समाचार सुन्नुहोस :
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दुई–चार दिनभित्र नयाँ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गुरुङले नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अब कुनै अन्योल नरहने स्पष्ट पारे। “अब तलमाथि केही हुँदैन, चाँडै गभर्नर पाउँछौं,” उनले भने।
राष्ट्र बैंकको गभर्नर पद झण्डै एक महिनादेखि रिक्त रहँदा, बजेट निर्माणको संवेदनशील समयमै सरकारले नियुक्ति नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्ति मेरिटका आधारमा हुने स्पष्ट पारेका छन्। उनले गभर्नरमा ‘आफ्नो मान्छे’ ल्याउने नियत नरहेको जिकिर गर्दै भने, “मेरिटोक्रेसीका आधारमा योग्य र सक्षम व्यक्ति चयन गरिन्छ। मलाई आफ्नो मान्छे चाहिँदैन, देशको हितका लागि काम गर्न सक्ने मान्छे चाहिन्छ।”