Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

केही दिनअघि नेपालबाट बिहानै फोनको घण्टी बज्यो । फोन उठाउँदा उताबाट आवाज आयो, ‘आउँदो हप्ता हाम्रा नेता जापान भ्रमणमा आउँदै हुनुहुन्छ, एयरपोर्टमा खादा-माला लिएर केही मानिसहरू भेला भई स्वागतमा आउनुस् है, नत्र त पार्टीको बेइज्जत हुन्छ नि !’ – यो पंक्तिकारको नितान्त व्यक्तिगत कल्पना हो, कसैको वास्तविक जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ ।

सामाजिक सञ्जालहरूमा पटक-पटक देखिने नेता स्वागतका दृश्यहरूप्रतिको कटाक्ष हो यो पङ्क्ति, जहाँ संसारभरका अन्तर्राष्ट्रिय विमानस्थलका बाहिरी गेटहरूमा केही पार्टीका मानिसहरू र कार्यकर्ताहरू खादा र माला लिएर उपस्थित देखिन्छन् ।

हामी मानव, प्राणीहरूमध्ये सर्वाधिक चेतना भएका वा भनौँ उत्कृष्ट प्राणी हौं । मानवमा विवेक छ र त धेरै थोकको चेतना छ -राजनीतिक चेतना, सामाजिक चेतना, कानुनी चेतना यस्तै थुप्रै चेतनाहरूको संगम हो मानिस । देश, समाज र राष्ट्रमा परिवर्तन ल्याउन त्यहाँका नागरिकहरूमा राजनीतिक चेतना अझ बढी हुनैपर्ने रहेछ, बल्ल देश विकसित हुने रहेछ । तर, हामी नेपालीहरूमा अरू सबै थोक भएर पनि यही राजनीतिक चेतनाको न्यूनताले देश हुनुपर्ने जति विकास हुन सकेन । अझ रोजगारीका अवसरको कुरा गर्दा त अवस्था निराशाजनक नै छ ।

हामी नेपालीहरू आफ्नो जीवनस्तर उकास्न जो जहाँ देश छोडेर परदेशमा छौं, हामी सबैले आ-आफ्नो पेशा व्यवसाय पनि गरिरहेका छौं ।  हामीलाई जन्मभूमिको माया लाग्नु स्वाभाविकै हो । यसमा कतिले देश त्यागेर विदेशकै राहदानी लिनुभएको होला, उहाँहरूलाई देशको माया लाग्छ कि लाग्दैन, त्यो बेग्लै बहसको विषय होला, तर नेपाली नागरिकका रूपमा राजनीतिक चासो राख्नु स्वाभाविक र सही हो । हामी विकसित देशमा आफ्नो पेशा र व्यवसाय गर्दै गर्दा वा विकसित देशको वातावरण जान्दै र बुझ्दै गर्दा, कहिलेकाहीँ देशबाट विदेश भ्रमणमा आउने नेताहरू – जो देशका लागि आदर्श हुन्, जसले नागरिकहरूका दुःखसुखमा साथ दिएका छन्, जो ‘मेरो पार्टी, तेरो पार्टी’ नभनी सबैलाई समान व्यवहार गर्छन् – उनीहरूलाई विदेशमा आउँदा नेपाली समुदायले स्वागत र सम्मान गर्नु स्वाभाविक नै हो । यो नेताहरूको कर्मप्रतिको नागरिक सम्मान पनि हो ।

