समाचार सुन्नुहोस :
काठमाडौँ – पाकिस्तानको पञ्जाब प्रान्तको वेहारी जिल्लामा मंगलबार वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटना भएको छ। मिराज भी रोज नामक उक्त विमान लाहोरबाट ३५० किलोमिटर दक्षिणपश्चिमतर्फ रहेको रत्ता टिब्बाको खेतमा खसेको हो। प्रारम्भिक जानकारीअनुसार विमानमा प्राविधिक खराबी आएपछि ठूलो विस्फोटसहित दुर्घटना भएको हो।
विमानले वेहारी नजिकैको थिंगी एयरपोर्टबाट नियमित प्रशिक्षण उडान भरेको थियो। केही समयमै समस्या देखिएपछि विमान खेतमा खस्नु अगाडि एक तेल डिपो नजिकै विस्फोट भएको जनाइएको छ। स्थानीय बासिन्दाले ठूलो आवाज र त्यसपछि बाक्लो धुवाँ देखिएको बताएका छन्।
सौभाग्यवश, विमानमा सवार दुवै पाइलट समयमै बाहिर निस्कन सफल भएका थिए र उनीहरूलाई नजिकैको सैनिक अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा सेना, प्रहरी, उद्धार टोली ११२२ लगायतका निकाय तुरुन्तै पुगेका थिए।
मिराज भी रोज विमान फ्रान्समा विकसित मिराज ५ को परिमार्जित संस्करण हो, जुन सन् १९७० को दशकदेखि पाकिस्तान वायुसेनामा प्रयोग हुँदै आएको छ। यसमा रोज (Retrofit of Strike Element) कार्यक्रम अन्तर्गत एभियोनिक्स र राडार प्रणालीमा सुधार गरिएको छ।