विश्वका १ सय ९३ देशहरु हाल संयुक्त राष्ट्रसंघमा सार्वभौम सम्पन्न सदस्यका रुपमा आवध्द छन् । यी राष्ट्रहरु मध्ये जापानलाई पनि एक प्राचिन देशमा गनिन्छ । जापान ११ फेब्रुअरी ६६० क्रिश्चियन इशा पूर्वमा स्थापना भएको मानिन्छ । जापानको प्रथम सम्राट जिम्मुदेखि हालसम्म अविछिन्नरुपमा उनको वंशजहरु सम्राटका रुपमा स्थापित छन् र शासन गर्दै आईरहेका छन् ।
जापान एक जलपरिवेष्ठित राष्ट्र हो । सबैभन्दा नजिक रहेको कोरियाली पेनिन्सुला पनि ९ सय २६ किलोमिटर टाढा छ । जापान कैयौं शताव्दीसम्म एकाङ्कीपन मै रह्यो । यसले गर्दा जापानी जनमानसमा सिमागुनी कोन्ज्यो (टापु मनोवृत्ति) सोचाईको विकास भयो । यो भनेको विदेशीहरुसंग त्यति सम्बन्ध नराख्ने र टाढै रहने । सन् १८५८ मा अमेरिकन एडमिरल कोम्मोदोर पेरी योकोहोमा पोर्टमा आईपुगी जवर्जस्त रुपमा टोप तेर्स्याएपछि जापानले विदेशीका लागी विस्तारै प्रवेश खुल्ला गरेको इतिहास छ ।
जापान एक कृषिप्रधान देश नै थियो । तर सन् १८६८ मा मेइजी पुनरुत्थानको शुरुवात भए पश्चात औद्योगिक विकासले गति लिएको हो । जापानले औद्योगिकरण तर्फ निरन्तर प्रगति गर्दै गएता पनि सन् १९४५ को अगष्ट ६ मा हिरोशिमा तथा अगष्ट ९ मा नागासाकीमा अणुवम प्रहारवाट तहसनहस भएको हो । जसका कारण लाखा जनताले अनाहकमा ज्यान गुमाउनुपर्यो । तत्पश्चात् जापानको समृध्दिको बाटोमा तगारो पैदा भै कठिन दिनहरुको शुरुआत भए । जापानले विगतमा भोगेका सकसका दिनहरुका बारेमा बुझ्न जोन दावरद्वारा लेखिएको पुस्तक (Embracing the Defeat) पढेपछि थाहा हुन्छ । तर जापानी जनता मिहेनती तथा कर्मठ थिए र आज पनि छन् । पहिला आफ्नो देश बनाऔं अनि हामी आफै बन्छौ भन्ने सोचबाट अभिप्रेरित छन् । अमेरिकाले ल्याएको मार्शल प्लान अन्तर्गत लिएको ऋण पनि केवल ३ वर्षमै फर्काए । जापानी जनतामा आन्तरिक श्रोत परिचालनको अभुतपूर्व जाँगर जाग्यो र आफ्नो श्रोतहरु परिचालन गरेर जापानलाई समृध्द राष्ट्र बनाए । हाल विश्वको एक दाता राष्ट्रको रुपमा पहिचान बनाएको जापानको आफ्नै राष्ट्रिय ऋण ८ दशमलव ८४ खर्ब डलर छ । जापानको प्रगति निर्यात प्रवर्द्धनको सफलताले दिलाएको मान्नुपर्दछ । सन् १९६० को दशकतिर टेक्सटाईलवाट शुरु भएर हाल उन्नत प्रविधिमा आधारित वस्तुहरु बनाई निर्यात गरिन्छ । करिव ४ दशमलव ४ खर्ब अमेरिकी डलरको वार्षिक कुल ग्राहर्स्थ उत्पादन रहेको जापान कैंयौ वर्षसम्म विश्वको दोश्रो ठूलो अर्थतन्त्रको रुपमा रहृयो । तर हालका वर्षहरुमा यो अवस्था खस्किएको छ । हाल ४ नंवरको ठूलो अर्थतन्त्र भएको जापान यो भन्दा पनि खस्कने क्रममा छ । भारतको लगातार प्रगति तथा जर्मनीको कारण जापान अझै तल झर्ने सक्ने सभावना छ ।