तर, जो भ्रष्टाचारको कर्ममा मुछिएका छन्, नागरिकहरूको ऊप्रति वितृष्णा छ, जसका हरेक कर्मले देशलाई वा उनका मतदाताहरूलाई होइन, उसैको व्यक्तिगत जीवनको पक्षपोषण मात्र गरिरहेको हुन्छ; त्यस्ता व्यक्ति, जो आफैँ महलमा बस्छन् र आफ्ना नातागोतालाई मात्र पद र प्रतिष्ठामा पुर्‍याउँछन्, तिनैलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा स्वागत गर्न विदेशमा पनि सकारात्मक छवि बनाएका व्यक्तिहरू पुग्नु एउटा विडम्बना हो, राजनीतिक दासत्वको प्रतीक हो । देशमा कानुनी रूपमै दासप्रथा अन्त्य भइसकेको यो समयमा नागरिकहरू नेताको स्वैच्छिक दास हुन रुचाउनु पनि असल नियत होइन । नेताले गरेका गलत कामलाई खबरदारी गर्न नसक्नु यिनीहरूको गलत प्रवृत्ति हो । यसले नेताहरूलाई सच्चिन होइन, नागरिकहरूप्रति थप जिम्मेवारी लिन होइन कि गलत कामलाई नै प्रश्रय दिएको ठहरिन्छ ।

नेता त्यस्तो व्यक्ति हो जसले सही नेतृत्व गर्दै नागरिकहरूलाई सही गन्तव्य दिलाउनुपर्छ । नेता वा लिडर त गुन्डाहरूको पनि हुन्छ, अपराधीहरूको पनि हुन्छ, चोरहरूको पनि त हुन्छ । बस् फरक यत्ति हो, देशको नेता वा लिडर सही भयो भने देश विकसित हुन्छ र जीवन धान्नका लागि नागरिकहरू पराई देशमा गएर श्रम गर्नुपर्दैन । आफ्नै देशका नागरिकहरूले सुन फलाउन सक्छन्, तर त्यसका लागि राजनीतिक वातावरण नेतृत्वले बनाउन सक्नुपर्छ ।

हामी नेपालीहरू बौद्धिक त छौं, तर नेतालाई देखेपछि वा तिनका बनावटी भाषण सुनेपछि विवेकहीन भइदिन्छौं। कुन सही, कुन गलत छुट्ट्याउन सकिरहेका छैनौं । हामी एउटा नेता विदेश आउँदा उसको कर्म नछुट्याईकन सेल्फी खिच्न नजिकै पुगिहाल्छौं । हामीलाई यो पनि थाहा छैन, त्यो नेतासँग खिचिएको सेल्फीले भोलि आफैँलाई पछुतो हुने हो कि वा समाजले गिज्याउने हो कि भन्ने हेक्का राख्दैनौं । मानिस चेतनशील प्राणी हो, तर हामी हाम्रो चेतनाको किन प्रयोग गर्दैनौं होला? नेताहरूसँग फोटो खिच्न तँछाडमछाड गर्दै किन दौडिरहन्छौं ?

देश बिगार्न, नेता बिगार्न केही न केही त हामी नागरिकहरूको पनि जिम्मेवारी रहन्छ। सुकर्मलाई निर्धक्क सम्मान गर्न र कुकर्मलाई खुलेआम बहिष्कार गर्न सक्यौं भने मात्र पहिले हामी सुध्रिन्छौं, त्यसपछि नेता सुध्रिन्छन् र अन्ततः देश आफैँ सुध्रिन्छ। परिवार सुध्रिन पहिले तपाईं सुध्रिनुपर्छ अनि पूरै परिवार सुध्रिन्छ भनेझैँ, देश सुधार्न पनि पहिले नागरिक सुध्रिनु जरुरी हुन्छ ।

नागरिकको अभिमतबाट सत्तामा पुगेकाहरूसँग सधैँ शिर झुकाउने नगरौं, उनीहरूको कर्मअनुसार सम्मान र बहिष्कार गर्न सिकौं । गलत प्रवृत्तिलाई खबरदारी पनि गर्न सिकौं । देश नेताहरूको मात्र होइन, नागरिकहरूको पनि हो, मिलेर अघि बढौं ।

हामी नेतृत्वको दासत्वबाट जुन दिन मुक्त हुने हिम्मत गर्नेछौं, त्यही बिन्दुबाट हामी नागरिकहरूसँगै सिङ्गो देश परिवर्तन हुनेछ ।

जय देश ! जय मातृभूमि !

  • टोकियो जापान

तपाईको प्रतिक्रिया