले, त्यो पनि तिर्नुपर्दैन । सबै सुविधा दिएका छौं हामीले । राज्यको तर्फबाट गर्ने नेगोशियशन कहीँ कमी भएको छैन ।
तर तपाईको भूमिकामाथि प्रश्न उठदा मन्त्रीहरुले किन सेभ गर्छन् ?
त्यो त मलाई थाहा नभएको विषय त म कसरी उत्तर दिउँ ? प्रमाणित नहुने विषयमा एउटा जिम्मेवार ओहदामा बसेको मान्छेले सार्वजनिक खपतको लागि मात्र बोलेको जस्तो हुन्छ ।
प्राधिकरणको नेतृत्वमा आउने मान्छे किन विवादित हुन्छ ?
सुन्नु न, निर्णय नगरिकन सुतेर बस्यो भने केही पनि विवाद हुँदैन । नदेखिने, नसुनिने भयो भने केही पनि विवाद हुँदैन । पहिला जसरी चलेको छ, त्यसरी चलाउने । केही विवाद हुँदैन । म पनि निर्विवादित हुन्थेँ । ५१ वटा जहाज तराईमा जान्थेनन् । आज तपाईले जुन सुविधा प्रयोग गर्नुभएको थियो नि, त्यो सुविधा तपाईले प्रयोग गर्न पाउनुहुँदैनथ्यो । आज प्रयोग गर्नुभएको छ । यो काम चाहिँ ठीक भएको हो । यस्को क्रेडिट दिनुपर्छ भन्दाखेरि तपाईलाई घाटा के हुन्छ त्यसमा ?
तपाई आएपछि तीन वर्षमा गरेका सफलताका कामहरु बताइदिनुस् न ।
रात्रिकालीन उडान अवतरणहरु बाहिरबाट गराएँ । यसले धेरै ठूलो इकोनोमीलाई फाइदा पुग्छ । जनतालाई धेरै फाइदा भएको छ । आज त्यो एयरलाइन अपरेटरहरुले जहाज थपे । उनीहरुको बिजनेस एक्सपान्सन भयो । जनताले सुख पाए । यो त ठूलो रिभोलुसन हो नि वास्तवमा एक हिसाबले भन्ने हो भने । टर्मिनल अन्तर्राष्ट्रिय स्तरमा जस्तो खालको टर्मिनलहरु अहिले बनिरहेका छन् मोडर्न, त्यस्तो देखिनुपर्छ हाम्रो । त्यहाँ उभिएर कसैले फोटो खिच्न चाह्यो भने सानका साथ फोटो खिचोस्, आफ्नो देशको इज्जत हो । अहिले हेर्नुस्, अहिले विराटनगरमा त्यस्तो टर्मिनल बनिरहेको छ । जनकपुरमा हामीले बनाएर सिध्याइसकेका छौं । भरतपुरमा बन्दै छ, अब भैरहवा त इन्टरनेशनल बनिहाल्यो । नेपालगञ्ज बन्दै छ । अब बिस्तारै हामी अब चन्द्रगढी विमानस्थलमा पनि टर्मिनल एउटा बनाउने प्रयासमा छौं । म्यासिभ परिवर्तन देख्नुहुन्छ । पहिले यात्रुले जहाज कुर्थे अहिले जहाजले यात्रु कुर्छन् ।
तपाईसंग नेपाल नागरिक उड्ड्यन प्राधिकरणको महानिर्देशक भन्ने बित्तिकै नियामक निकायको तर्फबाट एउटा भूमिका त छँदैछ, अर्को सेवाप्रदायक दुई वटा भूमिका पनि छ । यो दुई वटा भूमिकालाई छुट्याउन विधेयक अघि बढेको छ, यसप्रति तपाईंको टिप्पणी के हो ?
देश चलाउने, कानून बनाउने सबै काम संसद्को हो । सांसद्ज्यूहरुले नेपालको लागि कुन चाहिँ विषयवस्तुहरु राख्दा ठीक हुन्छ, ती समेटेर कानून बनाउनुहुनेछ । सिद्धान्त त यो विषय गलत होइन । देश हेरेर आफ्ना–आफ्ना प्रचलनहरु छन् । कति ठाउँमा एउटै निकायबाट फङ्सनल सेपरेसन गरेर चलेको पनि अनुभवहरु छन् । जस्तो फ्रान्स, अमेरिका, सिंगापुर, बंगलादेश जस्ता ५५–५६ वटा देश त्यस्तो पनि छन् । अब कहीँ फेरि छुट्टै–छुट्टै रेगुलेटरी बडी सर्भिस प्रोभाइडिङ बडी भएको पनि छ । यो आफ्नो–आफ्नो अभ्यासमा भर पर्ने कुरा हो । सिद्धान्त त यो विषयमा मेरो कुनै मतभेद छैन ।

अन्य क्षेत्रमा माग बढी हुँदा मूल्य घट्छ, तर हवाई सेवामा माग बढी भयो भने भाडा बढ्छ, यस्तो किन ?
आन्तरिक उडानमा चर्काे भाडादर हुनुको मुख्य कारण नै हवाई इन्धन हो । नेपाल आयल निगमले हवाई इन्धनमा मात्रै ३५ देखि ४० प्रतिशतभन्दा बढी नाफा खाँदा हवाई भाडादर महङ्गो हुनपुग्यो । अर्काे नेपाल एयरलाइन्सको आन्तरिक उडानमा न्यून प्रतिस्पर्धाका कारण उडान भाडादर महँगो भएको हो । नेपाल एयरलाइन्स सेवा प्रदायक निकाय हो, थोरै नाफा राखेर निगमले आन्तरिक उडानमा प्रतिस्पर्धा गर्न सके अहिले कायम भएको भन्दा आधा भाडा घट्छ । सरकारी वायुसेवा कम्पनीको न्यून सहभागिता छ, निजी वायुसेवा कम्पनीको मोनोपोली छ ।
यात्रुहरु टर्मिनलमा घण्टौंसम्म भोकभोकै बस्नुपर्ने स्थितिको अन्त्य कहिले हुन्छ ?
हिजोआज फ्लाइटहरु एकदम डिस्टर्ब छ । अहिले यो मौसमको कारणले गर्दाखेरि । अरु प्रविधिको कारणले गर्दाखेरि एयर ट्राफिक कन्जेसन भएको छैन ।
अन्त्यमा, आइकाओले नेपाललाई आफ्नो सेफ्टी लिस्टको, कालो सूचीमा राखेको थियो, त्यो हट्यो तर इयुले अहिलेसम्म हटाएको छैन, किन ?
उसले ७५ वटा रिकमेन्डेसनहरु गरेको छ । यो २०२३ सेप्टेम्बरमा अडिट गरेको हो । त्यो रिकमेन्डेसनहरु, फाइन्डिङहरु पुरा भएपछि थप कुरा हुन्छ भन्ने कुराभन्दा बाहेक अरु आधिकारिक कुरा उहाँहरुबाट आएको छैन । तर अहिले नेपाली आकाशमा बारम्बार दुर्घटना रोकिएको छ । जुन कारण देखाएर नेपाल ईयुको सेफ्टी लिष्टमा थियो । त्यो कारण नै नभएको अवस्थामा लिष्टमा राखिरहनुको अर्थ देखिँदैन । नेपाललाई सेफ्टी लिष्टमा राख्ने अब कुनै कारण छैन । म यति भन्छु, चाँडै यो प्रतिबन्ध हट्छ । म विश्वस्त र आशावादी छु ।