दोश्रो विश्वयुध्दको अन्त्य पश्चात् जापानले शान्तिमा आधारित संविधान अपनाएको र सो को दफा ९ मा जापानले कहिल्यै पनि अब युध्द नगर्ने प्रतिबध्दता जनाएको थियो । तर त्यस समयपछि आजसम्म आउँदा विश्वको रंगमञ्चमा धेरै नै परिवर्तन तथा उतारचढाव आईसकेको छ । राजनीतिक, कूटनीतिक तथा सामारिक रुपमा जापानको अगाडि पनि निरन्तर रुपमा चुनौतीका चाङहरु देखापरेका छन् । संविधानद्वारा बाँधिएको जापानलाई कुनै युध्दमा होमिन नसके पनि आफ्नो देशको रक्षा गर्न भने नयाँ सोच ल्याउन जरुरी भएको छ । जापान सरकारले कूटनीति तथा सामरिक क्षेत्रहरुमा नयाँ सोचका साथ अगाडि बढ्न पर्ने आवश्यकता रहेको बुझ्न सकिन्छ । आफ्नो देशको प्रतिरक्षालाई मजबुत पारी अन्तर्राष्ट्रिय कूटनीतिमा सक्रिय भूमिका निभाउन जापानका लागि आवश्यक देखिन्छ ।
सन् १८९६ मा भिक्षु इकाई कावागुचीको भ्रमणबाट शुरुआत भएको नेपाल-जापान दुई देशबीचको सम्बन्ध समयको प्रवाहमा निकै गतिशिल भई आएको छ । भिक्षु दूरदृष्टिवाला थिए त्यसकारण उनले तात्कालिन शासक चन्द्र शमसेरलाई ५७ पृष्ठको एक पत्र लेखि जनतालाई शिक्षाको अवसर प्रदान गर्न अनुरोध गरेका थिए । त्यस पश्चात् सन् १९०२ मा आठजना नेपाली विद्यार्थीहरु जापानमा पढाईका लागि गएर सन् १९०५ मा फर्केका थिए । उनीहरुले जापानबाट ल्याएको बिउका कारण आजसम्म पनि हामीले मीठो हलुवाबेद खान पाएका छौं । साथै सुन्दर विस्टेरिया देशको विभिन्न सहरहरुमा ढकमक्क फल्ने गरेको छ । १ सेप्टेम्वर १९५६ मा दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको र सन् १९६९ देखि जापानले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग दिन शुरुवात गरेको थियो । हालसम्ममा जापानले नेपाललाई करिव ५ सय अर्व रुपैयाँ बराबरको ऋण तथा अनुदान दिईसकेको बताईन्छ । जापानको सहयोगमा बनाईएका परियोजनाहरुले शिक्षा, स्वास्थ, यातायात, खानेपानी लगायत अन्य कतिपय क्षेत्रमा जनतालाई सिधारुपमा फाईदा दिएको छ । जापानमा हाल रोजगारी तथा पढाईका लागि करिव सवा २ लाख नेपालीहरु रहेको अनुमान गरिन्छ । यो संख्या गत २० वर्षको तुलनामा निकै ठूलो छ । जापानबाट सिक्ने कुराहरु थुप्रै छन् । समाजमा अनुशासन, समयको महत्व, बोलीको सम्मान लगायत समाजमा सामञ्जस्य तथा हार्दिकता कायम राख्न के गर्नुपर्दछ भन्ने कुराहरु पनि सिक्न सकिन्छ । देश तथा समाजलाई सुदृढ बनाउन योगदान दिन सक्ने धेरै सबल पक्षहरु हामीले आत्मसाथ गर्न सक्छौ ।
वैदेशिक रोजगारीका कारण देश खोक्रिदैं गएको हालको अवस्थालाई विचार गर्दा स्वदेशमा रोजगारीका मनग्गे अवसरहरु सिर्जना गरिनु अपरिहार्य छ । जापानमा सीप हासिल गरेर स्वदेश फर्केका नेपालीहरुले आफ्नै देशमा पनि केहि उद्यम गरी यसतर्फ योगदान दिन सकिन्छ । जापानमा कार्यरत रहँदा बचाएको रकमले स्वदेश फर्केपछि त्यहाँको उन्नत प्रविधि प्रयोग गरी मनग्गे आम्दानी गरेका उदाहरणहरु पनि यदाकदा सुन्नमा आएको छ ।
