समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको उपलक्ष्यमा आज गणतन्त्र दिवस विविध कार्यक्रमसहित देशभर मनाइँदैछ। २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाले २४० वर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ।
यो उपलब्धि तत्कालीन सात राजनीतिक दलको जनआन्दोलन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र सङ्घर्षको परिणामस्वरूप सम्भव भएको हो। नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र, सामाजिक न्याय र स्वतन्त्रताको प्रत्याभूतिको रूपमा गणतन्त्र स्थापना भएको बताइन्छ।
टुँडिखेलमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ। सो अवसरमा सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरिनेछ भने लोकतन्त्रका लागि योगदान दिने अग्रजहरूको स्मरण गरिनेछ।
राजनीतिक दलका नेताहरूले समृद्धि, सुशासन, रोजगारी, सामाजिक सुरक्षा र न्यायोचित अवसर वितरणमार्फत जनजीवन सुधार गर्दै गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका छन्। नागरिक तहमा लोकतान्त्रिक संस्कृति विकास गरी बलियो गणतान्त्रिक शासन प्रणाली निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।