समाचार सुन्नुहोस :
काठमाडौँ – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले अन्ततः आफ्नो १८ वर्षको प्रतीक्षालाई समाप्त गर्दै पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा बेंगलुरुले पञ्जाब किङ्सलाई ६ रनले हराएर उपाधि उचालेको हो।
बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि २९ रन आवश्यक हुँदा शशांक सिंहले धमाकेदार प्रदर्शन गरे — उनले ३० बलमा ६१ रन बनाएर तीन छक्का र एक चौका प्रहार गरे, तर टोलीलाई जित दिलाउन सकेनन्। बेंगलुरुका बलरहरूमध्ये भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले समान २-२ विकेट लिए भने जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले एक-एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। विराट कोहलीले टिमका लागि सर्वाधिक ४३ रन बनाए। कप्तान रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५, मयंक अग्रवाल र जितेश शर्माले समान २४ रनको योगदान गरे। पञ्जाबका बलरमध्ये अर्शदीप सिंह र काइल जेमिसनले समान ३ विकेट लिए। ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए। यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल पुगे पनि बेंगलुरु उपाधिबाट वञ्चित हुँदै आएको थियो। यसपटक भने उनीहरूले इतिहास रच्न सफल भए।