मैले राजदूतावासमा काम गरेको समयमा नेपाल उद्योग वाणिज्य महासंघबाट विशेषज्ञ झिकाएर एउटा सेमिनार आयोजना गरेको सम्झना छ । मुख्य लक्ष्य थियो जापानवाट फर्केपछि नेपालमा कस्तो किसिमको उद्योग व्यवसाय गर्न सकिन्छ भन्ने जानकारी दिने । नेपालीहरु संसारको जुनसुकै देश वा सहरमा रहे पनि आफ्नो मातृभूमिलाई माया गरिरहेका हुन्छन् । हाल विदेशमा नेपालीहरुको संख्या ७०, ८० लाख पुगेको सुनिन्छ । विदेशमा रहेका नेपालीहरुबाट वर्षेनि १३, १४ खर्व रुपैयाँ रेमिटयान्स भित्रिने गरेको र यसले देशको कुल ग्राहर्स्थ उत्पादनमा झण्डै ३० प्रतिशतसम्म योगदान पुर्याएको अनुमान छ । जापानमा बसी आएका नेपालीहरुले त्यहाँको सामाजिक परम्पराहरुलाई आत्मसात गरी सोही अनुकुलको आचरण अनुसार चल्नुपर्दछ । जापानको सभ्य, सुसँस्कृत तथा उन्नत समाजवाट शिक्षा लिई आफ्नो रहनसहनलाई उपयुक्त ढंगमा अगाडि बढाउन जरुरी छ । नेपालीहरुलाई जापानी समाजले कडा परिश्रम गर्ने, विश्वासिलो तथा कम समस्या उत्पन्न गर्ने नागरिकको रुपमा लिने गरेको पाईन्छ । यस्तो उच्च भावनालाई सबै नेपालीले मनन् गरी आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि देशकोर् इज्जतको ख्याल राख्नुपर्दछ ।
हिमाल पहाड तथा विभिन्न पुरानो सँस्कृतियुक्त देश नेपाल जापानी पर्यटकहरुका लागि एक रमणीय तथा मनपर्ने देश हो । भगवान गौतमबुद्धको जन्मभूमिमा आउन पाउँदा जापानीहरु खुशी हुन्छन् । अब त नारिता काठमाडौबीच सीधा हवाईसेवा पनि सञ्चालन भैसकेकोले समयको वचत भई आते-जातेमा पनि सुविधा छ । विदेश भ्रमणमा रमाउने जापानी पर्यटकहरु तान्न हामीले समय समयमा उपयुक्त प्रवर्द्धनात्मक कार्यक्रमहरुको आयोजना गर्नु आवश्यक हुन्छ । सन् २००० मा करिव ४१ हजार ९८ जापानी पर्यटकहरु नेपाल आएका थिए, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । त्यसपछि विभिन्न कारणले जापानी पर्यटकहरुको संख्या घट्दै गईरहेको छ ।
जापानले हाल भोग्दै आएको प्रमुख समस्या भनेको जन्मदरको कमी हो । गत १४ वर्षदेखि जापानको जन्मदर निरन्तर घट्दै आएको छ । कतिपय युरोपियन मुलुकहरुमा पनि यही समस्या देखापरेको छ । ढिला विवाह गर्नुका साथै वच्चा जन्माउन अनिच्छुकहरुको संख्या बढ्दै जानुले जापानको जनसंख्या निरन्तर घट्दोक्रममा रहेको छ । उद्योगधन्दा तथा कारखानाहरुमा काम गर्ने जनशक्तिको अभाव अर्को समस्याकारुपमा जापानले झेल्दै आएको छ । यो समस्या समाधान गर्नका लागि हाल जापानले विदेशवाट दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु भित्र्याउन थालेको छ । यो परिस्थितिले गर्दा नेपालीहरुका लागि पनि जापानको श्रमबजारमा रोजगारीका अवसरहरु उपलव्ध भएका छन् । चाहे जुनसुकै रोजगारीमा होस्, नेपालीहरुले जापानको वातावरणमा समाहित भै कामकाज गर्नु उपयुक्त हुन्छ ।
