टोकियो – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १९औं महाधिवेशनको अन्तिम चरणको प्रक्रियामा गम्भीर विवाद उत्पन्न भएको छ । गुरुङ समाज जापानले विधानसम्मत रूपमा उम्मेदवारी दर्ता गराउँदा पनि नेफिन जापानको निर्वाचन समितिले दर्ता गर्न अस्वीकार गरेको भन्दै कडा आपत्ति जनाएको हाे ।
समाजले यस कार्यलाई नेफिनको विधान, नियमावली र आदिवासी जनजाति आन्दोलनकै उपहास भएको टिप्पणी गरेको छ । गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, समाजले नेफिन जापानको अध्यक्ष, सचिव र सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि सम्पूर्ण प्रावधान पूरा गरी तोकिएको दस्तुरसहित विधिवत् मनोनयन दर्ता गराएको थियो । तर, भोलिपल्ट निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्न असमर्थ भएको लिखित जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।
गुरुङ समाज जापानले आफू तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, नेपालको आधिकारिक जापान शाखा भएको र उक्त मातृसंस्था नेफिन नेपालको विधानको अनुसूची ६ को ७ नम्बरमा उल्लिखित सदस्य संस्था रहेको स्पष्ट पारेको छ । साथै, नेफिन नेपालको प्रवास संगठनको नियमावली २०७९ को दफा ४ को उपदफा ‘क’ मा ‘विदेशस्थित महासंघहरूको हकमा नेपालमा आदिवासी जनजाति महासंघ आबद्ध अनुसूची ७ मा उल्लिखित जातीय संगठनहरू मातृसंस्था मानी सोही मातृसंस्थाले आधिकारिकता प्रदान गरेको जातीय सदस्य संगठनलाई विदेशस्थित आदिवासी जनजाति महासंघमा आबद्धताको लागि योग्य मानिनेछ’ भन्ने व्यवस्था रहेको औंल्याएको छ ।यस संवैधानिक व्यवस्थाअनुसार गुरुङ समाज जापान नेफिन जापानमा आबद्ध हुन र निर्वाचनमा भाग लिन पूर्णतः योग्य रहेको तर नेफिन जापानले उम्मेदवारी अस्वीकार गर्नु नेफिनको विधान २०६७ र उक्त विधान अन्तर्गत बनेको नियमावलीविपरीत भएको ठहर समाजको छ । विज्ञप्तिमा भनिएको छ, ‘तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आधिकारिक जापान शाखाको रूपमा गुरुङ समाज जापान हो भन्ने प्रमाण र कागजातसमेत नेफिन जापान सचिवालय र अध्यक्षसमेतलाई आधिकारिक रूपमा पटकपटक जानकारी गराईसकेका छौं ।’
नेफिन जापानको यस कदमले मातृसंस्था नेफिन केन्द्रलाई नै अपमान गरेको र समग्र आदिवासी जनजाति आन्दोलनमाथि नै प्रहार गरेको गुरुङ समाजको बुझाइ छ । समाजले प्रश्न उठाएको छ, ‘नेपाल आदिवासी जनजाति महासंघ जापानमा आदिवासी जनजाति आन्दोलन विरोधीहरूको कब्जा त भएको छैन ? नेफिन जापानलाई गलत मनसाय र उद्देश्यमा प्रयोग त गरिएको छैन ?’
गुरुङ समाज जापानले नेफिन जापानको १९औं महाधिवेशनका सम्पूर्ण क्रियाकलापहरू रोकेर आफ्नो उम्मेदवारी दर्ता गर्न र निर्वाचनमा भाग लिन पाउने वातावरण सुनिश्चित गर्न जोडदार माग गरेको छ । साथै, यस विषयमा विशेष छलफल चलाउनसमेत आह्वान गरिएको छ ।