समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। पार्टीमा “एक व्यक्ति, एक पद”को सिद्धान्त लागू हुनुपर्नेमा जोड दिँदै उनले सह–महामन्त्रीको जिम्मेवारी त्यागेकी हुन्। स्रोतका अनुसार श्रेष्ठले आफू संसदको काममा केन्द्रित हुन चाहेकाले पार्टीको कार्यकारी जिम्मेवारी सम्हाल्न सम्भव नभएको स्पष्ट पारेकी छन्।
उनले राजीनामा पार्टी अध्यक्ष रवि लामिछाने पार्टीमा पुनः फर्किएको दिन नै बुझाएको जनाइएको छ। तर, यस विषयमा श्रेष्ठले सार्वजनिक रूपमा कुनै धारणा व्यक्त गरेकी छैनन्। उनले आफ्ना विचार पार्टीको केन्द्रीय समिति बैठकमै राख्ने बताइएको छ।
रास्वपाको केन्द्रीय समिति बैठक आज बिहीबार दिउँसो चःमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। सहकारी प्रकरणमा अध्यक्ष लामिछानेको नाम जोडिएपछि पार्टीभित्रको आन्तरिक विवाद थप चर्किएको अवस्थामा श्रेष्ठको राजीनामा आएको हो।