विश्व रंगमञ्चमा आईरहेको तिब्र ध्रुविकरण तथा युध्द विभिषिकाले मडारिरहेको कालो बादलले जापानलाई पनि गाँजेको देखिन्छ । नजिकको छिमेकी राष्ट्रले ताल न तुकको रकेट प्रहार गरेर एक शत्रुराष्ट्र छिमेक मै उपस्थित छ भन्ने त्रास देखार्इरहेको छ । यसका साथै हाल विश्वमा गत तीन वर्षदेखि चलिरहेको युक्रेन र रुसबीचको युध्दले स-साना देशहरु सुरक्षित छैन भन्ने सन्देश दिएकै छ भने अर्कोतिर राजनीतिक लक्ष्यको अगाडि मानवीय महत्व निकै कम हुँदै गएको भान हुन थालेको देखिन्छ ।
सन् १९९१ मा खाडीयुध्द हुँदा जापानले १३ अर्व डलर आर्थिक सहयोग गरेको थियो, तर आफ्नो संविधानमा भएको प्रावधानको उल्लङ्घन गरेन । अहिले राजनीतिक लक्ष्यका अगाडि अन्य लक्ष्यहरु गौण भएका छन् । मानव अधिकारको क्षेत्रमा पनि निरन्तर ह्रास भईरहेको छ । अहिले प्रत्येक राष्ट्रले अर्कोलाई आक्रमण नगरे पनि, कसैले आक्रमण गर्यो भने अरुको मुख नताकी आफैले रक्षा गर्ने क्षमताको विकास गरिनु अपरिहार्य छ । जापान यसतर्फ निकै सजग रहेको आभास पाईन्छ । रक्षा बजेटमा बृध्दि भएबाट यसको पुष्टि भएको मान्नुपर्ने हुन्छ । जापानले कूटनीतिक क्षेत्रमा पनि ठूलो धनराशी योगदान दिदै आएको छ । तर सो अनुसारको विश्व कूटनीतिमा आफ्नो सक्रियता जनाई समस्या समाधानका लागि योगदान दिएमा राम्रो हुने छ । आउने दिनमा जापानले आफ्नो आर्थिक सुदृढता अनुसार कूटनीतिक क्षेत्रमा खंदिलो योगदान दिन आवश्यक छ । सयुक्तराष्ट्र संघमा जापानले हालसम्म महासचिवको भूमिका निभाउने अवसर पाएको छैन । जवकि म्यानमार तथा दक्षिण कोरिया जस्ता देशले यस्तो भूमिका निभाईसकेका छन् ।
अतः जापानले आउने दिनहरुमा विश्व रंगमञ्चमा आईपर्ने विभिन्न राजनीतिक, कूटनीतिक तथा अन्य परिदृष्यहरुमा सशक्त भूमिका निभाउदै जानु उपयुक्त हुन्छ जस्तो लाग्छ । जापानले अविकसित देशहरुलाई निरन्तर रुपमा सहयोग दिदै आएको सर्वविदित नै छ । खासगरी यस्तो सहयेागमा कुनै राजनीतिक लक्ष्य नजोडिने कुरा पनि प्रष्ट छ । यसले गर्दा जापानलाई एक उदारवादी मित्र राष्ट्रको रुपमा चिनाएको त छँदै छ । तर सहयोगको साथसाथ जापानले विभिन्न देशहरुमा मानव अधिकारको बढावा, विकासको क्रमलाई सबल वनाउन भ्र्रष्टाचार विरुध्दको लडाईमा पनि योगदान दिन जरुरी छ ।
(फ्रान्सका लागि पूर्व नेपाली राजदूत श्रेष्ठले नेपाली राजदूतावास टोकियो जापानमा समेत कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसक्नुभएको छ)