समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाका ३ वडाध्यक्षहरूले मेयर बालेन शाहद्वारा हालै तोकिएका नयाँ जिम्मेवारी अस्वीकार गरेका छन्। आइतबार सार्वजनिक विज्ञप्तिमार्फत उनीहरूले ती जिम्मेवारीहरू कार्यपालिकाको बैठकबाट अनुमोदित नभएको भन्दै अस्वीकार गर्ने चेतावनी दिएका हुन्।
वडाध्यक्षहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा मेयर शाहले कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ अनुसार समितिका संयोजक तोकेपनि त्यसको वैधानिक प्रक्रिया पूरा नभएको बताएका छन्। कार्यपालिका बैठकबाट स्वीकृति नलिइकन जिम्मेवारी तोकिएको भन्दै उनीहरूले ती पदमा नरहने जनाएका हुन् ।
जिम्मेवारी अस्वीकार गर्नेमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की (सुशासन समिति संयोजक), वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी (सम्पदा तथा पर्यटन समिति) र वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती (सूचना प्रविधि समिति) रहेका छन्।
जेठ १ गते मेयर शाहले केही वडाध्यक्षहरूको जिम्मेवारी हेरफेर गरी नयाँ संयोजकहरू तोकेका थिए। तर यो निर्णय प्रक्रियागत रूपमा कमजोर भएको भन्दै वडाध्यक्षहरूले विरोध जनाएका छन्। उनीहरूले निर्णय फिर्ता लिन मेयर समक्ष औपचारिक आग्रह समेत गरेका छन्।